२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

वैज्ञानिक भाडादार कायम गर्न ट्याक्सी व्यवसायीको माग

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले ट्याक्सीको वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेका छन्। ट्याक्सी व्यवस्थापन विषयमा बिहीबार भृकुटीमण्डपमा भएको बृहत् अन्तरक्रिया कार्यक्रममा सो माग गरिएको हो।

बजारमा समानको मूल्य वृद्धि भइरहँदा ट्याक्सी मजदुरहरुको जीवननिर्वाहमा समस्या भएकाले सरकारले वैज्ञनिक भाडादर कायम गराउनको लागि कार्यक्रमको आयोजना गरिएको सेवा समाजका अध्यक्ष सानु पुर्वाछानेले बताए। ‘बजारमा हरेक सामान महंगिएका छन्। कर समेत बढेको छ,’ उनले भने, ‘तर ट्याक्सीको भाडादर बढेको छैन। जसले गर्दा हामी मजदुरहरुले परिवार पाल्न सकिरहेका छैनौं। सरकारले वैज्ञनिक भाडादर कायम गर्नुपर्छ।’

सरकारसँग पटक–पटक व्यवसायीहरुको मागलाई सम्बोधन गर्नको लागि ध्यानाकर्षण गराउँदा समेत यसलाई बेवस्ता गरेकोमा उनले दुःखेसो पोखे। ‘अहिले उपत्यकाका १० हजार ट्याक्सी चालक यही समस्या लिएर कार्यक्रममा सहभागी भएका छन्। यो मागलाई सरकारले तत्काल सम्बोधन नगरे विधिगत रुपमा अगाडी बढ्न बाध्य हुनेछौं,’ उनले भने। ट्याक्सी मजदुरमाथि अहिले सरकारका उच्च पदाधिकारीबाट दुव्र्यवहारसमेत भइरहेको आरोप उनको छ।

सेवा समाजका महासचिव पूर्णलाल तामाङ सरकारले ट्याक्सी भाडादर नबढाउँदा चालक व्यावसायीहरुको भविष्य अन्योलता छाएको बताए। ‘हामीले  २०६९ सालमा भएको भाडा समायोजनअनुसार काम गर्न सक्दैनौं,’ उनले भने, ‘हाम्रो पनि परिवार छन्। अहिलेको भाडादरमा हामी सेवा दिन सक्दैनौं। त्यसैले सरकारले अन्तर्राष्ट्रिय पेट्रोलियम मूल्यको मापदण्डअनुसार उपत्यकामा वैज्ञनिक भाडादर कायम गर्नुपर्छ।’ उक्त कार्यक्रममा सरकारका उच्च पदाधिकारीहरु सहभागी नभएकोमा दुःख व्यक्त गरे। उनका अनुसार ट्याक्सी व्यावसायी र चालकका समस्या गृहमन्त्री लगायत सरकारका उच्च अधिकारीहरुलाई पत्र काटेको थियो। अहिलेसम्म अज्ञात समूहद्वारा ४२ जना ट्याक्सी चालकको मृत्यु भएको छ। तर सरकारले कुनै पनि क्षतिपूर्ति दिन सकेको छैन। 

ट्याक्सी मजदुरको आवाज विहीनको आवाज मिडिया बन्न नसकेको उनले बताए। ‘हामीलाई मिडिया, सरकार र सर्वसाधरणले ठगेको भनेर भन्छन्। तर, उल्टै हामी ठगिरहेका छौं,’ उनले भने,  ‘हामीले ठगेका छौं भने सरकार र मिडियाले अनुसन्धान गरोस्। हामी पनि धेरै दुःख पीडामा छौं। यो समस्या कसले सुन्छ ?’

ट्याक्सी चालकलाई विभिन्न आरोप लगाई ट्राफिक प्रहरीहरुले उल्टै लुटिरहेको उनको आरोप छ। सरकारले सुविधा ढंगले ट्याक्सी पार्किङ, व्यवसायी र चालकलाई सुरक्षा, सार्वजनिक शौचालय लगायतकोे सुविधा हुनुपर्ने उनीहरुको माग छ।

राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालले ट्याक्सी व्यवसायीहरुको मागलाई सम्बोधन गर्न पहल गर्ने बताइन्। ‘मैलै ट्याक्सी व्यवसायीहरुको धेरै समस्या बुझेको छु,’ उनले भनिन, ‘यो माग र समस्यालाई सरोकारवाला निकाय समक्ष पुर्याइ छलफल गर्नेछौं।’ ट्याक्सी व्यवसायमा रहेका समस्याहरु सुधार गर्न दाहालले चालकहरुलाई सुझाइन्।

कार्यक्रममा समाजले घाइते चालक भरत मल्ललाई नगद ७५ हजार र डम्बर खड्गालाई २५ हजार नगद सहयोग गरिएको थियो। चालकलाई उद्धार गर्ने ट्राफिक प्रहरी र ट्याक्सी चालकको आवाजलाई उठान गर्ने अन्नपूर्णका दुई पत्रकारलाई समेत समाजले सम्मान गरेको थियो। चालकहरुमाथि परेको समस्यालाई हातेमालो गर्ने उदेश्यले उक्त समाजको स्थापना गरिएको बताइएको छ।

प्रकाशित: ११ माघ २०७५ ०९:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App