२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

तारकेश्वरमा कलाकारको जेसुम यात्रा

काठमाडौं – चार महिना अघिदेखि सुरु भएको ‘जेसुम यात्रा’को चौथो श्रृंखला तारकेश्वरमा सम्पन्न भएको छ। कला, साहित्य तथा रंगमञ्चलाई माध्यम बनाएर सुरु गरिएको श्रृंखलाको चौथो संस्करणमा कवि, लेखक एवं चित्रकारहरू नुवाकोट–काठमाडौं सीमाना तीनपिप्लेबाट डेढ घण्टाको पैदलयात्रामा २७ गजुरको सुनौलो भुवनेश्वरी मन्दिर, तिब्बती युद्ध आक्रमणको मिथक गाँसिएको ऐतिहासिक पाँचमाने, राजा महेन्द्रले वृक्षरोपण गरेका घना सल्लेरी जंगल हुँदै तारकेश्वर मन्दिर पुगेका थिए।

त्यहाँ पुगेका उनीहरू कलम र कुचीलाई हातमा लिएर कोही जंगलको हरियाली उतार्न व्यस्त भए भने कोही मन्दिरसँगैको बाबाजीको कुटीलाई केन्द्रविन्दुमा राखेर तारकेश्वरलाई सजाउन थाले। सहभागी हरिशरण लामिछानेले सहभागी अन्य कलाकारलाई तारकेश्वरको स्थानीयता, भौगोलिकता, ऐतिहासिक मिथक र जनजीवनसँग सम्बन्धित मौलिकताका विषयमा आफ्ना ज्ञान र अनुभव बाँड्दै गए।  उनी तारकेश्वर नगरपालिकाको तारकेश्वर मन्दिर अवस्थित वडाकै वडा सदस्य पनि हुन्।

तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरा जेसुम टिमलाई तारकेश्वरमा नवनिर्माण भएको भ्यू टावरसम्म पुर्याउने चाहना समेट्न नसकिएकोमा खिन्न थ्एि। स्थानीय अनन्तमणि आचार्य आफैमा पनि चित्रकार भएको तर यस्तो रचनात्मक अभियान गर्न जेसुम यात्राले हौसाएकोमा खुशी देखिए।

आ–आफ्नो कला, सिर्जना बोकेर प्रकृतिलाई सकेसम्म अझ नजिक बनाउँदै जेसुम यात्रीहरू तारकेश्वरबाट ओरालो झरेर वनजंगल रिसोर्टको मौलिक काष्ठकलाको सज्जासँग रमाउँदै आफ्ना प्रस्तुतिहरू सुनाउन र देखाउन तम्सिए। नेपाल ललितकला एकेडेमीका प्राज्ञ बुद्धि गुरूङ, अर्का प्राज्ञ लालकाजी लामाले जेसुम अभियानलाई सशक्त बनाउन युवा सर्जकहरूको सकारात्मक अभियानलाई शुभकामना दिए।

नेपाल एकेडेमीका प्राज्ञ शशी लुमुम्बुले साहित्य, सिर्जना यात्राहरू थुप्रै ठाउँहरूमा भइरहेको तर जेसुमको परिकल्पना फरक सुन्दरता रहेको बताए। स्रष्टाहरू दिपक लोहनी, फूलमान वल, सोम धिमाल, केशवराज खनाल, अनिता लामा, वीरबल तामाङ, सुजाता अधिकारी, मंगल बादे, दीपक लोहनी, विक्रम प्रजापति, कान्छाकाजी भासिमा, प्रकाश मानन्धर, बाबु साँहिला तथा गणेश बुढालगायतले तारकेश्वरलाई केन्द्रभागमा राखेर सिर्जना गरेका रचनाहरू सुनाए। चित्रकारहरूले चित्र प्रदर्शनी गरे। यसपटकको यात्रामा चित्रकार केशवराज खनाल, बाबु साइँला, कान्छाकाजी भासिमा, विक्रम प्रजापति, प्रकाश मानन्धर लगायतले भाग लिएका थिए।

अभियान संयोजक अनिता लामाले जेसुम यात्रा आफ्नो संस्कृति र मौलिकतालाई आधार मानेर सिर्जना गरिने एक सिर्जना यात्रा रहेको बताइन्। ‘हामी विद्रोह र ध्वंसबाट अलिकति अगाडि बढ्ने क्रममा छौं। त्यसैले यो अभियान निर्माणमा लागौं भन्ने अभिप्रेरणाका लागि पनि हो।’ उनले भनिन्।

प्रकाशित: ४ माघ २०७५ ०२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App