२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राउतसँगको सम्झौता खोरज गर्न माग गर्दै नेकपाको प्रदर्शन

सिके रावतसँग भएको सम्झौताको विरोधमा धनगढीमा मंगलबार भएको प्रदर्शन।    तस्बिर : नागरिक

धनगढी – सरकारले सिके रावतसँग गरेको ११ बुँदे सम्झौता खारेज गर्नुपर्ने माग राख्दै सत्ताधारी पार्टी नेकपाकै कार्यकता सडकमा उत्रेका छन्। सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा मंगलबार राष्ट्रिय झन्डासहित उनीहरूले सम्झौताको विरोधमा प्रदर्शन गरेका हुन्।

राष्ट्रघाती सिके रावतसँग भएको सम्झौता खारेज गर लेखेको व्यानर सहित धनगढीको क्याम्पस रोडबाट सुरु भएको र्याली एलएन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। आयोजक नेपाली सन्तान भनेर लेखिएको ब्यानरमा ज्यान दिन्छौं, देश टुक्रिन दिँदैनौ भनेर लेखिएको थियो। र्यालीमा युवासंघ नेपाल र अनेरास्ववियुका कार्यकर्ताको बढी सहभागिता थियो। प्रदर्शनमा कैलाली क्याम्पसमा अध्ययनरत नेविसंघका कार्यकर्ताको पनि सहभागिता थियो।

र्यालीमा ‘जनमत संग्रह गर्न पाइँदैन’, ‘देश टुक्राउन पाइँदैन’, ‘राष्ट्रघाती सम्झौता खारेज गर’लगायतका नारा लगाएका थिए। कोणसभामा बोल्दै युवा संघ नेपालका केन्द्रीय सदस्य प्रकाश रोकायले नेपालीलाई विभिन्न अपशब्द प्रयोग गरेर अपहेलित गर्ने र देश टुक्राउन खोज्ने सिके रावतसँग भएको सम्झौता राष्ट्रको हितविपरीत भएकाले विरोधमा देशभक्त युवा सडकमा उत्रेको बताए। ‘देश टुक्राउन मद्दत पुग्नेगरी राष्ट्रघाती सिके रावतसँग भएको सम्झौता तुरुन्त खारेज गर्न सरकारसँग माग गर्दछु,’ उनले भने। संविधानविपरीत जनमत संग्रह गर्ने भनेर देश टुक्राउने कुरालाई मान्यता दिनु सरकारको गल्ती भएको उनको भनाइ छ।

यसैगरी, अनेरास्ववियुका केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज भिष्मराज सुवेदीले भारतको चाहनाअनुसार मधेस टुक्राउन खोज्ने सिके रावतसँग भएको ११ बुदे सम्झौताविरुद्ध विद्यार्थी सडकमा उत्रेको बताए। जातीयताको नारा घुसाएर सुदूरपश्चिम टुक्रयाउने षड्यन्त्र आन्दोलन चर्काएर विफल पारेका विद्यार्थी देशलाई टुक्राउने चलखेलविरुद्ध सडकमा उत्रेको उनको भनाइ थियो। ‘देश टुक्रयाउने खोज्ने सिके रावतसँग भएको सम्झौता खारेज नभएमा हामी विद्यार्थी आन्दोलन चर्काएर लैजाने छौं,’ उनले भने।

मदेसलाई टुक्राउन भारतमा गाभ्ने भारतीय योजना अनुसार ‘र’को अजेन्डको रूपमा सिके रावतले काम गरिरहेकोमा उनीसँग राष्ट्रवादी भनिएको सरकारले सम्झौता गर्नु दुःखद् भएको उनले बताए। यसैगरी, अनेरास्ववियुका कृष्ण रोकायले एउटा कलाकारले लुट कान्छा लुट गित गाउँदा उफ्रने नेकपाकै कतिपय कार्यकर्ता देश टुक्राउन उद्धत हुने सम्झौतामा चुप लागेको बताए। सिके रावतसँग भएको सम्झौताको विरोधमा भएको प्रदर्शनमा केपी ओली निकट युवा र विद्यार्थी भने सहभागी थिएनन्। भीम रावल समर्थक युवासँघ र विद्यार्थी नेताहरू सम्झौताको विरोधमा सडकमा उत्रेका हुन्। नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज रावल सरकारले सिके रावतसँग भएको सम्झौताले देश टुक्र्याउने कुरालाई अप्रत्यक्ष रूपमा वैधता दिएको भन्दै विरोध गर्दै आएका छन्।

प्रकाशित: २९ फाल्गुन २०७५ ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App