२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कुहिने र नकुहिने फोहर घरमै छुट्याउनुपर्ने

काठमाडौं- घर, पसल, उद्योग र कलकारखानाबाट निस्कने फोहरमैला जथाभावी फ्यँाक्ने गर्नु भएको छ? कुहिने र नकुहिने फोहर एकै ठाउँमा थुपार्नु हुन्छ? यसो भए सोमबार (कात्तिक १ )देखि पनि यसै गरे कारबाहीमा परिने भएको छ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले असोज ७ मा कडाइपूर्वक लागू गर्न र अटेर गरे कारबाही समेत गर्न निर्देशन दिँदै महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई परिपत्र जारी गरिसकेको छ।

सफा, उज्यालो, हरियाली एवं सम्पन्न सहर निर्माणलाई उच्च प्राथमिकता दिएको भन्दै मन्त्रालयले वातावरणमैत्री स्थानीय शासनको प्रारुप, २०७० ले निर्दिष्ट गरे अनुरुप कात्तिक १ बाट घरघरमै अनिवार्य रुपमा कुहिने र नकुहिने फोहर छुट्याउनुपर्ने व्यवस्था लागू गरेको परिपत्रमा उल्लेख छ।

मन्त्रालयले सुरुमा कात्तिक १० सम्म राजनीतिक दल, सामाजिक परिचालक, टोल विकास संस्था, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र लगायतको सहयोगमा टोलटोलमा जनचेतना फैलाउने र त्यसपछि अटेर गरी कुहिने र नकुहिने फोहर नछुट्याइ उठाए फोहर संकलक र उत्पादक दुवैलाई फोहरमैला व्यवस्थापन ऐन २०६८ को परिच्छेद ९ अनुसार शून्य सहनशीलता नीति लिएर दण्ड जरिवाना गर्ने जनाएको छ। मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालका अनुसार अटेर गरी सहर र सडक कुरुप हुने गरी जथाभावी फोहरमैला राखे तथा कुहिने नकुहिने नछुट्याए मंसिर १ बाट ऐन अनुसार कारबाही गरिने छ। ऐनमा फोहरको प्रकार हेरेर ५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना र १५ दिनदेखि ३ महिनासम्म कैद सजाय हुनसक्ने उल्लेख छ। जरिवाना र कैद दुवै समेत हुनसक्ने व्यवस्था कानुनमा छ।

मन्त्रालयका अनुसार फोहर संकलकले कुहिने फोहर हिउँदमा साताको २ पल्ट र गर्मीमा ३ पल्ट अनिवार्य रुपमा संकलन गर्नुपर्ने जनाएको छ। संकलकले नकुहिने फोहर ठाउँ र फोहरको मात्रा अनुसार ७–१५ दिनभित्र संकलन गर्नु पर्ने व्यवस्था छ। कुहिने र नकुुहिने फोहर छुट्याएर उठाएपछि सोही अनुसार फोहरको उचित व्यवस्थापन गरिने छ।

काठमाडौं महानगरपालिकाले मन्त्रालयको परिपत्र कडाइपूर्वक लागू गर्ने जनाएको छ। …मन्त्रालयले परिपत्र जारी गर्नु अघि पनि हामीले कारबाही गरिरहेका थियौं,' महानगरपालिका वातावारण महाशाखा प्रमुख रविमान श्रेष्ठले भने, …मन्त्रालयको परिपत्रपछि भने कडाइ गर्न थालेका छौं।' उनका अनुसार महानगरपालिकाले दसैंमा समेत जथाभावी फोहरमैला फ्याँक्नेमाथि कारबाही गरेको छ। महानगरपालिकाले दसैंभर फोहर फ्याँक्ने १५ जनाबाट ७१ हजार रुपैयाँ जरिवानास्वरुप राजस्व समेत  संकलन गरेको जनाएको छ। जथाभावी फोहर फ्याँक्नेमा नाम चलेका मिठाइ पसलदेखि शिक्षित सहरिया व्यक्ति नै रहेको महानगरपालिकाले बतायो। महानगरपालिकाका अनुसार जथाभावी फ्याँकिएको फोहरमा भेटिएका कागजपत्र, फोन नम्बर र फोहरको प्रकार हेरेर कसले फ्याँकेको हो पत्ता लगाउने गरेको छ।

महानगरपालिकाले २०७० मा फोहरमैला व्यवस्थापन नियमावली बनेपछि जथाभावी फोहर फ्याँक्नेमाथि कारबाही गर्दै आएको थियो। २०७० यता महानगरपालिकाले कारबाहीस्वरुप करिब २५ लाख रुपैयाँ राजस्व समेत संकलन गरेको जनाएको छ।

महानगरपालिकाले टोल छिमेकमा फोहर नउठे र कसैले जथाभावी फोहर फ्याँके जानकारी दिन यसअघि नै क्लिन काठमाडौं एप्स समेत बनाएको छ। तस्बिर खिचेर एप्समा हालिदिन र टेलिफोन नम्बर ९८५१०२५३०५ मा जानकारी दिन अनुरोध समेत गरेको छ। जानकारी दिनेको विवरण गोप्य राखिने महानगरपालिकाले जनाएको छ।

प्रकाशित: १ कार्तिक २०७३ ०२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App