२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सामागाउँको आगो अझै नियन्त्रणमा आएन, ५ कस्तुरी मरेको भेटिए

गोरखा– चुमनुब्री गाउँपालिका १ सामागाउँको जंगलमा आइतवार रातीदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन्। मंगलवार पनि आगो लगिरहेको स्थानीयले बताएका छन्, ‘आगो लगिरहेको छ, सोमवार जस्तो मुस्लो ननिस्कएको भएपनि जंगलबाट धुवाँ आइरहेको छ’, घटनास्थलमा पुगेको प्रहरीलाई उदृत गर्दै गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले भने।

मनास्लु पदमार्गमा गएका पर्यटकले खाएको चुरोटको ठुटोबाट आगो सल्किएको स्थानीयले बताएका छन्। घना जंगल आगलागिले सखाप भएको छ। जंगलमा रहेको चराचुरुङ्ग, हिमाली जिवजन्तु आगोमा पोलिएका छन्। मृग, कस्तुरी, डाँफे, झारल लगायतका लोपउन्मुख जनावर धेरै मरेको अनुमान स्थानीयको छ। पाँच वटा कस्तुरी मरेको भेटिसकेको स्थानीयले बताएका छन्। टेलिफोन सम्पर्क कहिलेकाँही मात्रै हुने भएकाले निरन्तर सम्पर्क नहुँदा सूचना लिन पनि कठिन भएको छ। उक्त जंगल संरक्षित क्षेत्र हो। तिब्बतसँग सिमाना जोडिएको हिमाली भेगमा घना जंगल कमै मात्रामा छ। त्यहाँ रहेको प्रहरी युनिटका अनुसार उक्त जंगलमा पुगेर आगो नियन्त्रणमा लिन सक्ने अवस्था छैन। सोमवार जस्तो आगोको मुस्लो नदेखिएको तर धुवाँ निरन्तर आइरहेकाले अब आगो घट्दै गएको अनुमान प्रहरीको छ। घटनास्थल तर्फ गएको अर्को प्रहरी टोली बुधवार मात्रै पुग्ने एसपी रावलले बताए।

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठका अनुसार आगो नियन्त्रणमा लिन नसकेपछि गृहमन्त्रालयसँग हेलिकप्टर मागिएको थियो। ‘अन्य ठाउँपनि आगलागी भएकाले होला, यहाँ हामीले सोमवार पनि केही गर्न सकेनौं, बस्तीमा पुग्ने जोखिम छैन, गुम्बामा असर गर्ने डर छ।’ भिरालो जमिन, चिसो ठाउँ, सदरमुकामबाट धेरै टाढा रहेकाले आगो नियन्त्रणमा लिन कठिन भएको उनले बताए। 

मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख नरेन्द्र लामाका अनुसार उक्त आगोले धुपी, सल्ला, भोजपत्र लगायतका बिरुवा जलेर नष्ट गरेको छ। रातको समयमा चिसो भएपनि बिहान र दिउँसो हावा धेरै चलेकाले आगो झनै दन्किँदै गएको थियो। आगो नियन्त्रणमा लिन स्थानीयले आइतवार राती नै प्रयास गरे पनि नसकेका हुन्। 

आगलागीबाट के कति क्षती भयो भन्नेबारे कुनै जानकारी आएको छैन। मानवीय क्षती नभएपनि थुप्रै जनावर, चराचुरुङ्ग, र बोटबिरुवा जलेर खरानी भएको भन्दै स्थानीय चिन्तित छन्। आगो नियन्त्रणमा लिने प्रयास प्रशासनले नगरेको भन्दै स्थानीयले असन्तुष्टि पोखेका थिए। गोरखा सदरमुकामबाट पाँच दिनको पैदलदुरीमा पुगिने सामागाउँमा सडक खुलेको छैन। खाद्यान्न ढुवानी खच्चड र हेलिकप्टरबाट हुने उक्त दुर्गम ठाउँमा जिल्लाको स्रोत साधनले केही गर्न नसकिने प्रशासकहरु बताउँछन्। यहाँ रहेको नेपाल प्रहरी, शसस्त्र लाई परिचालन गरिएपनि दुर्गम ठाउँ भएकाले औजार लैजान समस्या हुने प्रजिअ श्रेष्ठले बताए। मंगलवार आगो कम भएको खबरपछि हेलिकप्टरबाट नियन्त्रणमा लिने सोमवारको तयारी यसै रोकिएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App