२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

व्यावहारिक सीप सिक्दै विद्यार्थी

इन्टरनेसनल स्कुल अवार्ड ९आईएसए० कार्यक्रमअन्तर्गत प्रोजेक्ट सञ्चालन गरी व्यावहारिक ज्ञान हासिल गर्दै विद्यार्थी। तस्बिर : नागरिक

चितवन - आयुषा अधिकारी, प्रदिप्ती कँडेल, अनुषा अधिकारी, सन्तोष भट्टराई एउटै उमेरका बालबालिका हुन्। १४ वर्ष उमेरका उनीहरू एउटै कक्षामा पढ्छन्। एउटै उमेर, एउटै कक्षा सँगै उनीहरूको सिकाइ पनि उस्तै छ। उनीहरू कक्षाको पाठ्यक्रममा मात्र सीमित नभई आफूलाई आवश्यक परेको विषयवस्तु अनलाइनमा खोजेर अध्ययन गर्छन्। अनलाइनमै खोजेर गणेशमान सिंहबारे जीवनीसमेत तयार गरे। राष्ट्रनायक सिंहसँगै अफगानिस्तानका राष्ट्रनायक मोहम्मद नजिद उल्लाहको समेत जीवनी तयार पारेको उनीहरू बताउँछन्।

पाठ्यक्रममा मात्र आधारित रही गरिने पढाइभन्दा फरक अनुभव भएको अनुषा बताउँछिन्। यसले पढाइलाई व्यावहारिक रूपमा अघि बढाउन सहयोग गरेको उनको भनाइ छ। कक्षा ८ मा अध्ययन गर्दा उनीहरूले च्याउ खेतीसम्बन्धी सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारे। स्कुलमै च्याउ फलाए। सन्तोष र आयुषाले त घरमा पनि अभिभावकसँग मिलेर च्याउ खेती गरे। उत्पादित च्याउ घरमा उपभोग गरेर आफन्तकोमा समेत उपहारका रूपमा पठाए। उनीहरूले सिकेको सो सीप अफगानिस्तानको ‘काका सायद अहमद हाइस्कुल’का विद्यार्थीसँग फोटो र भिडियोमार्फत साटे।

कक्षा ८ मा अध्ययन गर्दा उनीहरूले च्याउ खेतीसम्बन्धी सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारे। स्कुलमै च्याउ फलाए। सन्तोष र आयुषाले त घरमा पनि अभिभावकसँग मिलेर च्याउ खेती गरे।

अहिले उनीहरू चकलेट, चाउचाउलगायत जंक फुडका खोल र प्लास्टिकको बोतलबाट नमुना चौतारो बनाउन जुटेका छन्। खेर फालिने प्लास्टिकबाट म्याट्रेस र सजावटका सामग्रीसमेत तयार पारेको प्रदिप्ती बताउँछिन्। उनीहरूले कक्षा ७ मा हुँदा ‘बन्छ चित्र ढुंगामा’ को अभ्यास गरेका थिए। मूर्तिकलाबारे सामान्य जानकारी अध्ययन गर्नुका साथै मूर्तिकारलाई भेटी छलफलसमेत गरेको उनीहरूकै अर्की सहपाठी सहारा सापकोटा बताउँछिन्। मूर्ति बनाउन प्रयोग गरिने सामग्रीसँगै मूर्ति बनाउने कलाबारे ज्ञान पाएको उनले बताइन्। अध्ययन र अवलोकनपछि आफैंले पनि मूर्ति बनाउने प्रयास गरेको अर्की सहपाठी अस्मिता गौतम बताउँछिन्। ‘धैरै फरक अनुभव भयो र रमाइलो पनि,’ उनले भनिन्, ‘अहिले हरेक ठाउँमा मूर्तिहरू देख्दा के विषयमा बनाइएको रहेछ भनेर ध्यान दिने गरेकी छु।’

‘प्रोफिट लस इन माई स्कुल’ प्रोजेक्टअन्तर्गत कसरी नाफा र घाटा हुन्छ तथा व्यवसायीले कसरी नाफा कमाउँछन् भनेर व्यवसायीसँगै अन्तक्र्रिया गरेको कक्षा ७ की विद्यार्थी रितिस्मा श्रेष्ठ बताउँछिन्। यसअघि अभिभावकले सामान किनेर ल्याइदिने गरेकोमा अहिले आफैं पनि पसल जाने गरेको उनले बताइन्। यसरी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पाठ्यपुस्तकभित्रको ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक शिक्षासमेत विद्यालयले दिएको छ।

नवलपुरको गैंडाकोटस्थित विजय सामुदायिक शिक्षा सदनले विद्यार्थीलाई गहिरो अध्ययन गराउन तथा व्यवहारिक सीपको विकास गर्ने उद्देश्यले विभिन्न ९ वटा प्रोजेक्ट सञ्चालनमा ल्याएको छ। विजय सामुदायिक शिक्षा सहकारी संस्थाले सञ्चालन गरेको विद्यालय ब्रिटिस काउन्सिलले सञ्चालन गर्ने इन्टरनेसनल स्कुल अवार्ड ९आइएसए० मा छनोट भएपछि यी प्रोजेक्ट सञ्चालनमा ल्याइएका हुन्। जसअन्तर्गत विद्यालय बायोग्राफी अफ नेसनल हिरो, कार्भ इमेज अन रक्स, जोय अफ जात्रा, फाइटिङ ग्लोबल वार्मिङ, डिक्स अफ पोइट्री कुमाल कल्चरलगायत प्रोजेक्ट सञ्चालन गरिएको विद्यालयकी सह–प्रधानाध्यापक एवं आइएसएकी संयोजक रेखा श्रेष्ठले जानकारी दिइन्।

अवार्ड कार्यक्रममा छनोट भएपछि कार्ययोजना तयार गरी ब्रिटिस काउन्सिलबाट स्वीकृत गराई प्रोजेक्ट सञ्चालन गरिएको उनले बताइन्। ५ कक्षासम्मका कक्षामध्ये एउटा कक्षामा २० प्रतिशत स्थानीय पाठ्यक्रम समावेश गर्नुपर्ने प्रावधानअनुसार कक्षा ५ को पाठ्यक्रममा कुमाल संस्कृतिलाई समावेश गरिएको उनी बताउँछिन्। एक वर्षको अवधिका लागि सञ्चालन गरिएको यो कार्यक्रमलाई स्कुलले आगामी दिनमा समेत निरन्तरता दिने प्राचार्य रामचन्द्र न्यौपानेले बताए। उनका अनुसार हरेक प्रोजेक्ट सञ्चालन गर्न दुईजना शिक्षकलाई जिम्मेवारी दिइएको छ।

विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी सहभागी गराइएको प्राचार्य न्यौपानेले बताए। प्रोजेक्टको दौरानमा अनलाइनमार्फत अफगानिस्तान, पाकिस्तानका विद्यालयका विद्यार्थीसँग समेत छलफल समेत गरेका थिए। ‘शिक्षक, विद्यार्थी दुवैलाई फरक किसिमको सिकाइ भयो,’ उनले भने, ‘किताबी ज्ञानमा मात्र सीमित नभई व्यावहारिक रूपमै अनलाइनमार्फत गहिरो अध्ययन गर्ने सिकाइ भएका छन्।’ विद्यार्थीले आफैं खोज्ने, अध्ययन गर्ने, हेर्ने, सामान्य अनुसन्धानसमेत गर्ने गरी व्यावहारिक ज्ञान हासिल गरेको उनले बताए।

यस कार्यक्रममा सहभागी भई रिपोर्ट बुझाएपछि ब्रिटिस काउन्सिलले अनुगमन गरी फुल, इन्टरमिडिएट र फाउन्डेसन गरी तीन फरक विधाको अवार्ड प्रदान गर्ने विद्यालयकी सहायक प्रधानाध्यापक श्रेष्ठ बताउँछिन्। यसले विद्यालयलाई अन्तराष्ट्रिय स्तरमा स्तरीकरण गर्ने उनको भनाइ छ। एक पटक अवार्ड कार्यक्रममा सहभागी भएर विद्यालयले प्राप्त गरेको अवार्ड तीन वर्षका लागि मान्य हुने उनले बताइन्।

प्रकाशित: २६ वैशाख २०७६ ०२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App