२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

न्यु डायमन्डलाई स्तब्ध बनाउँदै एपिएफ च्याम्पियन

काठमाडौं – विभागीय टोली एपिएफले होङवान्जी न्यु डायमन्ड कप दोस्रो खुला राष्ट्रिय महिला भलिबलको उपाधि शनिबार जितेको छ। नैकापस्थित न्यु डायमन्डको कोर्टमा सम्पन्न फाइनल खेलमा साबिकको विजेता आयोजक न्यु डायमन्ड एकेडेमीलाई स्तब्ध बनाउँदै उपाधि जितेको हो।

एपिएफले न्यु डायमन्डमाथि ४–१ सेटमा जित निकाल्न सफल भएको थियो। उपाधिसँगै एपिएफले नगद ३ लाख १ हजार रुपैयाँ प्राप्त गर्यो। उपविजेता न्यु डायमण्डले २ लाख १ हजार रुपैयाँमा चित्त बुझाउनुपर्यो। एपिएफले पहिलो सेट १६–२५ ले गुमाएको थियो। बाँकी सेटमा उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जित्न सफल भयो। दोस्रो सेटमा २५–२१ को रोमाञ्चक जित निकालेको एपिएफले तेस्रो सेट २५–२३ र चौथो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो। फाइनलमा एपिएफकी सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन गर्दा स्पाइकबाट २८, ब्लकबाट १ र सर्भरबाट २ अंक जोडेकी थिइन्।

यस्तै न्यु डायमन्डकी प्रतिभा मालीले स्पाइकमा ३६, ब्लकमा ३ र सर्भरबाट ३ अंक जोडिन्। आठ टोलीलाई सहभागी लिगकम नकआउटका प्रणालीमा सञ्चालन गरिएको प्रतियोगितामा अर्को विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो बन्यो। तेस्रो स्थानका लागि शनिबारै सम्पन्न खेलमा पुलिसले पोखराको टप्स माविलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।

टप्सविरुद्ध पहिलो सेटमा २५–११ को सहज जित निकालेको पुलिसले दोस्रो सेटमा भने २५–२१ को स्कोरमा निराश पारेको थियो। लगातार दुई सेटमा जित निकाले पछि उच्च मनोबलमा रहेको पुलिसले तेस्रो सेटमा पनि सहज जित निकाल्यो। पुलिसले अन्तिम सेटमा २५–१४ को जित निकाल्न सफल भएको थियो।

टप्सविद्ध जित निकालेको पुलिसले नगद १ लाख १ हजार प्राप्त गर्दा चौथो बनेको टप्सले ५१ हजार रुपैयाँ प्राप्त गर्यो। बुधबारबाट सञ्चालन भएको प्रतियोगिताको विधागत उत्कृष्टतर्फ न्यु डायमन्डको वर्चस्व रह्यो भने विजेता टिमकी सरस्वती चौधरीले सर्वोत्कृष्ट खेलाडीको उपाधि जितिन्। सरस्वतीले १५ हजार रुपैयाँ नगद प्राप्त गरिन्।

विधागतमा न्यु डायमन्डकी प्रतिभा माली उत्कृष्ट स्पाइकर घोषित हुँदा न्यु डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर र डायमन्डकै ललितानाथ उत्कृष्ट क्विकर घोषित भए। न्यु डायमन्डकै अनिषा सुनुवार उत्कृष्ट सेटर बन्दा डायमन्डकै झरना श्रेष्ठ उत्कृष्ट सर्भर घोषित भइन्। एपिएफकी उषा बिष्ट उत्कृष्ट ब्लकर चुनिँदा उत्कृष्ट प्रशिक्षकको उपाधि एपिएफका ज्ञानेन्द्र विष्टले प्राप्त गरे। उत्कृष्ट सबैले जनही ५–५ हजार रुपैयाँ हात पारे।

प्रकाशित: २९ पुस २०७५ ०४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App