२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सुपर ओभरमा पोखरामाथि विराटनगरको रोमाञ्चक जित

काठमाडौं – पोखरा राइनोजमाथि सुपर ओभरमा ७ रनको रोमाञ्चक जित निकाल्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा लगातार दोस्रो जित दर्ता गरेको छ। पोखरा राइनोजको भने यो लगातार तेस्रो हार हो।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबारको पहिलो इनिङमा दुवै टोलीले समान ८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा विराटनगरले पहिला ब्याटिङ गर्दै २० रन जोड्दै पोखरालाई २१ रनको लक्ष्य दिएको थियो। विराटनगरको लागि करण केसी एक्लैले २० रन जोडे। करणलाई स्ट्राइकमा कप्तान पारस खड्काले साथ दिएका थिए।

जवाफमा २१ रनको लक्ष्य पछ्याएको पोखरा १३ रनमा समेटियो। पोखरालाई १३ रनमा समेटन विराटनगरका विदेशी खेलाडी रोएलोफ भान डेर मेर्वीले उत्कृष्ट बलिङ गरे। यसअघि पोखराले दिएको ८५ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभर ३ बलमा अलआउट हुँदै ८४ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो।

विराटनगरका लागि आसिफ शेखले सर्वाधिक १९ रनको योगदान दिएका थिए। आसिफले १३ बलमा ४ चौंका प्रहार गरेका थिए। त्यस्तै करण केसीले १५, रोबिन क्षेत्री र हरीबहादुर चौहानले समान १२ र रोएलोफ भान डेर मेर्वीले ११ रनको योगदान दिएका थिए। अन्य ६ खेलाडी दोहोरो रन बनाउन असफल भए। विराटनगरलाई ८४ रनमा सकेटन पोखराका विपिन खत्रीले ३, सुसन भारी, विक्रम शोब र पाउल कोगलिनले २–२ तथा शक्ति गौचनले एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभर खेल्दै ७ विकेटको नोक्सानीमा ८४ रनको सामान्य लक्ष्य दिएको थियो।  पोखराका लागि पाउल कोगलिन र राजेश पुलामी मगरले मात्र दोहोरो रनको बनाए।  कोगलिनले २७ बलमा २ चौंकाको सहायतामा सर्वाधिक २० र  मगरले १७ रनको योगदान दिए। पोखराका ७ जना खेलाडीले दोहोरो रनको स्कोर कटाउन सकेनन्।

पोखरालाई सस्तैमा समेटन विराटनगरका पाउल भान मेकेरेनले ३, रोएलोफ भान डेर मेर्वीले २ तथा बसन्त रेग्मी र स्मित पटेलले एक–एक विकेट लिए। यो जितसँगै दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको विराटनगरले २ खेलबाट ४ अंक जोडेको छ। विराटनगरले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई पराजित गरेको थियो।

पोखराको भने यो लगातार तेस्रो हार हो। तेस्रो हारसँगै पोखराको अर्को चरणको यात्रा कमजोर बनेको छ। पोखराको अर्को चरण पुग्ने सम्भावना अब गणितीय हिसावमा मात्र सम्भव छ। पोखरा पहिलो खेलमा भैरहवा र दोस्रो खेलमा ललितपुरसँग पराजित भएको थियो।

आजै हुने दोस्रो खेलमा शरद भेषवाकरको भैरहवा र पृथु बाँस्कोटाको कप्तानीमा रहेको चितवनबीच खेल हुनेछ। दुई टोलीबीचको खेल दिउँसो १ बजे शुरु हुनेछ। चितवनविरुद्ध मैदान उत्रदा भैरहवा लगातार दोस्रो जितको योजनामा हुनेछ। अघिल्लो संस्करणको उपविजेतासमेत रहेको भैरहवाले पहिलो खेलमा पोखरालाई हराएको थियो। चितवन पनि दुई खेलमा पराजित भइसकेको छ । चितवन पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा काठमाडौँसँग पराजित भएको थियो।

प्रकाशित: २५ मंसिर २०७५ ०७:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App