२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

श्रीकृष्ण र कूटनीति

तपाईं भन्नुस्, ‘अध्यात्म मेरो रुचिको विषय हो, त्यसैले आध्यात्मिक साधनामा विशेष ध्यान दिइरहेको छु ।’
अब तपाईंलाई भौतिक संसारमा कुनै रुचि छैन । तपाईं आफूले गरिरहेको पेशामा सफल बन्न चाहनुहुन्न । तपाईंलाई विपरीतलिङ्गीप्रति कुनै आकर्षण छैन । तपाईं पैसा कमाउनतिर पनि लाग्नुहुन्न किनभने पैसालाई महङ्खवहीन सम्झनुहुन्छ । तपाईंका साथीभाइ, इष्टमित्र सबैले यस्तै सोच्छन्।

कतिपय मानिस त आफ्नो घरपरिवारसँगको सम्बन्ध, नोकरी आदि छुट्छ भनेर आध्यात्मिक साधना गर्नदेखि डराउने गरेका पनि पाइन्छन् । उनीहरूको सोचअनुसार जवान होउञ्जेल भौतिक सफलताका पछाडि दौडने हो र बूढेसकाल लागेपछि धर्म–अध्यात्ममा लाग्ने हो।

कतिपयले त भन्ने नै गर्छन्, यदि सबै मानिस भौतिक संसार त्यागेर अध्यात्ममा लागे भने संसार कसरी चल्छ ? अहिले भइरहेको विकास हुन कसरी सम्भव हुन्छ?

यसरी एकपक्षीय सोच राख्नेहरुका लागि उनीहरूकोे सोच गलत हो भन्ने गतिला उदाहरण हुन्, श्रीकृष्ण । अनि आध्यात्मिक साधना र भौतिक सफलतालाई सँगै लान सकिन्छ र जीवनलाई सही तरिकाले बढाउनका लागि दुवै आवश्यक पनि छन् भन्ने दृष्टिकोणबाट हेर्ने सीमित मानिसहरूका लागि पनि आदर्श पात्र हुन् श्रीकृष्ण ।

श्रीकृष्णलाई राम्रोसँग बुझ्ने हो भने तपाईं कसैसँग प्रेममा डुबिरहँदा पनि आध्यात्मिक बन्न सक्नुहुन्छ । राजनीति गर्नुस्, व्यापार गर्नुस्, जागिर खानुस् या जेसुकै गर्नुस्, सबै अवस्थामा आध्यात्मिक बन्न सक्नुहुन्छ । ध्यान–साधनामा निरन्तर अगाडि बढिरहन गर्न सक्नुहुन्छ ।

श्रीकृष्णले बर्बरीकमा कत्तिको क्षमता छ र आफ्ना लागि कत्तिका हानिकारक छन् भनेर आफ्नै आँखाले हेर्ने सोच बनाएका थिए । त्यसैले उनले भने– ‘यदि यस रूखका सबै पातहरू एउटै तीर प्रहार गरेर प्वाल पार्न सक्यौ भने मैले तिमीलाई साँच्चैको वीर मान्नेछु।’ बर्बरीकका लागि यस्तो गर्नु सामान्य कुरा थियो ।

आफ्नो पेशामा आध्यात्मिक साधनालाई जोड्ने हो भने त्यस पेशामा झन् सफल बनिन्छ, किनभने आध्यात्मिक स्वभावको मान्छेमा एकाग्रता स्वतः बढी हुन्छ । त्यसैले उसले हरेक काम मजाले डुबेर गर्न सक्छ । उसमा सफलता र असफलता दुवै अवस्थालाई सहजै स्वीकार गर्न सक्ने क्षमता विकसित अवस्थामा हुन्छ । यही क्षमताका कारण दुवै अवस्थामा हरेश नखाई निरन्तर अगाडि बढिरहन सक्छ ।
यदि अध्यात्ममा मात्रै लाग्छु भनेर सबै चिज छाडी लाग्नुभयो भने भौतिकताले तानिरहने पक्का छ, किनभने हाम्रोजस्तो विकासोन्मुख देशका अधिकांश मानिसको जीवन दैनिक गुजारा चलाउनका लागि सङ्घर्ष गर्नमै बितिरहेको हुन्छ । उनीहरूले भौतिक सुखको राम्रोसँग अनुभव गर्न पाएकै हुँदैनन् । आफूले अनुभव गर्न नपाएको चिज पाउने इच्छा मनभित्र गडिएको हुन्छ । परिणाम, अध्यात्म आनन्ददायक नभएर पीडादायक बनिदिन्छ । यस्तो अवस्थामा तपाईं न भौतिक रूपमा सफल बन्न सक्नुहुन्छ, न आध्यात्मिक रूपमा । अन्तिममा केही पनि प्राप्त नगरी तपाईं तनावमा पुग्नुहुन्छ । अति तनावका कारण औषधि नै सेवन गर्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न । अहिलेको हाम्रो समाजमा यही स्थिति टड्कारो रूपमा देखिएको पाउन सकिन्छ।

श्रीकृष्णको जीवनले त्यस्तो सिकाउँदैन । बरु सबै काम डुबेर गर, तर मोह नराखी भनेर सिकाउँछ । मोह नराखी गरिएको कार्यले संस्कार बनाउँदैन र त्यसको फल भोग्नुपर्दैन भनेर श्रीकृष्णबाट सिक्न सकिन्छ ।  

उनी शास्त्रका एक यस्ता पात्र हुन्, हरेक काम पूरै तन्मयका साथ गरिरहेका हुन्छन् । गोठाला बन्छन् तन्मयताका साथ, वाद्य वादन गर्छन् तन्मयताका साथ, रासलीला रचाउँछन् तन्मयताका साथ, युद्ध गर्छन् तन्मयताका साथ, अनि कूटनीति प्रयोग गर्छन् तन्मयताका साथ । उनको जीवनमा यस्तो गर्न हुन्छ र यस्तो गर्न हुँदैन भन्ने कुनै रोकटोक नै छैन । आफ्ना अगाडि आएका हरेक समस्यामा उनी समयको मागअनुसार व्यवहार गर्छन् । मानवीय स्वभावअनुसार गरिने सम्पूर्ण गुण उनको जीवनमा स्पष्ट देख्न पाइन्छ ।

श्रीकृष्ण सफल राजनेता पनि हुन् । उनले विविध अवस्थामा विभिन्न नीतिको प्रयोग नगरेका हुन्थे भने असुर स्वभावका मानिसहरूको निरङ्कुशताका कारण दुःख पाइरहेका जनताले अझै दुःख पाउने थिए । व्यक्तिगत स्वतन्त्रता भन्ने चिज नै बाँकी रहने थिएन ।

त्यसैले श्रीकृष्णलाई राजनीति र कूटनीतिमा दक्ष मानिन्छ। सामान्य दृष्टिले हेर्दा उनले छल गरेको जस्तो लाग्छ, तर राम्रोका लागि छल गरेका थिए । छल नगरेका भए पाण्डव पक्षले युद्ध जित्न सक्ने सम्भावनै थिएन । हुन त यही कारणले उनको आलोचना पनि गर्ने गरिन्छ । तर उनले यस्तो नगरेका हुन्थे भने अधर्मको जीत हुने पक्का थियो । त्यसैले भन्न सकिन्छ सत्यलाई जोगाउनका लागि कहिलेकाहीँ विभिन्न कूटनीतिको प्रयोग पनि गर्न सकिन्छ। 

हुन त, श्रीकृष्णलाई जुनसुकै पाटोबाट पनि व्याख्या गर्न सकिन्छ, तर यहाँ उनले अपनाएका केही कुटनीतिका बारेमा उल्लेख गरिन्छ–
१. भीमका नाति बर्बरीक त्यस बेलाका सबैभन्दा उत्कृष्ट धनुर्धर थिए । उनले धर्नुबाण चलाउने हो भने शत्रुपक्षका एक योद्धा पनि बच्न सक्ने थिएनन् । यो कुरा श्रीकृष्णलाई थाहा थियो ।

बर्बरीकले युद्ध मैदानको बीचमा पीपलको रूखमुनि उभिएर ‘जसले हारिरहेको हुनेछ, उसको पक्षबाट युद्ध गर्नेछु’ भनेर घोषणा गरेका थिए ।

श्रीकृष्ण र अर्जुन उनको वीरता हेर्न भनेर त्यहीँ गए । श्रीकृष्णले बर्बरीकमा कत्तिको क्षमता छ र आफ्ना लागि कत्तिका हानिकारक छन् भनेर आफ्नै आँखाले हेर्ने सोच बनाएका थिए । त्यसैले उनले भने– ‘यदि यस रूखका सबै पातहरू एउटै तीर प्रहार गरेर प्वाल पार्न सक्यौ भने मैले तिमीलाई साँच्चैको वीर मान्नेछु ।’

बर्बरीकका लागि यस्तो गर्नु सामान्य कुरा थियो । उनले आफ्नो तीरलाई अभिमन्त्रित गरेर रूखमा प्रहार गरे ।
तीरले एकएक गरेर सबै पातहरूलाई प्वाल पार्दै गयो । त्यही क्रममा एउटा पात खस्यो । श्रीकृष्णले त्यस पातलाई प्वाल पर्नबाट बचाउन भनेर आफ्ना खुट्टाले दबाए । सबै पातहरू छेडिएपछि बर्बरीकको तीर कृष्णको खुट्टानजिकै आएर रोकियो ।

बर्बरीकले श्रीकृष्णलाई खुट्टा हटाउन अनुरोध गरे । होइन भने श्रीकृष्णको खुट्टासमेत प्वाल पारेर पातसम्म तीर पुग्ने उनको भनाइ थियो ।

यसरी बर्बरीकको क्षमता प्रत्यक्ष देखेपछि श्रीकृष्ण चिन्तित भए किनभने बर्बरीकले हार्ने पक्षलाई सहयोग गर्ने प्रतिज्ञा गरेका थिए र यदि कौरव पक्षले हार्यो र उनले पाण्डवको विरुद्धमा युद्ध गरे भने सबै सेनालाई एउटै तीरले नाश गरिदिन सक्थे ।

श्रीकृष्णले आफ्नो कूटनीति प्रयोग गरी बिहानको समयमा ब्राह्मण बनेर बर्बरीकको शिविरको द्वारमा पुगे र दान मागे । बर्बरीकले के चाहिन्छ भनेर सोधेपछि ब्राह्मणरूपी श्रीकृष्णले चलाखी अपनाउँदै बर्बरीकलाई वचन बाँध्न लगाएर उनको शिर मागे।बर्बरीकले वचन हार्न नसकेर आफ्नो शिर दिए। यसरी युद्धमा पाण्डवलाई हराउन सक्ने एक योद्धाको कमी भयो ।  

२. कुन्तीपुत्र कर्णसँग जन्मजात रहेको कवच र कुण्डल होउञ्जेल उनलाई कसैले पनि मार्न सक्ने थिएन । फेरि उनले अर्जुनलाई मारेरै छाड्ने, नभए आफू अर्जुनद्वारा मर्ने भनेर प्रतिज्ञा गरेका थिए । उनी दानवीर, नीतिवान् र संयमशील पनि थिए । यो कुरा श्रीकृष्णले राम्रोसँग बुझेका थिए । अर्जुनको सुरक्षाका लागि श्रीकृष्णले कर्णसँग पनि कूटनीतिक खेल खेले ।

श्रीकृष्णले कर्णको दानी स्वभावको फाइदा उठाउँदै देवराज इन्द्रलाई ब्राह्मण बनेर कवच र कुण्डल दान माग्न लगाए । कर्णले आफूले बोलेको वचन पूरा गर्दै कुण्डल र कवच दिए । यही कारणले पाण्डव युद्धमा कर्णबाट पनि सुरक्षित रहे ।

३. कौरवका तर्फबाट युद्ध लडेका भीष्म पितामहले पाण्डव पक्षका कैयौँ सेना मारेपछि श्रीकृष्णका लागि उनी टाउको दुखाइ बनेका थिए । भीष्मले अर्जुनलाई घाइते बनाएर उनको रथलाई जर्जर पारिदिए । उनी जीवित रहने हो भने पाण्डवले युद्ध हार्ने पक्काजस्तै अवस्था बनिसकेको थियो । यस्तो अवस्थामा आफ्नो पक्षलाई जिताउनका लागि श्रीकृष्णले कूटनीतिक उपाय अपनाए ।

उनले पाण्डवलाई भीष्मसँग उनको मृत्युको उपाय सोध्न लगाए । पाण्डवले उनले भनेजसतै गरी यस विषयमा जिज्ञासा राखेपछि भीष्मले आफ्नो मृत्युको उपाय बताइदिए । त्यो उपाय थियो, नपुंसकका सामुन्ने आफ्नो शस्त्र नउठाउने ।
श्रीकृष्णले भीष्मलाई हराउनका लागि आफ्नो भेदनीति प्रयोग गरी शिखण्डीलाई उनको सामुन्ने गएर युद्ध गर्न अह्राए, किनभने शिखण्डी स्त्री भएर जन्मेका र पछि पुरmष बनेका थिए । शिखण्डी आफूसँग युद्ध गर्न आएपछि भीष्मले आफ्नो शस्त्र प्रयोग गरेनन् । यही मौकाको फाइदा उठाउँदै श्रीकृष्णले भीष्मलाई बाण हान्नका लागि अर्जुनलाई उक्साए । भीष्म अर्जुनको बाण प्रहारबाट बाणश्ययामा पुगे । यसरी पाण्डवलाई हराउने क्षमता भएका अर्का वीर योद्धाबाट श्रीकृष्णले कूटनीति गरेर आफ्नो पक्षलाई सुरक्षित बनाए ।  

४. भीष्म बाणशै्ययामा पुगेपछि द्रोणलाई कौरवका सेनापति बनाइयो। द्रोणले पाण्डव सेनाको भीषण संहार गर्न थाले । उनले यस्तै गरी युद्ध गर्दै जाने हो भने पाण्डव पक्षको हार लगभग सुनिश्चित थियो। यस्तो अवस्थामा श्रीकृष्णले भेदनीतिकै प्रयोग गरे ।

युुधिष्ठिरले झूटो बोल्दैनन् भन्ने सबैलाई थाहा थियो । त्यसैले भीमद्वारा अश्वत्थामा नाम गरेको हात्ती मार्न लगाइयो । भयङ्कर युद्ध चलिरहँदा ‘अश्वत्थामा मारिए’ भनेर हल्ला फैलाइयो । आफ्नो छोरो अश्वत्थामा मारियो भन्ने सुनेपछि द्रोणले विश्वास गर्ने सकेनन् र युधिष्ठिरले सत्य बोल्छन् भन्ने विश्वास गरेर उनलाई ‘अश्वत्थामा मारिएको हो कि होइन’ भनेर सोधे । सत्यवादी युधिष्ठिरले भने– ‘हो अश्वत्थामा मारियो ।’ उनको यो भनाइ द्रोणले सुने । युधिष्ठिरले त्यसभन्दा पछाडि पनि मसिनो स्वरमा भने, ‘तर हात्ती !” उनको यो कुरा द्रोणले सुनेनन्।  

आफ्नो नमरेको छोरो मर्यो भन्ने ठानेर द्रोणले सबै शस्त्र त्यागिदिए। उनी निहत्था भएको मौकामा द्रौपदीका दाई धृष्टद्युम्नले तरबारले हानेर द्रोणको शिर शरीरबाट छुट्याइदिए।

यसरी श्रीकृष्णले विविध अवस्थामा प्रयोग गरेको नीतिको बलमा पाण्डवले युद्ध जिते। सत्यको जित र असत्यको हार भयो ।

प्रकाशित: १७ भाद्र २०७५ १०:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App