२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एसिया कप ह्विलचेयर नेपालमा

फाइल फाेटाे

काठमाडौं – विश्वमै पहिलो पटक हुन लागेको एसिया कप ह्विलचेयर क्रिकेट प्रतियोगिता नेपालमा सञ्चालन हुने भएको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा आयोजक ह्विलचेयर क्रिकेट संघ नेपालले बिहीबार पत्रकार सम्मेलन गरी अप्रिल अन्तिम साता प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको हो। त्रिभुवन विश्वविद्यालय कीर्तिपुर क्रिकेट मैदानमा उक्त प्रतियोगिता चार दिन सञ्चालन हुनेछ।

‘ग्राउन्डको समस्याले गर्दा मिति यकिन गर्न नसकिएको हो। हामीले गर्ने समयमा ग्राउन्ड बुक भइसकेको रहेछ,’ आयोजक ह्विलचेयर क्रिकेट संघ नेपालका अध्यक्ष छुल्टिम ग्याल्जिन शेर्पाले भने, ‘ग्राउन्ड बुक गर्ने पक्षसँग हामीले कुरा गरिरहेका छौं। उहाँहरूको सकारात्मक जबाफ पाएका छौं।’ एसिया कपमा नेपालसहित भारत, पाकिस्तान र बंगलादेश गरी ४ राष्ट्रले चुनौती प्रस्तुत गर्नेछन्। राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा जम्मा ७ खेल हुनेछ। त्यसमा शीर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्न छन्।

अध्यक्ष शेर्पाले ह्विलचेयर क्रिकेटको एसिया कप नेपालमा मात्र नभई विश्वमै पहिलो पटक हुन लागेको जानकारी गराए। संघकै आयोजनामा गत वर्ष कीर्तिपुर क्रिकेट मैदानमा नेपाल, भारत र बंगलादेश सम्मिलित ह्विलचेयरकै त्रिकोणात्मक शृंखला भएको थियो। उक्त शृंखलाको उपाधि नेपालले जितेको थियो।

पत्रकार सम्मेलनमा इन्टरनेसनल काउन्सिल फर ह्विलचेयर क्रिकेटका चेयरम्यान पाकिस्तानका मोहम्मद जिसान, उपाध्यक्ष भारतका हरुन रसिदलगायतको उपस्थिति थियो। जिसनकै अध्यक्षतामा बुधबार काउन्सिलको बैठक पनि बसेको थियो। बैठकले नै एसिया कप नेपालमा गर्ने निर्णय गर्नुका साथै काउन्सिलको सचिवालय नेपालमा राख्ने निर्णयसमेत गरेको अध्यक्ष शेर्पाले बताए।

प्रकाशित: ८ चैत्र २०७५ ०३:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App