२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्रहरीलाई पचास : सामान भन्सार पार

वीरगन्ज – गत सोमबार विहान ११ बजे वीरगन्ज घन्टाघरदेखि सीमापारि रक्सौलसम्म पुग्ने टेम्पोमा एक महिलाले अन्दाजी १५ केजी सामान भएको एउटा बोरा राखेर केहिबेर बेपत्ता भइन्। सिट क्षमता अनुसार यात्रु भरिए।

टेम्पोमा सामान हालेर बेपत्ता भएकी महिलालाई सबैले कुर्न थाले। १० मिनेटपछि महिला आइन् र टेम्पोमा बसिन्। उनको हातमा ५०–५० दरका केही थान नेपाली नोट थिए। उनको नाम सुगिया देवी रहेछ। चालकले टेम्पो गुडाउनासाथ उनले बोरालाई सिट मुनि लुकाइन्। बोरामा के छ भनी सोध्दा मरिच भएको बताइन्। यो संवाददाता त्यही टेम्पोमा थियो।

घन्टाघरदेखि गुडेको टेम्पो रक्सौलसम्म पुग्दा ठाउँठाउँमा प्रहरीले लाठी बजाउँदै सिट मुनि के छ भनेर सोधे। सुगिया देवीले प्रहरीको हातमा ५०–५० का नोट थमाउँदै टेम्पो चालकलाई अगाडि बढ्न निर्देशन दिइन्। टेम्पो भन्सार नाकामा पुगेर रोकियो। त्यहाँ पनि एक प्रहरीले टेम्पोमा लाठीले हान्दै सुगियाको अनुहार हेर्‍यो। सुगियाले टेम्पोको झ्यालबाट ५० को नोट थमाइन्। रक्सौलसम्म पुग्दा उनले पाँचजना प्रहरीलाई ५०–५० रुपैयाँ दिएकै भरमा १५ केजी मरिच पास गराउन सफल भइन्। 

सुगियाका अनुसार नेपालमा पाँच सय २० रुपैयाँ प्रतिकिलो होलसेलमा पाइने मरिच भारतमा ६ सय भारतीय रुपैयाँ पर्दो रहेछ। एक किलो मरिचमा चार सय ४० रुपैयाँ नाफा भएपछि सुगियाजस्ता महिलाको धन्दा भारतीय व्यापारीसमक्ष मरिच पुर्‍याउने रहेछ। गौरकी सुगियाले दैनिक ६ पटकसम्म वीरगन्जबाट रक्सौल मरिच ओसारपसार गर्ने गरेको सुनाइन्। 

‘मैले भन्सारका सबै प्रहरीलाई चिनेको छु,’ सुगियाले भनिन्, ‘म कुन टेम्पोमा सामान वीरगन्जबाट रक्सौल लग्दैछु त्यो कुरा पोल लगाउनेले पहिले नै प्रहरीलाई भनिदिन्छन्। त्यही भएर सबैलाई पैसा बाँड्नुपरेको छ।’ 

सुगिया मात्रा होइन। त्यही दिन रक्सौलाबाट वीरगन्ज फर्कने टेम्पोमा पर्सा सुगौलीकी बिन्दा देवीले जरी भरेको कुर्ता, सुरुवाल टेम्पोको सिट मुनि राखेर वीरगन्ज भन्सार पास गराउन खोजिन्। भन्सारमा टेम्पो रोकिएपछि उनले झ्यालबाट चेकजाँच गर्ने प्रहरीलाई टेम्पोभित्र आउन इसारा गरिन्। प्रहरी पनि चेक गर्ने निहुँमा निहुरेर टेम्पोभित्र टाउको र हात छिराए। सुगियाले उनको हातमा सयको नोट थमाइन्। प्रहरी खुसी भयो, टेम्पोले भन्सार पास गर्‍यो। 
‘यो मेरो सधैंको काम हो। आज अलि महँगो लुगा भएकोले सय दिएकी हुँ नत्र ५० रुपैयाँ दिए पुग्छ,’ बिन्दाले नागरिकसँग भनिन्, ‘हामी जस्ता सयौं महिलाले यस्ता काम गर्छौं। सबैले भन्सारदेखि घन्टाघरसम्मका चेकजाँच गर्ने प्रहरीलाई ५०–५० रुपैयाँ दिने गरेका छौं।’

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले वीरगन्ज भन्सारमा बढ्दै गएको गैरकानुनी सामान ओसारपसार रोक्न सीमामा निगरानी बढाउने तयारी भइरहेको बताए। ‘गैरकानुनी सामान ओसारपसार गराउने कार्यमा संलग्न प्रहरीलाई सूचनाको आधारमा कारबाही गर्नेछौं,’ भट्टराईले नागरिकसँग भने, ‘भन्सारसहित, सशस्त्र र नेपाल प्रहरी प्रमुखलाई गैरकानुनी सामान ओसारपसारमा कडा निगरानी बढाउन निर्देशन दिएको छु।’

वीरगन्ज नेपालकै ठूलो भन्सार नाका हो। मुलुकको भन्सार राजस्व असुलीमा यसको अंश सबैभन्दा बढी छ। अर्थ मन्त्रालयले कडाइ गरेको बताए पनि प्रमुख भन्सार नाका र छोटी नाकाहरुबाट चोरी तस्करीका घटना दैनिक रुपमा भइरहेका छन्। चोरी तस्करी बढेकै कारण सरकारले लक्ष्यअनुसार भन्सार राजस्व असुली गर्न सकेको छैन।

प्रकाशित: २३ माघ २०७५ ००:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App