२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भूमिगत सशस्त्र समूहका प्रमुख थिए दीपेन्द्र : प्रहरी

भूमिगत सशस्त्र समुहका सैन्य कमाण्डर भनिएका पशुपति चौधरी प्रहरी नियन्त्रणमा तस्बिर : जितेन्द्रकुमार/राजविराज

राजविराज - सप्तरीको रुपनीमा बुधबार मुठभेडमा मारिएको भनिएका ३५ वर्षीय दीपेन्द्र चौधरी भूमिगत सशस्त्र संगठन प्रगतिशील तराई मुक्ति मोर्चा (सिजन) समूहका प्रमुख रहेको प्रहरीले बताएको छ। सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टका अनुसार चौधरीले नै ‘सिजन’ उपनाम राखेर संगठनमार्फत विभिन्न आपराधिक गतिविधिको नेतृत्व गर्दै आएका थिए।

‘मुठभेडमा मारिएका उनीसँगै हतियारका साथै प्रगतिशील तराई मुक्ति मोर्चा सिजन समूहका प्रमुख सिजन लेखिएको परिचयपत्रसमेत फेला परेको थियो’, बिष्टले भने, ‘यसका अतिरिक्त उक्त समूहका पछिल्लो समयका आपराधिक क्रियाकलापको अनुसन्धानबाट पनि समूहको प्रमुख दीपेन्द्र चौधरी नै रहेको निष्कर्षमा प्रहरी पुगेको हो।’ बिष्टका अनुसार चौधरी सप्तरी प्रहरीको ‘मस्टवान्टेड’ सूचीमा समेत थिए। ‘लामो समयदेखि चौधरीलाई प्रहरीले खोजिराखेको थियो’, उनले भने, ‘बुधबार बिहान प्रहरीसँगको मुठभेडका क्रममा मृत्यु भएका व्यक्तिको हामीले सशस्त्र समूहका प्रमुख सिजनकै रुपमा पहिचान गरेका छौं।’

उक्त समूह जयकृष्ण गोइत नेतृत्वको भूमिगत सशस्त्र संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाबाट छुट्टिएर केही वर्षअघि मात्रै स्थापना भएको प्रहरी अनुसन्धानले देखाएको छ। २०७४ साउन २१ गते इलाका प्रहरी कार्यालय कडरवोनाको गस्ती टोली सवार गाडीमाथि प्रेसर कुकर बम विस्फोटको घटनापछि यो समूह चर्चामा आएको हो। प्रहरीका अनुसार उक्त दिन इलाका प्रहरी कार्यालय कडरवोनाका तत्कालीन प्रहरी निरीक्षक राजेन्द्र यादवलाई फोनमा हाल सुरुंगा नगरपालिका–६ स्थित जनता निमाविमा जुवा खेल भइरहेको भनी अज्ञात व्यक्तिले फोन गरेर बोलाएको तथा टोली त्यहाँ जान लाग्दा बाटोमै प्रहरी भ्यानलाई लक्षित गरी प्रेसर बम विस्फोट गराइएको थियो। घटनामा प्रहरी निरीक्षक यादवसहित केही प्रहरी घाइते भएका थिए। घटना भएलगत्तै प्रहरीका जिम्मेवार अधिकारी एवं पत्रकारसमेतलाई ‘प्रगतिशील तराई मुक्ति मोर्चा जिन्दावाद, यो घटनाको जिम्मा हामीले लिएका छौं’ भनी मोबाइल म्यासेजसमेत पठाइएको थियो।

दीपेन्द्र नेतृत्वको समूह जयकृष्ण गोइत नेतृत्वको भूमिगत सशस्त्र संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाबाट छुट्टिएर केही वर्षअघि मात्रै स्थापना भएको प्रहरी अनुसन्धानले देखाएको छ।

उक्त घटनाको एक महिना नबित्दै सोही समूहका नेताहरुले सप्तरीको सुरुंगा–६ स्थित त्रियुगा डिस्टिलरीका सञ्चालकलाई फोन गरेर ‘प्रहरीको गाडी उडाएको थाहै होला, पार्टीलाई सहयोग गर्नुस् नभए तपाईंको हविगत पनि उस्तै हुन्छ’ भनी धम्क्याएका थिए। धम्कीपश्चात् पनि त्रियुगाका सञ्चालकले चन्दा नदिएपछि ०७४ असोज २४ गते उक्त उद्योगका सुरक्षा गार्डलाई अज्ञात व्यक्तिहरुले गोली हानी घाइते बनाएका थिए। उक्त घटनाको जिम्मेवारी पनि सिजन समूहले नै लिएको थियो।

पछिल्लो पटक साताअघि सप्तरीको विष्णुपर चोकमा ड्युटीमा रहेका प्रहरी हबलदार महेन्द्र यादवमाथि गोली प्रहार भएको घटनाको जिम्मेवारीसमेत सिजन समूहले नै लिएको थियो। त्यस्तै ०७५ कात्तिक ६ गते कोसी नदीको बालुवा सफा गर्ने भारतीय ठेकेदार कम्पनीको काम रोकेर धम्क्याउँदै उक्त समूहका कार्यकर्ताले पर्चा छर्नुका साथै ठकेदारसँग ३० लाख रुपैयाँ चन्दा मागेका थिए। चन्दाका लागि पछिल्लो एक महिनादेखि ठेकेदारलाई पटकपटक धम्की दिने कामसमेत भइरहेको एसपी बिष्टको भनाइ छ। बिहीबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एसपी बिष्टले समूहका प्रमुख प्रहरीसँगको मुठभेडमा मारिएको तथा प्रमुख सैन्य कमान्डर ‘निसान थारु’ भनिने पशुपति चौधरी प्रहरी नियन्त्रणमा रहेको जानकारी गराए।

सप्तरीको खड्ग नगरपालिका–६ निवासी ४१ वर्षीय पशुपति अवकाशप्राप्त नेपाली सैनिक हुन्। उनी राष्ट्रिय स्तरका भलिबल खेलाडीसमेत हुन्। उनीमाथि प्रहरीलक्षित बमकाण्ड तथा गोली प्रहारका विभिन्न घटना, चन्दा आतंकलगायतका आरोप लागेका छन्। गोली हानी हत्या गरेको कसुरमा उनीविरुद्ध जिल्ला अदालतबाट म्याद थप भएर अनुसन्धान प्रक्रिया जारी रहेको एसपी बिष्टले बताए। पशुपतिलाई माघ ८ गते कोसी ब्यारेज क्षेत्रबाट पक्राउ गरिएको हो। उनीबाट भएको खुलासाका आधारमा दीपेन्द्रलाई भारतबाट पक्राउ गरेर रुपनीमा प्रहरीले हत्या गरेको आरोप परिवारजनले लगाएका छन्।

परिवारले बुझेनन् शव
यसैबीच बिहीबार सदरमुकाम राजविराजमा मृतकका आफन्तसहित स्थानीय एवं राजपा नेपाल निकटका विद्यार्थीले प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय सप्तरीको मूलगेटमा नाराबाजी गरे। प्रदर्शनपश्चात् आयोजित विरोधसभामा राजपाका केही नेतासमेत सहभागी भए। प्रदर्शनकारीले घटनाको न्यायिक छानबिनसहित दोषी प्रहरीमाथि कारबाहीको माग गरेका छन्।

मृतक चौधरीको शव आफन्त ले अझै बुझेका छैनन्। शव राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: ११ माघ २०७५ ०१:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App