२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निकुञ्जका नयाँ पाहुना

चितवन निकुञ्जको हात्ती प्रजनन् केन्द्रमा रहेका गणेशकली र छावा। तस्बिरः सविता/नागरिक

चितवन - चितवन राष्ट्रिय निकुञ्जमा नयाँ सदस्य थपिएका छन्। निकुञ्जमा पालिएका हात्तीमा तीन नयाँ सदस्य थपिएका हुन्। निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्रको दुई र कसरामा रहेको हात्तिसारको एक हात्तीले बच्चा जन्माएका छन्। पछिल्लोपटक कसरामा रहेको तमरकलीले मंसिर ३ गते भाले छावा जन्माएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए।

हात्ती प्रजनन् केन्द्रमा रहेका पुजाकली र गणेशकली हात्तीले असोज र कार्तिक महिनामा बच्चा जन्माएका हुन्। प्रजनन् केन्द्र घुम्न पुग्ने स्वेदेशी र विदेशी पर्यटक दुई छावा देखेर रमाउने गरेका छन्। हात्तीका छावा यतिबेला ‘नयाँ टुरिज्जम प्रडक्ट’ बनेको उनले बताए। ‘कसरामा रहेको हात्तीबाट एक/डेढ महिनापछि बच्चा होला भन्ने अनुमान थियो,’ उनले भने, ‘हाम्रो अनुमानभन्दा अचानक छिट्टै बच्चा भयो।’

कृष्ण दराई १२ वर्षदेखि प्रजनन् केन्द्रमा पछुवाको काम गर्दै आएका छन्। उनले हेरचाह गर्दै आएको १४ वर्षीय लोकतन्त्रकलीले यस वर्ष पहिलो बच्चा जन्माउँदैछ।

जन्मिएका तीनवटा हात्तीमा दुईवटा भाले र एउटा पोथी छन्। यस वर्ष प्रजनन् केन्द्रमा ४० वर्षीय लक्ष्मण चौधरीले हेर्दै आएको पुजाकलीले पहिलो बच्चा जन्माएको हो। जन्मिएको बच्चाको नाम रुद्राक्षकली राखिसकिएको छ। पुजाकलीसँग रुद्राक्षकलीभन्दा पहिले जन्मिएको बच्चा खोरसोर गज पनि रहेको छ। खोरसोर गज तीन वर्षको पुगिसकेको छ। यी तीनवटै हात्तीको रेखदेख लक्ष्मणले गरिरहेका छन्। करिब ३५ वर्षको पुजाकलीको हेरचाह १६ वर्षदेखि आफूले गरेको उनी बताउँछन्।

पुजाकलीले अहिलेसम्म ३ पोथी र ३ भाले बच्चालाई जन्माएको उनले बताए। हात्ती सुत्केरी भएपछि सामान्यभन्दा बढी हेरचाह गर्नुपर्ने उनी बताउँछन्। ‘माउलाई सुत्केरी खाना खिर बनाएर खुवाइन्छ,’ उनी भन्छन्, ‘समयमै खानेकुरा र भिटामिन दिने गरिन्छ।’ हात्ती जन्मिँदा ८०/९० केजी हुने उनले बताए। एउटा हात्तीको हेरचाह गर्नका लागि फणित, पछुवा र माहुत व्यवस्था गरिएको हुन्छ। कृष्ण दराई १२ वर्षदेखि प्रजनन् केन्द्रमा पछुवाको काम गर्दै आएका छन्। उनले हेरचाह गर्दै आएको १४ वर्षीय लोकतन्त्रकलीले यस वर्ष पहिलो बच्चा जन्माउँदैछ।

गर्भवती हात्ती भएकाले उनले लोकतन्त्रकलीको विशेष हेरचाह गर्दै आएका छन्। हात्तीले गर्भिणी भएको २२ देखी २४ महिनाभित्र बच्चा पाउँछ। ‘१९ महिना भयो, चराउन धेरै टाढा लैजानुहुँदैन,’ उनी भन्छन्, ‘घाँस राम्रो दिने, नुहाइदिने, सरसफाइ गरिदिने गरिन्छ।’ केन्द्रमा रहेका हात्तीलाई बिहान १० बजे चराउन जंगल लगिन्छ। दिउँसो ३ बजे फर्काएर ल्याइन्छ। बच्चा जन्माएको एक महिना जति भने चराउन लगिँदैंन। प्रजनन् केन्द्रमै राखेर स्याहारसुसार गरिन्छ।

अहिले निकुञ्जमा प्रजनन् केन्द्र, हात्तीसार र पोष्टमा गरी १३ स्थानमा हात्ती राखिएका छन्। पोष्टमा राखिएका हात्ती पनि बच्चा जन्माउने बेला हुन लाग्दा प्रजनन् केन्द्रमा लैजाने गरिन्छ। कसरामा रहेको तमरकलीलाई पनि एक महिनापछि प्रजनन् केन्द्र लगिने प्रमुख संरक्षण अधिकृत ढकालले बताए। बच्चा राम्रोसँग हिँड्न सक्ने भएपछि हेरचाहका लागि केन्द्रमा लगिने उनले बताए।

भर्खर जन्मिएका तीन हात्ती सहित चितवन निकुञ्जमा ५५ हात्ती रहेको उनी बताउँछन्।। कोशी टप्पुका पाँच वटा हात्ती पनि काजमा निकुञ्ज ल्याईएका छन्। प्रजनन् केन्द्रमा रहेका तीन हात्ती र पोष्टमा रहेका दुई हात्ती गर्भिणी छन्। जंगली हात्तीसँगको समागमबाट निकुञ्जका हात्तीले बच्चा जन्माउने गरेका छन्। सामान्य तया हात्तीले तीन वर्षको फरकमा बच्चा जन्माउँछ। हात्ती प्रजनन् केन्द्र सन् १९८२ मा स्थापना गरिएको हो। हात्तीका बच्चा चार वर्षको पुगेपछि आमाबाट अलग राखेर तालिम दिईन्छ। माहुतको निर्देशनमा बस्न, उठ्न, हिँड्न सिकाइन्छ।

संरक्षणका हिसाबमा हेर्दा पनि हात्ती भनेको निकुञ्जको लागि लाइफ लाइन भएको प्रमुख संरक्षण अधिकृत ढकाल बताउँछन्। हात्तीबिना निकुञ्जको भित्री एरियामा गस्ती पनि सम्भव नरहेको उनले बताए। पहिला पर्या पर्यटनका लागि सौराहामा मात्रै हात्ती राख्ने गरिन्थ्यो। जंगल सफारीमा प्रयोग गरिन्थ्यो। अहिले सफारीमा निजी व्यवसायीका हात्ती प्रयोग गरिन्छन्। निकुञ्जका हात्ती सफारी र पर्यटनका लागि प्रयोग गरिँदैनन्।

निकुञ्जमा रहेका हात्ती संरक्षणका लागि विशेषगरी गस्ती लागि उपयोग गर्ने गरिएको छ। निकुञ्जमा पालिएका हात्तीको संख्या बढ्नु सुखद् कुरा भए पनि दरबन्दी व्यवस्थापन नहुँदा समस्या भएको प्रमुख संरक्षण अधिकृत ढकाल बताउँछन्। एक हात्तीका लागि तीनवटा स्थायि दरबन्दी हुनुपर्ने भए पनि अहिले एक मात्र स्थायी रहेको उनले बताए।

प्रकाशित: ८ मंसिर २०७५ ०२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App