२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आर्थिक अभावमा उपचार नहुँदा आठ बर्षदेखि ओछ्यानमै

डोल्पा– बाह्रै महिना जस्तापाताको विस्तरा। एउटा होचो सिरानीको टेको। पातलो कम्बल। गुफामा गुम्सिएर निसासिँदो अनुहार देखाएझै सेतो प्लाष्टिकको पालभित्र जीवनको गुहार माग्नु उनको दैनिकी बनेको छ।

जीवनले ४९ वर्षमा पाइला टेक्दा हरिमान रोकाया गाउँमा आउने र उनलाई भेट्न जाने जो कोहीलाई मृत्युबरणको लागि सहजै बिष खुवाएर मारिदिन याचना गर्छन।

त्रिपुरासुन्दरी नगरपालिका ७ छल गाउँका हरिमान यत्तिखेर जीवनमरणको दोसाँधमा मृत्युसँग लडिरहेका छन। डोल्पा आफैमा हिमाली र विकटताको जिल्ला हो। आठ बर्षदेखि जस्तापाताको ओछ्यानमै थला परेका रोकायको विबशतालाई सुख्खा हावा र बिहान बेलुका आच्छु आच्छु पार्ने जाडोले छुन सकेको छैन।

शरिरलाई चलायमान राख्ने मेरुदण्ड (ढाड)नै भाँचिएपछि आर्थिक अभावमा उपचार हुन नसक्दा उनी ओछ्यानमै थला परेका छन। ०६८ साल बैशाख १ गते नयाँ वर्षको दिन गाउँघरमा शुभकामना साटासाट गरेर घरको छत छेउमा आरामको लागि सुतिरहेको बेला खसेर उनको मेरुदण्ड भाँचिएदेखि उनी थला परे। घरको एक तला अग्लो छतबाट खस्दा ढाँड भाचिँएको थियो।

नेपालगन्जलगायतका सुविधा सम्पन्न ठुला अस्पतालमा बाहेक जिल्लामा उपचार सम्भव नहुने सुझाएपछि  आफन्तहरुको सहयोगमा हरिमानलाई नेपालगञ्ज लगियो। नेपालगञ्जमा पनि उपचार सम्भब नभएपछि काठमाडौं शिक्षण अस्पताल लगियो। तीन दिनसम्म शिक्षण अस्पताल बस्दा चिकित्सकले उपचार नहुने बताउँदै जोरपाटीमा रहेको अस्पतालमा लैजान सुझाए।

जोरपाटीस्थित अस्पतालमा १४ दिनको उपचारपछि चिकित्सकले दुइवटा रड राखेपछि असह्य पीडाका कारण दश दिनसम्म खाना नखाएको मान्छे खान सक्ने भए उनी। तर सुधार भएन। उनलाई थप उपचारका लागि भैसेपाटीमा रहेको एक अस्पतालमा पठाइयो। भैसेपाटीमा तीन महिना उपचार गराएपछि पनि राम्रोसँग उपचार हुन सकेन्।

दाजुभाइ र गाउँलेले सापटी दिएको ७ लाख रुपैयाँ सकियो तर उपचार पुर्ण भएन। काठमाडौंको महँगी र कमजोर आर्थिक अवस्थाले सामान्य उपचार भयो।
चिकित्सकले पुर्ण उपचारको लागि १० देखि २० लाखसम्म खर्च लाग्ने बताएपछि खर्च अभावमा पुर्ण उपचार नभई घर फिर्ता हुनु परेको हरिमानले बताए।

आठ बर्ष पहिला परिवार मात्रै नभइ बिपन्न, असहाय छिमेकीको सहारा बनेका उनी अहिले अर्काको सहारामा जीवनमरणको दोसाँधमा मृत्युसँग लडिरहेका छन। आठ बर्षदेखि जस्तापाताको विस्तारा र कम्बलको सहारामा पालमुनि चेप्टो परेर जीवनको अन्तिम सास फेरिरहेका छन् उनी।

“पहिला बनाएको घर भएपनि ढाड भाँचिएपछि आठ बर्षदेखि घाम, पानी, हिँउ छेक्नको लागि पालको छाप्रोमा चेप्टो पल्टेर मृत्यु कुरीरहेको छुँ” हरिमानले आँशु झार्दै नागरिक न्युजलाई भने। उनको बिछाउनाको तलपट्टी जस्तापाता बिछ्याइएको छ। त्यसमाथि ओछ्यान राखिएको छ। जस्तालाई प्वाल पारेर पिसाब छिर्ने बनाइएको छ। दिशा गर्न मन लाग्यो भने अरुलाई बोलाएर भाँडोमा थापेर फाल्नुपर्छ।

न आफै खान सक्छन न दिशा पिसावका लागि शौचालय नै जान सक्छन्। श्रीमती र छोरीहरुले नै उनको स्याहार गर्दै आएका छन। उनका तीन छोरी र एक आठ बर्षिया छोरा छन्।

“जहाँ छु दिशा पिसाब त्यहिँ हुन्छ, छोरीहरुले उठाएर फाल्छन यस्तो अबस्था देख्दा परिवारले बिष खुवाएर किन मार्दैनन् होला जस्तो लाग्छ” हरिमानले भने ।
आफुलाई असह्य पीडा त छँदैछ मेरै कारणले परिवारलाई झन दुःख भएको छ मर्न पाएको भए सुख हुन्थ्यो उनले रुँदै भने। आर्थिक अभावका कारण लाखौं पैसा तिर्न नसक्ने भएकाले उपचार नगरेर घरमा ल्याउनु परेकोे उनका भाइ बिष्णुमानले बताए।

मिसन नेपालको अभियान
मिसन नेपाल नामक सामाजिक संस्थाले संचारकर्मीसहितको टोली रोकाया परिवारको घरमै गएर उपचारको लागि अभियान चलाएको छ। देश बिदेशमा रहेको सहयोगी दाताहरुबाट आर्थिक संकलन गरेर उपचार गर्ने लक्ष्य अनुरुप आर्थिक संकलन अभियान सुरु गरिएको संस्थाका अध्यक्ष ओमेन्द्र केसीले जानकारी दिए। संस्थाको तर्फबाट सिटिजन्स बैङ्कमा सहयोग खाता खोलेर २५ हजार जम्मा गरिएको केसीले बताए। बिरामी हरिमानको नाममा जिल्ला सदरमुकाम दुनैमा रहेको सिटिजन्स बैंकमा ०४२०१००००००४६३०१ नम्बरको सामाजिक सुधार कोष नामक खाता खोलिएको छ।

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App