२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सहारा सडन डेथको सिकार

एपिएफ र सहारा क्लब (हरियो) का खेलाडी बलका लागि प्रतिस्पर्धा गर्दै । तस्बिर : उमेश पुन/नागरिक

पोखरा – सहारा क्लबको आतिथ्यलाई  अविस्मरणीय बनाउने क्रममा बिहीबार सशस्त्र प्रहरी बलको एपिएफ क्लबले घरेलु टोलीलाई सडन डेथमा सिकार बनाएको छ। उद्घाटन खेल जित्ने अभिलाषालाई एपिएफका विकी लामाले निर्णायक गोल गरेपछि सहारा निराश बन्यो। एपिएफले १७औं संस्करणको आहा रारा गोल्डकपको क्वार्टरफाइनल सुरक्षित गर्‍यो।

निर्धारित समय सहारा र एपिएफबीच १–१ गोलको बराबरीमा टुंगियो। थपिएको ३० मिनेटमा गोलरहित सकियो। निर्णय पेनाल्टीमा पुग्यो। दुवै टोलीले ५/५ पेनाल्टी  हाने। दुवैको एक/एक पेनाल्टी गुम्यो। निर्णय फेरि सडन डेथमा पुग्यो। सडन डेथमा सहाराका अन्जन देवकोटाको प्रहार वैकल्पिक गोलकिपरको रूपमा मैदान छिरेका एपिएफका रोमन रसाइलीले बचाए।  एपिएफका विकी लामाले गोल गरेपछि एपिएफ विजयी भयोे। निर्णय ५–४ गोलमा टुंगियो।

पेनाल्टी सुटआउटमा सहाराका लागि एनिफोओजे, पदम भट्टराई, अनिल गुरुङ, विष्णु गुरुङका प्रहार गोलमा परिणत भए। कप्तान सुशील लामाको प्रहार गुमेपछि सहाराले जितको सम्भावना कमजोर देखाइसकेको थियो। एपिएफका लागि गोलकिपर रोमन रसाइलीको पाँचौं प्रहार सहाराका गोलकिपर लुक्केकुमार कार्कीले बचाउ गरेपछि सम्भावना यथावत् बनाइराखे। एपिएफका सुदीप सिख्राकार, सन्तोष कटुवाल, बुद्धिमान राई, आशिष लामाको प्रहार गोलमा परिणत भएको थियो।

यसअघि १७औं मिनेटमा रमेश मगरले दिएको क्रसबललाई एपिएफका रमेश दंगालले क्लियर गर्ने कोसिस गरे। बल डिबक्स लाइनमै खसेपछि कलेक्ट गरेका विनोद गुरुङले फस्ट बार च्याप्दै हानेको बलले जाली चुमेपछि सहाराले अग्रता बनायो। तर १८औं मिनेटमा सेन्टरबाट चलाएको बल सहाराका खेलाडीले छुन नपाउँदै आशिष लामाले गोल गर्दै एपिएफलाई कमब्याक गराए। खेलमा एपिएफका बुद्धिमान राई म्यान अफ दी म्याच घोषित भए।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्सको मुख्य प्रायोजनमा सञ्चालित आहा रारा गोल्डकपको बिहीबार पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका थिए।

किरण चेम्जोङलाई सम्मान
सहारा क्लबले बर्सेनि उत्कृष्ट फुटबलरलाई सम्मान गर्दै आएको छ। यो वर्ष नेपाली फुटबल टोलीका गोलकिपर किरण चेम्जोङलाई नगदसहित सम्मानित गरिएको छ। चेम्जोङलाई पर्यटनमन्त्री रवीन्द्र अधिकारीले दोसल्ला ओढाई नगद ३५ हजार रुपियाँसहित सम्मानित गरेका थिए।

जिल्ला फुटबल संघलाई दुई लाख
कास्की जिल्ला फुटबल संघलाई सहारा क्लबले १७औं आहा रारा गोल्डकपको उद्घाटन समारोहमा दुई लाख रुपैयाँ हस्तान्तरण गरेको छ। क्लबका अध्यक्ष केशवबहादुर थापाले संघका अध्यक्ष मिलन गुरुङलाई चेक हस्तान्तरण गरेका थिए। क्लबले संघले फुटबल मैदान मर्मत सम्भार गरेको भन्दै उक्त रकम हस्तान्तरण गरिएको थियो।

प्रकाशित: १० फाल्गुन २०७५ ०२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App