२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘अनागतमा तड्कभडक छैन’

फिल्म ‘अनागत’का कलाकार बायाँबाट प्रियंका कार्की, रोसिन सुबेदी र अर्पण थापा। तस्बिरः नागरिक

काठमाडौं – एक परिवारका दुई सदस्यबीच शंका उत्पन्न भएपछि आउने परिस्थितिलाई प्रस्तुत गरिएको फिल्म ‘अनागत’ प्रदर्शनका लागि तयार भएको छ। झण्डै तीन वर्ष अघि निर्माण गरिएको यो फिल्म आगामी माघ ११ गतेबाट रिलिज हुन लागेको हो। 

फिल्ममा नायक अर्पण थापा र नायिका प्रियंका कार्की श्रीमान श्रीमतीको भूमिकामा छन्। राजधानीमा बुधबार आयोजित कार्यक्रममा फिल्मका निर्देशक साम्तेन भुटियाले फिल्म सस्पेन्स थ्रिल जनरामा बनेकाले पात्रबीचको शंका उत्पन्न हुने अवस्थालाई देखाइएको बताए। ‘फिल्ममा मैले सोचेको झैं प्रियंका कार्की र अर्पण थापाले आफूलाई प्रस्तुत गरेका छन्।

फिल्ममा अन्य व्यावसायिक फिल्म जस्तो तडकभडक छैन। तर यो यथार्थसँग नजिक रहेको फिल्म हो’, साम्तेनले भने।
नायक अर्पण थापाले आफूले हालसम्म धेरै फिल्म गरिसके पनि ‘अनागत’ आफू नजिक रहेको फिल्म भएको बताए। ‘फिल्ममा रहेको मेरो चरित्रबाट निस्किन मलाई समय लागेको थियो। यसमा म एउटा चित्रकारका रूपमा देखिएको छु’,उनले भने, ‘चित्रकार आफैमा सन्तुलित छ। तर ऊ असन्तुलित भएपछि उब्जिने अवस्थालाई चित्रण गरेका छौं। फिल्मले दर्शकलाई आनन्द दिन्छ।’

नायिका प्रियंका कार्कीले फिल्ममा आफू एक गृहिणीको चरित्रमा देखिने खुलाइन्। ‘मैले फरक भूमिका देखेकै कारण यो चरित्र मनपराएको थिएँ। यो पछि यस किसिमको भूमिका गर्न पाएको छैन’, उनले भनिन्, ‘फिल्मले नजिकबाट जीवनको यथार्थलाई देखाउने प्रयास गरेको छ।’

माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा निर्मित फिल्ममा प्रविण खतिवडा र रोसिन सुबेदीको पनि अभिनय छ। समीर उपाध्याय, चन्द्रकुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटियाले निर्माण गरेको फिल्ममा सिसन बानियाँको छायांकन, चन्द्रकुमार झाको कथा तथा प्रवचन श्रेष्ठ र भुटियाको पटकथा छ।

प्रकाशित: २६ पुस २०७५ ०२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App