२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

महिला प्रहरीको भाइटीका डियुटीमै

म्याग्दी – प्रहरी सेवामा प्रवेश गरेको ६ वर्ष पुगिसक्दा पनि अर्घाखाँचीकी मिना बुढाथोकीले एक पटक पनि भाइटीकामा दाइको निधारमा टीका लगाउन पाएकी छैनन्। उनको दाइको निधारमा सप्तरंगी टीका र सयपत्री माला लगाउने रहर रमरमै सिमित छ। बुढाले वितेका हरेक तिहारमा दाइलाई फोनबाटै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तीको कामना गर्ने गरेकी छन्।

बुढाथोकी जस्तै जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत गुल्मीकी मनकुमारी कुँवर, अर्घाखाँचीकी ममता भट्टराईको पनि तिहार कार्यक्षेत्रमै बित्ने भएको छ। चाडपर्वमा परिवार र आफन्तको चाहना घरमै आउन भन्ने भएपनि महत्वपूर्ण जिम्मेबारी काँधमा रहेकाले कार्यक्षेत्रबाट घर जान नपाएको उनीहरुले बताए। ‘एउटा दाई हुनुहुन्छ, चाडपर्वको रौनकता सुरु भएपछि विदा मिलाउन अनुरोध गर्नुभएको थियो’, प्रहरी जवान बुढाथोकीले भनिन्, ‘चाडपर्वमा नागरिकको सुरक्षा दिने महत्वपूर्ण जिम्मेबारी काँधमा रहेकाले पनि डिउटीमै तिहार मनाउनु हाम्रो बाध्यता जस्तै बनेको छ।’ उनले चाडपर्वमा अन्य समय भन्दा झनै बढी जिम्मेवारी हुने बताइन्।

सेवामा प्रवेश गरेको दुई वर्षसम्म तीज, दसैं तिहारमा आँखा रसाउने गरेपनि विस्तारै राष्ट्रसेवक कर्मचारी भएपछि चाडपर्वलाई पनि सजिलै सामाना गर्न सकिने उनले बताइन्। ‘बाल्यकालमा चाडपर्वमा रमाउने गरेको सम्झना आउँछ, तिहारमा दिदीबहिनी आवतजावत गरेको देख्दा विगतको सम्झना आउँछ’, बेनी नगरपालिकाको कार्यालय अगाडी सुरक्षामा खटिएकी ममता भट्टराईले भनिन्। उनले चाडपर्व बाहेक अन्य समय अनुकुल पारेर विदामा जाने गरेको बताइन्। उनले शान्ति, सुरक्षा प्रदान गर्ने जिम्मेबारी प्राप्त गर्नु नै सन्तुष्ट हुनुको प्रमुख आधार भएको बताइन्। म्याग्दीमा १६ जना महिला प्रहरीमा कार्यरत छन्।

इलाका प्रहरी कार्यालय दरवाङ ३, भुरुङ तातोपानी २, जिल्ला कारागार २ जना बाहेक सबै प्रहरी कार्यालय बेनीमा छन्। यता प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढामगरले चाडपर्वमा सुरक्षाकर्मीको जिम्मेबारी थपिने भएकाले पनि कार्यालयभित्रै चाडपर्व मनाउने गरेको बताए। ‘हामीले धेरै दसैं तिहार कार्यालय भित्रै मनाएका छौ,’ उनले भने, ‘तल्ला तहका जवानलाई चाडपर्वमा निरास हुन दिइन्न।’

‘तिहारमा कार्यालय भित्रै भाइ टीका लगाउँछन्,’ उनले भने, ‘यो पनि एउटा घर परिवार नै हो।’ उनले चाडपर्वमा सर्वसाधारणलाई सहरदेखी गाउँसम्म सुरक्षाको वातावरण सिर्जना गर्न तल्लिन प्रहरीलाई समान्य समयमा विदा दिने गरेको बताए। चाडपर्वमा प्रहरी जवानको मनोबल उच्च बनाउन डियुटी समय बाहेक नाचगानसहित रमाइलो गर्ने गरेको बताए। म्याग्दी प्रहरीले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको सुरक्षा योजनाले अपराधीक गतिविधिलाई निस्तेज पार्न सफल भएको जनाइएको छ।

प्रकाशित: २३ कार्तिक २०७५ ०६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App