२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बहुमूल्य धातु उत्खननमा लगानी गर्नुस्: अर्थमन्त्री

नेपाल सुनचाँदी व्यवसायी महासंघको साधारणसभामा सहभागी अतिथि। तस्बिर: नागरिक

रुपन्देही– अर्थमन्त्री युवराज खतिवडाले बहुमूल्य धातुजन्य खानी उत्खननमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्। उनले हालै सम्पन्न लगानी सम्मेलनमा नेपालका खानी उत्खननमा लगानी गर्न विदेशीले इच्छा व्यक्त गरेकाले महत्वपूर्ण धातु उत्खननमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे। 

नेपाल सुनचाँदी व्यवसायी महासंघको छैठौं वार्षिक साधारणसभालाई सोमबार मणिग्राममा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकार विदेशीलाई खानी उत्खननमा लगानी दिन इच्छुक नरहेको स्पष्ट पारे। ‘बहुमल्य धातुको व्यवसायमा विदेशी आउन खोजेका छन् तर हामी नेपालीलाई दिनुपर्छ भन्नेमा छौं,’ उनले भने, ‘नेपालीले मात्रै नसके संयुक्त लगानीमा छलफल गर्न सक्छौं।’ 

व्यवसायीलाई सुनका तयारी गहना निर्यात गर्न ध्यानाकर्षण गराउँदै मन्त्री खतिवडाले भने, ‘नेपालमा सुनको आयात बढाएर गहना मात्रै बनाउने होइन खानी खोजेर लगानी गर्नुस्।’ उनले नेपालमा व्यवसायीले सुनको दैनिक आयात कम भएको गुनासो गर्दै आएकाले यसबारे सरकारले पुनर्विचार गर्ने बताए। सुन आयात र निर्यातका लागि सुन बैंक स्थापना गर्नुपर्नेमा उनले जोड दिए। 

उनले सुनसहित खाद्य र अन्य नापतौलको गुणस्तर मापनका लागि प्रत्येक प्रदेशमा मापन मेसिन राख्नेबारे आगामी बजेटमा व्यवस्था गरिने प्रतिबद्धता पनि जनाए। सरकार र निजी क्षेत्रले संयुक्त रुपमा तालिम सञ्चालन गरेर युवा पुस्तालाई जनशक्तिका रुपमा अगाडि ल्याउनुपर्ने बताए। उनले नयाँ पुस्तालाई ल्याउनका लागि सरकार बजेट व्यवस्थापन गरेर जान तयार रहेको बताए।

अर्थमन्त्री खतिवडाले सुनचाँदी व्यवसायीलाई लगानी सम्मेलनमा रहेका योजनामा सहकार्य गरेर आफ्नो व्यवसाय माथि उकास्नतर्फ लाग्न आग्रह गरे। औद्योगिक प्रशासनमा अन्यौलता रहेको बताउँदै उनले औद्योगिक व्यवसाय ऐन संशोधन गर्न खोजे पनि नभएकाले समस्या देखिएको बताए। उनले अब आउने संघीय संसदमा औद्योगिक व्यवसाय ऐन संशोधन गरेर औद्योगिक क्षेत्रमा देखिएका समस्या हल गरिने बताए।

उनले सरकार निजी क्षेत्रको प्रवद्र्धन गर्न आवश्यक कानुन निर्माण गरेर सहज वातावरण बनाउनु पर्नेमा उनले जोड दिए। व्यवसाय दर्ता, नवीकरण र कुन उद्योग कसले हेर्ने भन्ने अन्यौल रहेकाले अब केही महिनाभित्रै १० ठाउँ धाउनुपर्ने अवस्था अन्त्य हुने बता । ठूला व्यवसायाई लगानी बोर्डमार्फत एकद्वार प्रणाली लागू गर्न लागिएको अर्थमन्त्री खतिवडाको भनाइ छ।

कार्यक्रममा पूर्वमन्त्री एवं संघीय सांसद छविलाल विश्वकर्माले सुनचाँदी नेपालको मौलिक पेसा र सीप भएकाले यसको प्रवद्र्धनमा लाग्नुपर्नेमा जोड दिए। उनले नेपालमा आर्थिक प्रगतिका लागि यस्ता सीपमूलक उद्योगको प्रवद्र्धन गर्न अग्रसर हुनुपर्ने बताए। 

प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले उद्योगी व्यवसायीले व्यवहारिक रुपमा सकस भोगेकाले यसको नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने बताए। कार्यक्रममा सहभागी व्यवसायीले सुनचाँदीको माग बढी भए पनि कमी भएकाले वृद्धि गर्न माग गरेका थिए। सरकारले सुन आयात र निर्यातमा नीतिगत रुपमा सुधार गर्नुपर्ने भएकाले त्यसलाई तुरुन्त सच्याउनसमेत आग्रह गरे। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले सुनको माग ३० देखि ३५ किलो दैनिक रहेकाले यसलाई वृद्धि गर्न माग गरे। वार्षिक ५० अर्बको कारोबार हुने सुनचाँदी व्यवसायमा स्पष्ट ऐन नहुँदा व्यवसायीले अनावश्यक झन्झट भोग्नुपरेको बताए। 

कार्यक्रममा संघीय सांसद हिराचन्द्र केसी, प्रदेश ५ का सांसद भोज प्रसाद श्रेष्ठ, जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्मा, नेपाल सुनचाँदी व्यवसायी महासंघका सल्लाहकार रणेन्द्र बराइली, तिर्थमान शाक्य, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनलगायतले बोल्दै सुनचाँदी व्यवसायलाई कानुनी रुपमा अपराधी बनाउने काम भएकाले त्यसलाई राज्यले सुधार गर्नुपर्ने बताए। सो अवसरमा दुई पत्रकारलाई सम्मान गरिएको छ।

रुपन्देही सुनचाँदी व्यवसायी संघको आतिथ्यतामा मणिग्राममा सुरु भएको केन्द्रीय साधारणसभाको बन्दसत्र मंगलबार हुने छ। साधारणसभामा देशैभरका तीन सय ५० प्रतिनिधि र एक सय ५० पर्यवेक्षक सहभागी भएका छन्। मंगलबार घोषणापत्र जारी गर्दै सकिने रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एमबी विश्कर्माले जानकारी दिए। 

प्रकाशित: १९ चैत्र २०७५ ०६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App