२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

हङकङ नेप्लिज एकेडेमीलाई रोक्दै आयोजक झापा–११ सेमिफाइनलमा

झापा (सेतो) हङकङ नेप्लिज एकेडेमीका खेलाडी बल खोस्ने क्रममा। तस्बिर : नागरिक

दमक – पाहुना टोली हङकङ नेप्लिज एकेडेमीलाई १–० ले पछि पार्दै आयोजक झापा ११ ले मगमग झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। जितका लागि झापा ११ का कप्तान कर्ण लिम्बुले खेलको ४१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। निशान्त खड्काको क्रस पासमा हेडमार्फत गोल गर्दै लिम्बुले झापालाई अग्रता दिलाए।

बाहिरका ७ जना खेलाडीसहित हङकङ मैदानमा उत्रेको थियो। प्रतियोगिता अवधिभर झापाले गोल गर्ने थुप्रै अवसर गुमायो। खेलको आठौं मिनेटमा सन्जोग राईको क्रस पासमा कर्ण लिम्बुले गरेको हेडर पोस्टनजिकैबाट बाहिरियो। त्यसको एक मिनेटपछि झापाका लागि विदेशी खेलाडी फ्रान्सिस ओनियमाको पासमा लिम्बुले गोल गर्न सकेनन्। उनको प्रहार बारनजिकैबाट बाहिरिँदा अग्रता लिने अवसर गुम्यो।

११औं मिनेटमा योगेश गुरुङले खाली पोस्टमा गोल गर्न सकेनन्। २५औं मिनेटमा फेरि कर्ण लिम्बुले हङकङका गोलरक्षक अभिजित रोयसँग वान भर्सेस वानमा पनि गोल गर्न सकेनन्। उनको कडा प्रहार गोलरक्षक रोयले फर्काउँदा झापाली समर्थक निराश हुनुपरेको थियो। ८५औं मिनेटमा झापाका लागि विदेशी खेलाडी फ्रान्सिस ओनियमाको शक्तिशाली प्रहार झापाली गोलकिपर दिनेश थापामगरले पन्च गरेर फर्काए।

हङहङले पहिलो हाफअघि झापाविरुद्ध खासै दबाब बनाउन सकेको थिएन। विपक्षी पोस्टमा कुनै खतरा प्रहार बुन्न नसकेको हङकङले दोस्रो हाफमा दबाब बनाउन थालेको थियो। ५४ औं मिनेटमा हङकङका सानोजेको प्रहार पोस्टभन्दा केही माथिबाट बाहिरियो। ६४औं मिनेटमा मोहम्मद दुम्बियाले खाली पोस्टमा गोल गर्न सकेनन्। गोलकिपर दिनेश थापामगर बिट भइसकेको अवस्थामा उनले गरेको प्रहार फ्रेममा पर्न नसक्दा हङकङ निराश हुनुपरेको थियो।

खेलको इन्जुरी समयमा हङकङका दीपेश मोक्तानले गोलकिपर थापामगरसँग वान भर्सेस वानमा गोल गर्न सकेनन्। उनको प्रहार झापाका गोलकिपर थापामगरले समाएपछि बराबरी गर्ने अवसर हङकङले गुमाएको थियो।

खेलको म्यान अफ दी म्याच विजेता टोली मगमग झापा ११ का निशान्त खड्का घोषित भए। उनले १५ हजार रुपैयाँ पुरस्कार पाए। मंगलबारको खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजक समितिका सचिवालय संयोजक गजेन्द्र पौडेलले जानकारी दिए।

जितपछि झापाका प्रशिक्षक प्रवेश कटवालले ६ जना अफ्रिकन खेलाडी सहभागी टिमसँग खेल्नुपर्दा झापाका खेलाडीले दबाब महसुस गरेको बताए। उनले आगामी खेलमा अझ सुधारिएको प्रदर्शन गर्ने दाबी गरे।

हङकङका म्यानेजर नवीन राईले तालमेलको अभावमा स्कोर हुन नसकेको बताए। उनले फरकफरक स्थानबाट बोलाइएका खेलाडी भएका कारण खेलमा तालमेल हुन नसकेकाले गोल गर्ने अवसर सिर्जना हुन नसकेको सुनाए।

प्रकाशित: २१ फाल्गुन २०७५ ०२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App