२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

६ महिनामा १६ शिशुको मृत्यु

खोटाङ – जिल्लामा ६ महिनाको अवधिमा १६ नवजात शिशुको मृत्यु भएको छ। अगस्टदेखि मार्चसम्म जिल्लामा २८ दिनमुनिका १६ शिशुको मृत्यु भएको वनहर्ट वल्र्डवाइडले जनाएको छ। महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यचौकीमार्फत प्राप्त सूचनाका आधारमा नवजात शिशुको मृत्यु भएको यकिन गरिएको वनहर्ट वल्र्डवाइडका खोटाङ संयोजक सूर्य उप्रेतीले बताए।

वनहर्टले ६ महिनायता सञ्चालन गरेका क्रियाकलाप तथा सन् २०१९ सालमा सञ्चालन गरिने क्रियाकलापबारे जानकारी दिन आयोजना गरेको जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा नवजात शिशु मृत्युको यो तथ्यांक सार्वजनिक गरिएको हो। नवजात शिशुको मृत्यु भएको जानकारी आएपछि सम्बन्धित घरमा पुगेर सोधपुछसमेत गरिएको वनहर्टले जनाएको छ। मातृ तथा नवजात शिशुको जीवन रक्षाका लागि काम गर्दै आएको वनहर्टका अनुुसार ६ महिनाको अवधिमा बराहपोखरी र खार्ताम्छामा एक÷एक सुत्केरीको पनि मृत्यु भएको छ। अधिकांश नवजात शिशुको इन्फेक्सन र निमोनियका कारण मृत्यु भएको पाइएको संयोजक उप्रेतीले बताए।

बर्थिङ सेन्टर र गाउँघर क्लिनिकलाई उपकरण
वनहर्टले जिल्लाका १५ वटा बर्थिङ सेन्टर र १२ वटा गाउँघर क्लिनिकलाई आवश्यक उपकरण प्रदान गरेको छ। वनहर्टले मातृ तथा नवजात शिशुको जीवन रक्षाका लागि अगस्टदेखि मार्चसम्ममा बर्थिङ सेन्टर र गाउँघर क्लिनिकलाई विभिन्न उपकरण प्रदान गर्नुका साथै तीनवटा बर्थिङ सेन्टर मर्मतमा सघाएको जनाएको छ। वनहर्ट खोटाङका संयोजक उप्रेतीले ६ महिनाको अवधिमा खोटेहाङ गाउँपालिकालाई बोकेर हिँड्न मिल्ने एक थान पोर्टेबल ग्रामीण अल्ट्रासाउन्ड मेसिन प्रदान गरिएको बताए।

यस्तै, ६ स्वास्थ्यकर्मीलाई २ महिने दक्ष प्रसूतिकर्मीसम्बन्धी तालिम दिइएको, २ जनालाई ग्रामीण अल्ट्रासाउन्ड मेसिन सञ्चालनसम्बन्धी तालिम दिएको उनले बताए। स्वास्थ्य कार्यालय खोटाङसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा वनहर्टले सन् २०१९ भित्र सञ्चालन गरिने क्रियाकलापका बारेमा जानकारी गराएको छ। जनवरीदेखि डिसेम्बरसम्म मातृ तथा नवजात शिशु स्वास्थ्यसम्बन्धी जनचेतनामूलक क्रियाकलाप सञ्चालन गर्ने, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा विस्तार गर्ने, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा प्रदायकको क्षमता अभिवृद्धि तथा सुधारका काम गर्ने संयोजक उप्रेतीले बताए।

प्रकाशित: २ चैत्र २०७५ ०२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App