२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

धावक हरिबहादुर भन्छन्, राज्य एकातिर, खेलाडी अर्कातिर

बाँके – लामो दूरीका धावक हरिबहादुर रोकाय प्राय एक्लै हिँडदैनन्। यात्राका क्रममा भेटिँदा खेलाडी छुट्दैनन् उनीसँग। शुक्रबार नेपालगन्ज बिपी चौकमा भेटिँदा हरिसँग थिए जुम्लाका धावक नरेश बुढा, प्रकाश कठायत र रेजिना बस्नेत।

नेपालगन्ज म्याराथनमा भाग लिन आएका हरिको मुहारमा विगतजस्तो चमक थिएन। थाकेको भान भइरहेको थियो। पाँच महिनाअघि नसासम्बन्धी (जिपिएस) रोगले थलिए उनी। तर अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।
शरीरमा केही शक्ति थपिँदै छ। केही आराम भएको महसुस हुनेबित्तिकै नेपालगन्ज म्याराथन यात्रामा निस्किएका रहेछन् उनी।

नेपाली एथलेटिक्समा कीर्तिमानी धावकको छवि बनाएका हरि नयाँ धावक उत्पादन गर्ने लगनशील प्रशिक्षक मानिन्छन्। विश्वकै सर्वाधिक उचाइमा हुने एभरेस्ट म्याराथन जित्ने तीव्र गतिका धावक हुन् उनी। जसले उनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखायो। उनको लगनशीलता नेपाली एथलेटिक्समा उदाहरण बन्ने गर्छ। 

नसासम्बन्धी रोगबाट केही आराम पाउनासाथ भाग लिएको पहिलो प्रतियोगिता हो, नेपालगन्ज म्याराथन। तयारी सन्तोषजनक थिएन। आयोजकले भाग लिन आग्रह गरेपछि तीन खेलाडीसँगै नेपालगन्ज आइपुगे हरि। यसअघि प्रतियोगितामा भाग लिँदा हरि धेरै तनावमा हुँदैनथे। तर शनिबार उनी अप्ठ्यारो महसुस गरिरहेका थिए, नतिजा सोचेर। उनले सोचेभन्दा राम्रो नतिजा आयो। जुम्लाका नरेशले विद्यालयस्तरको ५ किलोमिटर दौडमा प्रथम स्थान हासिल गरे। प्रकाश र रेजिना विद्यालयस्तरमा चौथो स्थानमा रहे। शनिबारको नतिजापछि भने उनको मुहारमा केही मुस्कान थपियो। बिपी चौकमा चेला नरेशले फिनिसिङ लाइन पूरा गरेपछि ताली पिटेर उनले अन्य प्रशिक्षक र अतिथिसँग खुसी साटे।

‘हाम्रो सोच देशको नाम कसरी राख्ने हुन्छ। देशको नाम कसरी उज्यालो पार्ने भन्ने हुन्छ। ३ करोड नेपाली जनताको नेतृत्व गरेर भाग लिन पाउँदा गर्व लाग्छ। तर राज्यले सोच्ने फरक हुन्छ। खेलको महत्व र खेलाडीको मिहिनेत राज्यले बुझ्न सकेको छैन।’

हरिले भने,‘मेरो जीवनमा खुसी हुने क्षण भनेकै यही हो। अरू बेला दिमागमा प्रशिक्षण कसरी राम्रो गर्ने। खेलाडीलाई कसरी मिहिनेत गर्न सिकाउने भन्नेमा ध्यान हुन्छ। यस पटक धेरै समय सिकाउन पाएको थिएन। प्रशिक्षण सोचेजस्तो थिएन। तर खेलाडीले प्रथम स्थान हासिल गरे। खुसी छु।’

शनिबार उनले मुहारमा देखिएको खुसी भने क्षणिक हो। ५७ वर्षे हरि भन्छन्, ‘यस्ता सफलतामा केहीबेर खुसी हुन्छु। तर म खुसी हुनका लागि मेरो सपना पूरा हुनुपर्छ। त्यो हो जुम्लामा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर र जुम्ला सदरमुकाममा रंगशाला निर्माण गर्ने।’ देशभरका धावक जुम्लामा आएर प्रशिक्षण गर्ने वातावरण बनोस् भन्ने चाहना छ उनको। जुम्ली मौसममा दौडने धावक बलियो र सफल हुने विश्वास गर्छन् हरि। उनले थपे, ‘विश्वका उत्कृष्ट खेलाडीले हाई अल्टिच्युटमा प्रशिक्षण गर्छन्। त्यसका लागि जुम्ला उपयुक्त ठाउँ हो।’

कर्णाली स्पोर्टस क्लबमार्फत जुम्लामा एथलेटिक्स संस्कार बढाइरहेका हरिको सपना पूरा गर्ने केही आधार बनिसकेको छ। सरकारले यस वर्ष २० लाख रुपैयाँ हाई अल्टिच्युट प्रशिक्षणका लागि मैदान बनाउन सुरुआत गरेको छ। सरकारको लगानी ढिलै भए पनि सुस्त गतिमा भइरहेको छ। यसले हरिको सपना पूरा हुने संकेत गर्छ। तर सन् १९९२ को समर ओलम्पिकका अनुभवी हरिको मनमा एउटा प्रश्नले सधैं तर्साइरहन्छ, खेलाडीको भविष्य के होला ? खेलाडीलाई अझै खेलेर जीवन धान्न कठिन भएको अनुभव छ उनीलाई । टिक्न मुस्किल छ खेलमा।

हरि भन्छन्, ‘राज्य एकातिर छ हामी खेलाडी अर्कातिर। हाम्रो सोच देशको नाम कसरी राख्ने हुन्छ। देशको नाम कसरी उज्यालो गर्ने भन्ने हुन्छ। ३ करोड नेपाली जनताको नेतृत्व गरेर भाग लिन पाउँदा गर्व लाग्छ। तर राज्यले सोच्ने फरक हुन्छ। खेलको महत्व र खेलाडीको मिहिनेत राज्यले बुन सकेको छैन।’

प्रकाशित: ९ मंसिर २०७५ ०४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App