२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ग्यास उद्योगले स्थानीय सधैं त्रासमा

धादिङको बेनिघाट रोराङ गाउँपालिका–५, विशालटारस्थित बस्तीबीचमा रहेको श्रीमाया ग्यास उद्योग। तस्बिर : नागरिक

धादिङ – मापदण्डविपरित बस्तीबीचमा सञ्चालनमा रहेको ग्यास उद्योगले धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ विशालटारका स्थानीय आजित बनेका छन्। बस्तीसँगै रहेको श्रीमाया ग्यास उद्योग तत्काल बन्द गर्न स्थानीयले माग गरेपछि कुनै सुनुवाइ भएको छैन। ग्यास भर्न थालेपछि ग्यासको गन्ध बस्तीभरि फैलिने गरेपछि स्थानीयले पटक पटक गुहार माग्दै आइरहेका छन्। ग्यास उद्योगको लापारबाहीले स्थानीय सधै त्रासमा बस्न बाँध्य छन्। 

पृथ्वी राजमार्गको छेवैमा रहेको ग्यास उद्योग सञ्चालनको न मापदण्ड छ न त बस्तीभन्दा टाढा छ। हजारौं यात्रु आवतजावत भइरहने राजमार्गको छेवैमा रहेको ग्यास उद्योगले कुन बेला विनाश निम्ताउँछ भन्ने पत्तो छैन। राजमार्ग र बस्तीको नजिकै ग्यास कम्पनी सञ्चालनमा रहेकाले बन्द गर्नुपर्ने स्थानीय ध्रुवप्रसाद पाण्डेले बताए । ‘ग्यास भर्न थालेपछि ग्यासको गन्ध बस्तीभरि फैलिन्छ, ग्यास गन्हाएर बसिसाध्य हुँदैन,’ पाण्डेले भने, ‘मध्यरातमा पनि सिलिन्डरको ट्वाङट्वाङ आवाजले सुत्न सकिँदैन।’

प्राविधिक कमजोरीले श्रीमाया ग्यास उद्योगबाट पटकपटक चुहिएर बस्तीसम्म गन्ध आउने गरेको छ। स्थानीय सधैंजसो त्रासमा नै बस्ने गरेका छन् भने बाटोमा हिँड्दा पनि डराउनुपर्ने अवस्था छ। बस्तीबीच ग्यास उद्योग खोलेर आधारभूत सुरक्षा उपाय पनि नअपनाइएको स्थानीयको आरोप छ । नेपाल आयल निगमकै एलपी ग्यास विनियमावली २०६५ को विनियम ३ घ र ङ मा मानव बस्ती तथा अर्को उद्योगबाट पाँच किलोमिटरको दूरी टाढा राख्ने ग्यास उद्योगलाई मात्रै इजाजत दिइने उल्लेख छ। स्थानीयले न्यूनतम मापदण्डसमेत पूरा नगरेको ग्यास उद्योगले कसरी नेपाल गुणस्तर चिन्ह पायो भन्नेमा अचम्मित भएका छन्।

बस्तीबीच ग्यास उद्योग भएकै कारण विभिन्नखाले रोगको सिकार हुनुपरेको स्थानीयको आरोप छ। यस्ता मापदण्ड विपरीत खोलिएका ग्यास कम्पनी बन्द गरिनुपर्ने पाण्डेले बताए। ‘गर्मी मौसममा उद्योगका ग्यास बुलेटलाई पानीका फोहरा दिएर चिसो बनाउने र हरेक उद्योगमा अग्नि नियन्त्रणका पर्याप्त उपकरण जडान गरिनुपर्छ,’ पाण्डेले भने, ‘हाम्रातिर यस्ता मापदण्ड नै छैनन्, बस्तीभरि ग्यासको गन्ध आइरहन्छ, कुन दिन आगो लागेर सबै सर्वस्व बनाउँछ।’ 

विशालटारमा एक सय ६० घरधुरी छन्। पटक पटक ग्यास चुहिएर गन्हाउन थालेपछि ग्यास उद्योग अन्यत्र सार्नका लागि स्थानीयले स्थानीय निकाय, प्रमुख जिल्ला अधिकारीलगायतलाई ज्ञापनपत्रसमेत बुझाएका थिए। ग्यास उद्योग आसपासमा सधैंजसो ग्यासको गन्ध फैलिरहेको हुन्छ। अझ अर्को जोखिम त मानव बस्तीबीचमा रहेको ग्यास उद्योगको एक सय मिटरको दूरीमा पेट्रोल पम्पसमेत रहेको छ। पहिले पेट्रोल पम्म नजिकै ग्यास उद्योग स्थापना गर्न आयल निगमले अनुमति दिएदेखि नै स्थानीयले विरोध गर्दै आएको विशालटारका स्थानीय राजकुमार विसुरालले बताए।

ग्यास उद्योगले स्थानीयलाई पर्नसक्ने असर न्यूनीकरण गर्नका लागि कुनै पहल नगरेको स्थानीयको आरोप छ। बस्तीभरि ग्यासको दुर्गन्ध फैलने गरेको छ भने सधैंजसो ग्यास गन्हाउने भएकाले स्थानीयमा विभिन्न रोगको समस्या देखिन थालेको छ। पहिले चाउचाउ फ्याक्ट्री सञ्चालन गर्ने भनेर जग्गा किनेपछि केही स्थानीयलाई प्रलोभनमा पारेर ग्यास उद्योग स्थापना गरेको विसुरालले बताए। ‘एकातिर पेट्रोल पम्प छ भने अर्कोतिर ग्यास उद्योग, हामी त एम्बुसको बीचमा बसिरहेको जस्तो भएका छौं,’ विसुरालले भने, ‘कुन दिन बिस्फोट हुन्छ भन्ने त्रासमा छौं।’ 

ग्यास उद्योगले लापरबाही गरेर उद्योग चलाएकाले स्थानीय समस्यामा परेको र सरोकारवाला निकायले समस्या समाधान गर्न कुनै चासो नदेखाएको उनीहरुको आरोप छ। अव्यवस्थित रुपमा सञ्चालित उद्योगका कारण आगलागीको ठूलो जोखिम रहेको भन्दै स्थानीयले श्रीमाया ग्यास उद्योगलाई व्यवस्थित र सुरक्षित रुपले सञ्चालन गराउन माग गरेका छन्। बस्तीको नजिकै ग्याँस कम्पनी सञ्चालनले वायु प्रदुषण, होहल्ला, कोलाहल, श्वासप्रश्वास र मस्तिष्कमा प्रतिकूल असर पारेकाले ग्याँस उद्योग बन्द गर्नुपर्ने माग स्थानीयले गर्दै आइरहेका छन्।

कुनै पनि उद्योग स्थापना गरी सञ्चालन गर्न नेपाल सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्छ। अझ अत्याधिक जोखिम हुने ग्यास उद्योग र पेट्रोल पम्प सञ्चालन गर्नका लागि सम्भावित जोखिम न्यूनीकरणका लागि सुरक्षाको भरपर्दो व्यवस्थापन गरेर मात्रै सञ्चालन गर्नुपर्ने हुन्छ। तर श्रीमाया ग्यास उद्योगको बोटलिङ प्लान्ट र स्थानीयको घरसँगै जोडिएको छ। 

स्थानीयबाट गुनासो आएपछि ग्यास उद्योग व्यवसायीलाई पटक पटक बोलाएर मापदण्डअनुसार सञ्चालन गर्न प्रशासनले अनुरोध गरेको धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए। ‘श्रीमाया ग्यासलगायत अरु धेरै ग्यास उद्योगको विषयमा धेरैपटक गुनासो आएको छ,’ प्रजिअ पाण्डेले भने, ‘ग्यास उद्योगीलाई बोलाएर हामीले मापदण्डअनुसार सञ्चालन गर्नुस् भनेर पटक पटक भनेका छौं, मापदण्डविपरीत चल्नेलाई कारबाही गर्ने अधिकार हामीलाई छैन।’ 

श्रीमाया ग्यास उद्योग मात्रै होइन पृथ्वी राजमार्गको धादिङ खण्डमा रहेका १३ वटा ग्यास उद्योग र ३० वटा भन्दा बढी पेट्रोल पम्प अधिकांश मानव बस्तीीचमै छन्। सुरक्षाको दृष्टिकोणले अत्यन्तै जोखिमपूर्ण रहे पनि नियमनकारी निकायबाट प्रभावकारी अनुगमनसमेत हुन सकेको छैन। उद्योगले न उद्योग वरपरका समुदायको सुरक्षा उपाय अवलम्बन गरेका छन् न त उद्योगमै काम गर्ने कर्मचारीको सुरक्षा नीति अवलम्बन गरेका छन्। 

पृथ्वी राजमार्ग वरपर रहेका जोखिमयुक्त उद्योग सञ्चालन अनुमति लिने बेलाका लिखित सर्त कसैले पनि पालना गरेको पाइँदैन । बाह्रै महिना पानीको पर्याप्त व्यवस्था गरिएको हुनुपर्ने, उद्योग परिसरका विभिन्न स्थानमा आगो नियन्त्रण गर्ने उपकरण जडान गरेको हुनुपर्ने भए पनि यसतर्फ उद्योगीले ध्यान दिएको पाइँदैन। 

धादिङमा ग्याँस उद्योगको स्थापना २०६३ मा भुमेस्थान–९ खयरघारीमा ओम ग्याँसबाट सुरु भएको हो। नौबिसेमा तीन, थाक्रेमा दुई, भुमेस्थानमा दुई, बैरेनीमा एक, गजुरीमा एक, बेनिघाटमा दुई, धुसामा एक र जोगिमारामा एउटा ग्याँस उद्योग स्थापना भएको छ। यी सबै उद्योगको लक्ष्य काठमाडौंको बजारलाई ग्याँस आपूर्ति गर्ने रहेको छ। विशेषगरी राजधानी काठमाडौं, पोखरा, गोरखा, लमजुङ, चितवन, म्याग्दी, बागलुङ, नुवाकोट र रसुवामा आपूर्ति गर्दै आइरहेका छन्। तर उद्योगले आपूर्ति गरेअनुसार ठूला उद्योगले सुरक्षाप्रति चासो दिएका छैनन्। ग्याँस उद्योगको स्थापनासँगै स्थानीयमा सुरक्षा चुनौती पनि थपिएको छ। 

 

प्रकाशित: १६ फाल्गुन २०७५ ०३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App