१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

‘तपाईंहरू लगानी गर्न आउनुस्, सुरक्षाको जिम्मा हाम्रो’

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले नेपाल लगानीका लागि सुरक्षित क्षेत्र बनेको बताएका छन्। आज शुक्रबारदेखि सुरु तेस्रो लगानी सम्मेलनमा उनले विकास साझेदारसहित विदेशी लगानीकर्तालाई लगानीअनुसार नाफा सहजै लैजान सक्ने बताएका हुन्। 

‘नेपालमा राजनीतिक स्थिरतामात्र होइन, लगानी गर्ने वातावरण पनि बनेको छ,’ उनले भने, ‘लगानीको लागि आवश्यक कानुनी आधारसमेत तयार भएको छ।’ नेपाल समृद्धितिर अघि बढ्दै छ,’ उनले थपे, ‘अब नेपाल र नेपालीको लामो समयदेखिको सामाजिक र आर्थिक रुपान्तरणको सपना पूरा हुँदै छ।’ हामी तपाईहरूसँग हातेमालो गर्न तयार छौं।’
नेपाल लामो समयको राजनीतिक संक्रमणलाई पार गर्दै स्थायित्वमा आएको उनले बताए। सोल्टी क्राउन प्लाजामा आयोजित सम्मेलनमा उनले भने, ‘मेरो सरकारको नीति नै समृद्ध नेपाल सुखी नेपाली हो, यसका लागि पर्याप्त पुँजी आवश्यक छ,’ उनले अगाडि भने, ‘हाम्रो आन्तरिक स्रोतले सपना पूरा हुँदैन।’

लगानीकर्ताको लागि नेपाल भर्जिन क्षेत्र भएको बताउँदै प्रधानमन्त्रीले भने, ‘तपाईहरूले चाहेको क्षेत्रमा लगानी गर्न सक्नुहुन्छ। लगानीबाट भएको नाफाको सम्मान गर्दै प्राप्त लाभांश फिर्ता लैजान सहजीकरणसमेत गर्नेछौं।’

सरकारले राखेको दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न स्वदेशी लगानी पर्याप्त नभएको उनले बताए। लगानीकर्ताको लागि नेपाल भर्जिन क्षेत्र भएको बताउँदै उनले भने, ‘तपाईहरूले चाहेको क्षेत्रमा लगानी गर्न सक्नुहुन्छ। लगानीबाट भएको नाफाको सम्मान गर्दै प्राप्त लाभांश फिर्ता लैजान सहजीकरणसमेत गर्नेछौं।’ कर कानुनलाई समयसापेक्ष बनाउँदै लगानी भित्र्याउने प्रक्रियालाई सहज बनाउने, उद्योगमा बिजुलीको आपूर्तिलाई प्रत्याभूत गर्ने, औद्योगिक पूर्वाधार, र सूचना प्रविधिमा आधारित भएर सम्मानजनक हिसाबले काम गर्ने सक्ने वातावरण तयार भएको ओलीले बताए। 

जलविद्युत्मा उच्च सम्भावना छ, पूर्वाधार निर्माण हाम्रो प्राथमिकताप्राप्त क्षेत्र हो। नेपालमा सबै लगानीका क्षेत्र (पर्यटन, पूर्वाधार, सूचना प्रविधि, कृषि, उद्योग, खानी) उत्तिकै महत्वपूर्ण र प्रशस्त सम्भावना छन्।’ हामी तपाईहरूसँग साझेदारी गर्न तत्पर छौं।’ द्विविधामा बस्नु पर्दैन, ढुक्कसँग लगानी गर्न सक्नुहुन्छ। लगानी सहजीकरणका लागि सरकारले ‘एकद्वार केन्द्र’ सञ्चालनको तयारी गरिरहेको समेत उनले बताए। 

प्रधानमन्त्री ओलीले पछिल्लो समय नेपालीको क्रयशक्ति बढ्दै भएको जानकारी गराउँदै भने, ‘बजारको चिन्ता गर्नु पर्दैन, हाम्रा उत्पादन सहजै लैजान सकिन्छ। सरकारले व्यापार सहजीकरणका लागि विभिन्न काम गरिरहेको छ। पारहवन प्रोटोकललाई हामीले प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाएका छौं। विदेशी लगानीकर्तालाई आकर्षण गर्न सरकारले विभिन्न देशसँग दोहोरो करमुक्त सम्झौता गरेको बताए। बौद्धिक सम्पत्तिको संरक्षणलाई पनि ध्यान राखेर ऐन ल्याउने गृहकार्य भइरहेको उनले जानकारी दिए। 

उच्च प्रतिफल लैजान सकिन्छः अर्थमन्त्री डा.खतिवडा

लगानी सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा प्रक्रियागत तथा संस्थागत सुधारका साथै अन्य संरचनासमेत नयाँ तयार बनाइएकाले लगानीयोग्य राष्ट्र बनेको बताए। ‘स्वेच्छिक करको व्यवस्था भएकोले करको समस्या छैन, लगानीकर्ताको हितलाई ध्यानमा राखेर नयाँ कानुन ल्याइएको छ,’ उनले भने, ‘सम्भावित क्षेत्रमा लगानी गरी उच्च प्रतिफल हासिल गर्न सकिन्छ।’ लगानीकर्ताले लगानी गर्न चाहेको क्षेत्र उपलब्ध गराउने प्रतिबद्धतासमेत उनले गरे। 

गरिबी निवारणमा नेपाल अग्रस्थानमाः पूर्वअर्थमन्त्री डा.महत

सम्मेलनलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री डा. रामशरण महतले प्रजातन्त्र पुनः स्थापनापछि नेपालमा निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गरिएको बताए। त्यतिवेला अपनाइएको आर्थिक उदारीकरणले नै निजी क्षेत्रले चौतर्फी रुपमा सफलता हासिल गरेको बताए। विभिन्न समस्या झेल्दै नेपाल अहिलेको अवस्थामा आइपुगेको हो,’ उनले भने, ‘आर्थिक र सामाजिक विकासमा नेपालले ठूलै फड्को मारेको छ।’

गरीबी निवारणमा दक्षिण एसियामै नेपालले नेतृत्व गर्दै अग्रस्थानमा रहेको तथ्य पेस गरे। वैदेशिक रोजगारीले नेपालको गरिबी निवारण गर्न सहयोग मिलेको उनले बताए।

थप लागनी गर्न तयार : एडीबी

सम्मेलनमा एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेनले बैंकले विभिन्न क्षेत्रमा लगानी गरेको बताए। विशेषतः नीतिगत रुपमा सहयोग गर्दै आएको एसियाली विकास बैंक(एडीबी)ले नेपालको खानेपानी, ऊर्जा, सहरी पूर्वाधार, शिक्षा, कृषिलगायत क्षेत्रमा लगानी गर्दै आएको छ। बैंकले मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा लगानी गरेको बताउँदै थप लगानीका लागि रणनीति तयार पारेको समेत उनले जानकारी दिए।

समृद्धि प्राप्त हुने परियोजनामा लगानी गर्न विश्वबैंक तयार

विश्व बैंकका उपाध्यक्ष हार्टविग स्याफरले नेपाल सरकारले अघि बढाएको ‘सुखी नेपाली, समृद्ध नेपाल’को संकल्पलाई पूरा गर्ने परियोजनामा बैंक लगानी गर्न तयार रहेको बताए। पछिल्लो समय कानुनी आधारमा सुधारका कारण थप लगानीयोग्य वातावरण बनेको उनको जानकारी दिए। 

लगानी गर्ने वातावरण बनेको छ : सुरज वैद्य

सम्मेलनमा सार्क चेम्बर अफ कमर्सका अध्यक्ष तथा भ्रमण वर्ष सन् २०२० का संयोजक सुरज वैद्यले नेपाल आर्थिक रुपले सम्पन्न बन्दै गएको दुई राष्ट्रबीच रहेको बताउँदै नेपाल लगानीको लागि उपर्युक्त क्षेत्र बनेको बताए। नेपालमा लगानीका लागि सकारात्मक बनेको छ,’ उनले भने, ‘बहुराष्ट्रिय कम्पनी एनसेल, युनिलिभर, डाबरले नेपालबाट प्रशस्त नाफा आर्जन गरेका छन्।’ नेपाल अल्पकालीन लगानीको क्षेत्रमात्र नभई दीर्घकालीन लगानी गर्नसमेत उपर्युक्त गन्तव्य भएको उनले बताए। सम्भावना देखेर नै विश्व बैंकले नेपालमा ५० वर्षदेखि लगानी गर्दै आएको र अहिले पनि धेरै परियोजनामा लगानीले गर्ने इच्छा जाहेर गरेको उनले बताए। 

आर्थिक वृद्धिमा सुधार गर्दै : म्यान्मार

सम्मेलनमा म्यान्मारका लगानी तथा विदेश आर्थिकसम्बन्धीमन्त्रीयू थाउङ तङले नेपालले बहुपक्षीय क्षेत्रमा क्रमशः सुधार गर्दै लगेको बताए। नेपाल स्रोत र साधनले धनी रहेको बताउँदै उनले भने, ‘कृषिमा आधारित अर्थतन्त्रलाई आधुनिकीकरण अगाडि बढ्नुपर्छ। गरिबी निवारण, व्यापार अभिवृद्धि, वैदेशिक लगानीमा वृद्धि हुँदै आएको उल्लेख गरे। 
दक्षिण एसियामा पछिल्लो समयमा आर्थिक वृद्धिदर उल्लेख्य रूपमा बढ्दै गएको बताए। नेपालले पनि त्यसमा सफलता हासिल गरेको उनले जानकारी दिए। मुथुट समूहका अध्यक्ष एमजीजर्ज मुथुटले लामो समयपछि नेपालमा दिगो सरकार बनेका कारण लगानीयोग्य वातावरण बनेको उल्लेख गरे। 

सम्मेलनमा भौतिक पूर्वाधारसँग जोडिएका जनुसुकै परियोजना लगानी गर्न सकिने उनको भनाइ छ। नेपालले ५० वटा सरकारी र १७ वटा निजी गरी करिब विभिन्न क्षेत्रका ६ दर्जन परियोजना समावेश गरेको छ। सम्मेलनमा ६४ करोडदेखि ३ खर्ब ५० अर्बसम्मका परियोजना प्रस्तुत हुनेछन्। मुलुकको समृद्धिको प्रमुख आधारका रुपमा रहेको ऊर्जा र पूर्वाधार क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ। 

सम्मेलनलाई केन्द्रित गरेर सरकारले ‘सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’ पारित गर्नुका साथै ‘विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐन’समेत संशोधन गरेको छ।

 

प्रकाशित: १५ चैत्र २०७५ १२:३७ शुक्रबार

केपी_ओली लगानी_सम्मेलन समृद्धि परियोजना