२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

१० मुक्तक

गौरीशंकरकी छोरी हुँ, लेकबेंसी हिउँसँग खेलेर आएँ,
अभाव, प्रभाव, वैभाव र पीडा सबै आफैंले झेलेर आएँ ।
डराइनँ कहिल्यै कसैसँग अन्यायको विरुद्ध लड्दाखेरी,
बाटामा भयंकर पहाड थिए ती सबैलाई पेलेर आएँ ।
...
संसारको भोग जति नै गरूँ तुप्ति हुन्न बरु भोगी बनिन्छ,
जति खायो उति राग बढ्छ तृप्ति हुन्न बरू रोगी बनिन्छ ।
संसारभित्रै भौतारिन्छ मान्छे आफ्नै क्लेशको भुमरीमा,
निर्वाणका लागि योग गरे अतृप्ति हुन्न बरू योगी बनिन्छ ।
...
जीवन सफल हुन धर्म, अर्थ, काम र मोक्ष सबै पुरा हुनु पर्छ,
यसका बारेमा अध्ययन र अनुसन्धान हुनुपर्छ, कुरा हुनु पर्छ ।
दर्शन र मनोविज्ञान विनाको साहित्य अपांगजस्तै हुन्छ,
त्यसैले जति सक्दो दर्शन र साहित्य सबैमा छुरा हुनु पर्छ ।
...
दया र करूणाले सिञ्चित हृदय अरुको दुःख देख्दा रसाउँछ,
निश्छल र पवित्र मनको बासना टाढासम्म मग्मगाउँछ ।
फलको आशै नराखि राम्रै मात्र काम गरी नै रहियो भने
त्यो हृदयमा निश्चय नै एकदिन बोधिज्ञानको बिउ पसाउँछ ।
...
संसारबाट विरक्तिएको मान्छे यसबाट टाढा भाग्छ सधैं,
अनित्य, अनात्मा र दुःख बुझेर निर्वाणमा लाग्छ सधैं ।
रोग, द्वेष र मोहबाट विचलित हुँदै हुँदैन संयमित हुन्छ,
क्लेशको निद्राबाट ब्युझिँदै हरक्षण हरपल जाग्छ ।
...
बाल हठ, स्त्री हठ र मुर्ख हठ अति नै जिद्धि हुन्छ,
यसबाट माथि उठि घनघोर तपस्या गरे सिद्धि मिल्छ ।
सिद्धि प्राप्त गर्न सही निवार्णको मार्गमा लाग्नु पर्छ,
सिद्ध हुँदा लक्षण देखिन्छ त्यहाँ पक्कै ऋद्धि हुन्छ ।
...
घनघोर समस्या र दुःखको सागर म एक्लै तर्न सकुँ,
कसैसँग पनि हारगुहार नगरुँ, सामना एक्लै गर्न सकुँ ।
संसारमा सबै सँगै बसे पनि अलग हुन्छ संसार सबैको,
जिन्दगी जति दुख्छ दुखोस् तर हाँसेर एक्लै मर्न सकुँ ।
...
त्यागमा कति मजा हुन्छ, त्यो पिएर त हेर्नुस,
अरूका लागि ज्यूँनुमा के छ, जिएर त हेर्नुस् ।
त्यागको नशै बेग्लै, हुन्छ पिउने मान्छे एक्लै,
स्वार्थ त्यागेर त्यागको मजा लिएर त हेर्नुस् ।
...
सायद फूल र काँडालाई एक–अर्कामा चाह हुन्न,
सधैं सँगसँगै हुँदाहुँदै पनि गुण–अवगुण थाहा हुन्न ।
सबैले फूलको प्रशंसा गर्दै काँडाको निन्दा गर्छन्,
तैपनि फूललाई घमण्ड र काँडालाई डाह हुन्न ।
...
दुनियाँका नाटक हैन, आफ्नै मनलाई हेर्ने गर,
अरूको सुराकी नगर आफ्नै मनलाई केर्ने गर ।
यति गर्दागर्दै पनि नियन्त्रण राख्न सकिएन भने,
चारैतिर मनकै सिपाही खटाई मनलाई घेर्ने गर ।

प्रकाशित: १० कार्तिक २०७५ ०२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App