२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

कहिले बन्ला सूर्यविनायक–धुलिखेल सडकखण्ड ?

सूर्यविनायक–धुलिखेल सडक वरपर जनघनत्व मात्रै बढेको छैन, सवारीचाप पनि अत्याधिक बढेको छ। जसको कारण उक्त सडकखण्ड साँघुरो भएकाले दैनिक एकदेखि दुई घण्टासम्म सवारी जाम हुन थालेको छ। कोटेश्वर–सूर्यविनायक ६ लेनको सडकखण्ड तयार भएको सात वर्ष भइसक्यो। तर, सोही सडकखण्ड जोडिएको अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल (१४.९१ किलोमिटर) सडक खण्ड अहिलेसम्म पनि दुई लेनमै सीमित छ।

जसको कारणले ‘पिकआवर’मा अत्याधिक मात्रामा सवारी जाम हुने समस्या देखिएको छ। उक्त क्षेत्रमा कम्तिमा एक घण्टादेखि डेढघण्टासम्म सवारीजाम हुने गरेको छ। सवारी जामलाई मध्यनजर गरेर नेपाल सरकारले ६ लेनको सडक निर्माण गर्ने योजना अघि सारेको छ। सरकारले जापान सरकारसँग मिलेर ६ लेनको सडक निर्माण गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वैदेशिक सहयोग महाशाखाका प्रमुख केशव शर्माले सूर्यविनायक–धुलिखेल सडक खण्ड विस्तार गर्नको लागि जापान सरकारसँग छलफल भइरहेको बताए। ‘सूर्यविनायक धुलिखेल सडक खण्ड विस्तारको लागि जापान सरकारसँग छलफल भइरहेको छ,’ उनले भने, ‘सडकखण्ड कुन मोडालिटीमा विस्तार गर्ने विषयमा अझै टुंगो लागेको छैन।’ उनका अनुसार कोटेश्वर–सूर्यविनायक सडकखण्ड जापान सरकारले निर्माण गरेर हस्तान्तरण गरेकाले पनि यस योजना विस्तारमा जापान सकारात्मक रहेको छ।

सूर्यविनायक धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक योजनाका प्रमुख सूर्यबहादुर रानाभाटले आगामी मार्च महिना भित्रै सरकार र जापान सरकारबीच सम्झौता हुने बताए। ‘आगमी मार्च महिनासम्म दुवैपक्षबीच सम्झौता हुने कार्यक्रम रहेको छ,’ उनले भने, ‘सम्झौता भएसँगै सडक निर्माण कार्य अघि बढ्नेछ।’ योजनाका प्रमुख रानाभाटका अनुसार सडकमा चार लेन हाइस्पिड लेन र दुई लेन सर्भिस लेन तथा तीन मिटरको बगैंचा सहितको ‘मेडियन’ बनाउने योजना छ। प्रमुख रानाभाटले ६ लेनको १४.९१ किलोमिटर सडकखण्ड सम्पन्न गर्न करिव २३ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। योजनाका अनुसार सन् २०२० सम्म सम्पूर्ण प्रक्रिया पूरा भएर सडक विस्तार गर्ने आरम्भ गर्ने तयारी  गरेको छ।

योजनाका अनुसार जापान सरकारसँग आधिकारिक रुपमा सम्झौता नभएकाले निर्माण कार्य कहिले सुरु हुने भन्ने अन्यौल कायमै छ। अहिले सूर्यविनायक–धुलिखेल सडकखण्डमा पर्ने घर, टहरा, वनजंगल लगायतका अवरोध हटाउने कार्य धमाधम भइरहेको छ। डिभिजन सडक कार्यालय भक्तपुर र  सडक योजनाले सडकका अवरोध हटाउने कार्य गरिरहेका छन्। प्रमुख रानाभाटका अनुसार अनुसार उक्त सडक खण्डको प्रारम्भिक अध्ययन तथा सर्भेको काम सम्पन्न भइसकेको छ। ‘आयोजनाको अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन अझै बन्न सकेको छैन,’ उनले भने, ‘सडक निर्माण गर्ने सम्झौता हुने बित्तिकै डिपीआर निर्माणको काम सुरुवात गरिनेछ।’

सूर्यविनायक–धुलीखेल सुरुङमार्ग
सरकारले सूर्यविनायक–धुलिखेल १६ किलोमिटर सडक खण्ड चार लेनमा विस्तार गर्न लागिरहेको छ। उक्त सडक खण्ड विस्तारका लागि जाइकाले दुई वर्षदेखि नै अध्ययन थालेको छ। उक्त सडक खण्डमध्ये ३ सय मिटरमा सुरुङमार्ग बनाउन उपयुक्त देखिएकाले सुरुङमार्गको अध्ययन भइरहेका सडक विभागले जनाएको छ। करिव तीन सय मिटरको सुरुङ मार्ग निर्माण गर्दा एक किलोमिटर सडक छोटो हुने भएकाले सम्भाव्यता अध्ययन भइरहेको छ। सुरुङको प्रारम्भिक अध्ययन जापानीज सहयोग नियोग (जाइका) ले गरिरहेको छ। ‘यो सडक खण्डमा सुरुङ मार्गको समेत कुरा चलिरहेको छ। कुन एरियामा कस्तो सुरुङ मार्ग बन्ने अझैसम्म टुंगो लागेको छैन,’ प्रमुख रानाभाटले भने, ‘हामी जापानसरकारसँग नियमित छलफलकै क्रममा रहेका छौं। सम्भवत आगामी वैशाखभित्रै सम्झौता भएर डिपीआर निर्माणको चरणमा पुग्नेछौं।’ आर्थिक वर्ष २०७४/७५ को बजेट तथा नीति कार्यक्रममा काठमाडौंको कोटेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म स्थलमार्गको विकल्पमा सुरुङमार्ग बनाउने उल्लेख छ।

ऋण वा अनुदान के मा बन्ला ?
जापान सरकारले साढे १४ किलोमिटरको सडक ऋण वा अनुदान कुन ढाँचामा बन्ने विषयमा टुंगो लागेको छैन। महाशाखा प्रमुख शर्माका अनुसार कुन मोडालिटीमा निर्माण गरिने विषयमा टुंगो लाग्न सकेको छैन। नेपाल सरकार र जापान सरकारबीच आवश्यक सम्झौतासँगै काम अघि बढ्नेछ। ‘अबको केही समयभित्रै दुवैपक्षबीच वार्ता गरेर निर्माणको काम अघि बढाउने योजना रहेको छ,’ उनले भने, ‘सम्झौता कहिले हुन्छ भनेर अहिल्यै भन्न सकिने अवस्था छैन।’ सात वर्षअघि कोटेश्वर–सूर्यविनायक खण्डको ६ लेनको सडक विस्तार भएको थियो।। जापान सरकारको सहयोगमा २०६५ सालमा सडक निर्माण भएको हो। जापान सरकारको सहयोगमा तयार भएको उक्त सडक नेपालकै नमुना सडकको रुपमा चिनिन्थ्यो। तर, अहिले उक्त ६ लेनको चिल्लो सडकमा समेत सवारी जाम देखिन थालेको छ।

प्रकाशित: २५ माघ २०७५ ०३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App