२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘गोपी’को गोठमा किसानका कुरा

बाच्छीसँग फिल्म ‘गोपी’का नायक विपिन कार्की। तस्बिर सौजन्यः विनोद पोखरेल

काठमाडौं – कृषिप्रधान मुलुकमा सबैभन्दा परित्यक्त कोही छन् भने ती किसान नै हुन्। तिनै किसानका नाममा सबैभन्दा धेरै राजनीति हुन्छ। तर, सुविधा पाउने बेलामा सबैभन्दा बढी किसान हेपिन्छन्।  

त्यो हेपाइको परिणामस्वरुप आज किसानले आफ्नो उत्पादनको मूल्य पाउँदैनन्। भर्खरै चितवनका किसानले आफ्ना काउलीबारीमा डोजर लगाउँदाको पीडा अखबारका पानामा पोखिएकै बेला पत्रकार दीपेन्द्र लामाले सोमबार आफ्नो नवीन फिल्म ‘गोपी’को विशेष प्रदर्शन गराई थप संवेदनशील बनाएका छन्।

फिल्म हेर्ने को थिएनन् ? मन्त्रीदेखि नीति निर्मातासम्म, डेरी उद्योगदेखि दाना व्यवसायीसम्मका विशिष्ठ व्यक्तिले ‘गोपी’ हेरिसकेपछि पक्कै पनि केही क्षणका लागि किसानका बारे सोचे होलान्। पछिल्लो तथ्यांकअनुसार हाम्रो मुलुकको करिब ७० प्रतिशत जनसंख्या कृषिमा आश्रित छ। कुल गार्हस्थ उत्पादन (जिडिपी)मा यसको योगदान २७ प्रतिशत छ।

यति हुँदाहुँदै पनि किसान नीति निर्माण र राष्ट्रिय राजनीतिको चर्चामा कतै हुँदैनन्। बरु नेपाल सरकारले किसानलाई दिँदै आएको अनुदान र सुविधा अन्तर्राष्ट्रिय दाताहरूको दबाबमा हटाएपछि प्रतिस्पर्धात्मक क्षमता कम हुँदै गएको छ। त्यसैको परिणामस्वरुप किसानले आफ्नो काम छाडेर अन्य पेशा अपनाउनु पर्ने अवस्था सिर्जना हुँदैछन्।

गोपी नेपाल सरकार, कृषि मन्त्रालयले बनाउनुपर्ने फिल्म हो। अब कृषि मन्त्रालयसँग के छ भन्दा ‘गोपी’ फिल्म छ भन्ने चाहिँ हुन्छ।

फिल्म ‘गोपी’ले गाई पालक किसानको कथामा आधारित रहेर यस क्षेत्रका समस्यालाई उठान गरेको छ। समस्याको उठान मात्र होइन। उसले आम मानिसलाई उद्यमशीलताका निम्ति प्रेरितसमेत गरेको छ। केही वर्षअघि भारतीय फिल्म उद्योग बलिउडमा ‘पिप्लीलाइभ’ले किसानले आत्महत्या गर्नुपर्ने अवस्थामाथि गतिलो व्यंग्य गरेको थियो। त्यति मात्र होइन त्यसले टेलिभिजनले वास्तविक समस्यालाई सम्बोधन गर्न नसकेको स्थितिलाई समेत देखाउन सफलता पाएको थियो।

केही महिनाअघि फेरि अर्को एउटा बलिउड फिल्म ‘सुईधागा’ ले पनि उद्यमशील बन्न प्रेरित गरेको थियो। ‘गोपी’को कथा लेख्दै गर्दा सुईधागा’को चर्चै नभएको यसका लेखक सामिप्यराज तिमल्सिनाले नागरिकलाई बताए। एउटा सार्थक कथाका रूपमा ‘गोपी’ लेखिएको मात्र छैन, त्यसमा निर्देशकीय क्षमताको समेत प्रयोग भएको छ।

‘घामपानी’ मार्फत् आफ्नो निर्देशकीय यात्रामा ‘डेब्यु’ गरेका निर्देशक लामाले यो फिल्म बनाइरहँदा कतै ‘गाईपुजा’ मार्फत् धर्मको वकालत गर्न खोजे कि ? भन्ने प्रश्न पनि उठाइएको थियो। फिल्ममा गाई पालनसँग धर्म भन्दा पनि यसको उद्यमको पक्षलाई जोडिएको छ।

यसै पनि दूधका निम्ति गाईभैंसी पालक किसानले वर्षेनी अनेकन हण्डर र ठक्कर खान्छन्। उपभोक्ताले गुणस्तरयुक्त दुध खान पाउँदैनन्। तर बजारको चक्करले किसान भने सडकमा दुध पोख्न बाध्य हुन्छन्। कृषिकर्ममा यसै पनि बिचौलियाको बिगबिगी छ। जसले गर्दा न उत्पादक किसानका मुखमा माड लाग्छ न उपभोक्ता सर्वसाधारणले सस्तोमा सामान पाउँछन्।

यो विषम स्थितिलाई उजागर गरेर ‘गोपी’ मार्फत् दीपेन्द्रले न्याय गरेका छन्। यस्तो विषयमा दर्शकलाई हत्तपत्त ताली पिट्न गाह्रो हुन्छ। तर ‘गोपी’ बनेका प्रतिभाशाली नायक विपिन कार्कीको सशक्त अभिनयले यथार्थमै मन छुन्छ। अमेरिका जाने पासपोर्ट बनाउन गाउँ गएका बेला फेरि उनी गाई गोठमा फर्कने बेलाको भावुक क्षणले जोसुकैलाई उद्वेलित तुल्याउँछ।

कलाकारहरू वर्षा राउत, सुरक्षा पन्त, भोला सापकोटा, अंकित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमलीलगायतले यथार्थमै आफ्नो भुमिकालाई न्याय गरेका छन्। ‘पशुपति प्रसाद’मा ‘भस्मे डन’को भुमिकाबाट चिनिएका विपिनले आफूलाई आवश्यकताअनुसार जस्तोसुकै भुमिकामा ढाल्न सक्छन् भन्ने ‘गोपी’बाट थप पुष्टि भएको छ।

कुनै बेला हाम्रो मुलुकले विदेशमा अन्न निर्यात गथ्र्यो। नेपाल धानचामल निर्यात नामको कम्पनी नै थियो। यी त इतिहास भए। आज हामी माघे संक्रान्तिका निम्ति तरुलसमेत विदेशबाट ल्याउँछौं। तिहारको फूल समेत आयातित हुन्छ। यो अवस्थाका पछाडि यहाँका नीति निर्माताले किसानलाई ध्यान नदिनु हो। सानोतिनो जागिरमा झुण्डिनुभन्दा हाम्रा बारी र खोरिया खोस्रेकै भरमा नेपालीलाई आत्मनिर्भर बनाउन सकिने अवस्था छ।

कम्तिमा आफुलाई चाहिने तरकार, फलफूल र अन्न मात्र उत्पादन गर्न सक्दा पनि मुलुकलाई व्यापार असन्तुलनको भारबाट जोगाउन सकिन्छ। फिल्म ‘गोपी’मार्फत् सरकारको मात्रै ध्यानाकर्षण भए पनि यसले मुलुकका निम्ति ठुलो योगदान हुन्छ।

‘गोपी’ धेरै अर्थमा एउटा सफल फिल्म हो। सामान्य कथावस्तुबाट पनि असामान्य सन्देश दिन सकिन्छ। हाम्रो मुलुकको युवा शक्ति यतिबेला विदेशका ताता बालुवामा आफ्नो पसिना सिञ्चन गरी स्वदेशमा रहेका आफ्ना परिवारका सपना पुरा गर्न तल्लिन छ। तर, आफ्नै माटोको सेवामा लगाउन सकियो भने वास्तवमा हाम्रा बारीका पाटामा सुन फल्छ।

फिल्म बनाउँदा मसला चाहिँदैन भन्ने पनि अर्को सन्देश यसमा छ। न धेरै डाङडाङ डुङडुङ, न धेरै आइटम डान्स यो सलल्ल बगेको छ। आफूले हिजो अरुका सिनेमा माथि टिप्पणी गरेजस्तै यथार्थमै लामाले निर्देशकीय क्षमता पनि प्रर्दशन गरे भन्नुमा अत्युक्ति हुँदैन।

हाम्रो मुलुकका लाखौं गोपीहरूको आत्मविश्वास बढाउने यो फिल्म यस कारण पनि सार्थक छ। हाँस्य कलाकार जितु नेपालले फिल्म हेरिसकेपछि ठिकै भनेका छन्– ‘गोपी नेपाल सरकार, कृषि मन्त्रालयले बनाउनुपर्ने फिल्म हो। अब कृषि मन्त्रालयसँग के छ भन्दा ‘गोपी’ फिल्म छ भन्ने चाहिँ हुन्छ।’ यसको अर्थ यो किसानको पक्षमा रहेको प्रचार सामग्री भने होइन। मनोरञ्जनसहितको किसानका कुरा गर्ने सार्थक फिल्म हो यो।

प्रकाशित: १६ माघ २०७५ ०३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App