२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अपर नौगाडले एक महिनाभित्र बिजुली उत्पादन गर्ने

दार्चुला - दार्चुलाको नौगाड गाउँपालिकामा निर्माणाधीन अपर नौगाड साना जलविद्युत आयोजनाले एक महिनाभित्र विद्युत  उत्पादन गर्ने भएको छ। आठ मेघावाट क्षमताको अपर नौगाडमा चैतभित्रै विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएकामा साउन महिनाको बाढी र प्राविधिक कारणले एक महिना ढिलो हुने भएको हो।अबको एक महिनाभित्रै उत्पादन सुरु हुने आयोजनाका इन्चार्ज मधुसुदन कोइरालाले बताए।‘अहिले पावरहाउसमा मेसिन जडानको काम भइरहेको छ, एक महिनाभित्रै एउटा युनिटबाट विद्युत् उत्पादन सुरु हुन्छ,’ उनले भने, ‘पावरहाउसमा चार–चार मेघावाट क्षमताका दुइटा युनिट राखिने छन्। पहिलो युनिटबाट एक महिनाभित्र विद्युत् उत्पादन सुरु हुने र अर्को युनिटबाट विद्युत् उत्पादन सुरु गर्न थप एक महिना लाग्ने आयोजना इन्चार्ज कोइरालाको भनाई छ।

भारतबाट पावरहाउसको सामान आउन समय लाग्ने भएकाले दुवै युनिट जडान गरी विद्युत् उत्पादन सुरु गर्न दुई महिना लाग्ने कोइरालाले बताए। २०७५ साउनको बाढीले निर्माणाधीन आयोजनाका ठूलो भौतिक क्षति भएकाले चैतभित्रै निर्माण सम्पन्न हुन नसकेको उनको भनाइ छ। साउनमा आएको बाढीले मात्रै आयोजनामा १० करोडको क्षति भएको आयोजनाको दाबी छ। अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको अपर नौगाड साना जलविद्युत् आयोजनामा हाल ९० प्रतिशत भौतिक प्रगति पूरा भएको छ। ‘पेनस्टकको अधिकांश काम पूरा भएको छ, पावरहाउसभित्र मेसिन जडान र सर्ज ट्यांक निर्माण भइरहेको छ,’ अपर नौगाड जलविद्युत् आयोजना इन्चार्ज कोइरालाले भने।

नौगाड गाउँपालिकाको वडा नम्बर ६ धुलिगडाको कुनेबगडदेखि फलामे पाइपमा पानी लगेर सुकेखोलाको पावरहाउसमा खसालिनेछ। पाइपलाइन (पेनस्टक)को लम्बाइ पाँच किलोमिटर छ। २०७३ असोजदेखि निर्माण सुरु भएको अपर नौगाड जलविद्युत् आयोजनाको लागत एक अर्ब ४४ करोड रहेको छ। अपर नौगाडमा उत्पादन भएको बिजुली शैल्यशिखर नगरपालिकाको वडा नम्बर–१ शिखर बलाँचस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारणमा जोडिनेछ। यसका लागि नौ किमि लामो ३३ केभिए प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
अपि पावर कम्पनी लिमिटेडले यसअघि शैल्यशिखर नगरपालिकाको वडा नम्बर २ मा साढे आठ मेघावाट क्षमताको नौगाड प्रथम जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ। २०७२ भदौ २ देखि व्यावसायिक उत्पादन थालिएको नौगाड प्रथम जलविद्युत् आयोजना छोटो समयमै निर्माण सम्पन्न गरेको देशभरीकै नमुना योजना रहेको कोइरालाको दाबी छ। नौगाड प्रथम जलविद्युत् आयोजनामा १८ महिनामै निर्माण सम्पन्न गरिएको अपि पावर कम्पनीले जनाएको छ। कम्पनीले दार्चुलाको मार्मा गाउँपालिका क्षेत्रमा ४० मेघावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजना निर्माणको तयारी पनि गरेको छ।

 

 

प्रकाशित: २७ चैत्र २०७५ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App