२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

डोल्पाली हामी खेलौना हौँ?

“मैले राजीनामा दिने भन्ने निश्चित हो तर कहिले दिने भन्ने टुंगो नलागेकाले आफ्ना मतदाताको रायसुझाव लिन जिल्ला पुगेको हुँ। राजीनामा दिन्छु, दिनैपछर्,” सांसद तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले गृह जिल्ला डोल्पामा डोल्पालीमाझ भनेको कुरा हो यो।

पदमा बसेको व्यक्तिले आफैँ अक्षम छु भनेर राजीनामा दिन पाउने संवैधानिक अधिकार प्रयोग गर्न पाइन्छ। तर राजीनामा दिने पक्का नै भइसकेपछि आफ्ना मतदाताको धारणा बुझ्न आएको भन्ने नौटंकी किन गरिएको होला? त्यो भन्दा आधारभूत प्रश्न : २०७४ पुसमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सबैभन्दा बढी मत प्रतिशत पाएका शक्तिमान सांसद किन राजीनामा दिने मुडमा पुगे होलान्? यी विचारणीय जिज्ञासाको जवाफ जनताको स्वाभिमानमा चोट पर्ने गरी, लोकतन्त्रको मर्म मर्नेगरी सार्वजनिक भएको छ।

गएको निर्वाचनमा पराजय हात पारेका तत्कालीन नेपाल कम्युनिस्ट पर्टी (एमाले) का वामदेव गौतमलाई आफू सदनमा हुनुपर्ने हुटहुटी नमरेपछि दुर्गम डोल्पाको प्रतिनिधित्व गर्ने धनबहादुर बुढा निशानामा परेका हुन् । पराजित भईकन पनि सत्ताको सपना देख्ने नेता गौतमको यो बानी २०६४ को पुनरावृत्ति हो। संविधानसभा चुनावमा हारेर पनि उपप्रधान तथा गहृमन्त्री बन्ने सौभग्य जो मिलेको थियो । त्यही पल्क्याहट राजीनामा र उपनिर्वाचनको खेलमा झल्किन्छ। बुढालाई राज्यमन्त्री बनाउनुपूर्व नै ६ महिनापछि वामदेवलाई ठाउँ दिनुपर्ने सौदा भएको रहस्य खुलेको छ। जनताले दिएको सांसद पदलाई राज्यमन्त्री पदसँग बाजी लगाए राज्यमन्त्री बुढाले । राज्यमन्त्री पदलाई कुनै पूर्ण मन्त्री पदसँग बाजी थाप्ने उदारो सौदा भएको रहस्य पनि यसैबीच खुलेको छ । सत्ता र सदनका पदहरू सीमित व्यक्तिको निजी पेवा भएको दृष्टान्त यी रहस्यले प्रस्तुत गर्छन् एकातिर । अर्कोतिर राजीनामापछिको रिक्तस्थानलाई भर्न हुनुपर्ने निर्वाचन उम्मेद्वार तय भएकाले गरिनु विधिको शासनमाथि प्रहार हो । यसले जनताको भोटको अवमूल्यन गर्छ । लोकतन्त्रको सबल पक्ष निर्वाचनको अपव्याख्या गर्छ । लोकतन्त्रमा लोकभन्दा बलिया राजनीतिक पार्टी भएको पुष्टि दिन्छ।  

वामदेव गौतम सांसदमा आवश्यक भएको र ल्याउनका लागि राज्यमन्त्री धनबहादुर बुढालाई नै निशानामा पार्नुले डोल्पाली र त्यहाँका नेता भनिने राजनीतिकर्मीको क्षमतामाथि प्रश्न उब्जेको छ । संघीयताको मर्मानुसार सीमान्तीकृत क्षेत्रको प्रतिनिधित्व गर्ने प्रतिनिधिको गाँस खोस्ने काम हुँदै छ । राजीनामापछि हुने निर्वाचनका उम्मेद्वारलाई निर्वाचन क्षेत्रमा जान लगाएर जनताकामाझ आफ्ना एजेन्डा राख्न लगाउनु त कता हो कता, उल्टै जिल्लामा पाइलै नटेके पनि जिताइदिने वाचा–कसमका खेल भएका छन् । यसले डोल्पाली जनता स्वविवेकी नभएका पशुतुल्य चित्रण गरिएको छ । आम डोल्पालीको स्वाभिमानमा चोट पु¥याएको छ। 

जनता र पार्टीबाट स्वीकार कारणसहित राज्यमन्त्रीको राजीनामा देखाउन खुराकको खोजीमा रायसुझावको कर्मकाण्ड कार्यकर्ता भेटेर पूरा भयो । सोही कर्मकाण्डमा भेला भएका पार्टी सम्बद्ध कार्यकर्ताले डोल्पालीलाई आयातित नेता आवश्यक नभएको बताउँदै गर्दा राज्यमन्त्री बुढाको पार्टीप्रतिको अन्धआस्तिकता बोलेको छिपेको छैन । “म पार्टीको बफादार सिपाही हुँ, पार्टीले निर्णय ग¥यो भने मैले मान्नैपर्छ । पार्टीले गर्दा नै जितेको हुँ । पार्टीले भनेपछि कसरी नाइँ भन्ने ? वामदेव मेरो गुरु, गुरुकै आशीर्वादले म यो स्थानमा छु ।” यो कुराले राज्यमन्त्री बुढा दबाबमा परेको संकेत गर्छ । यसरी व्यक्ति वा पार्टीको स्वार्थका लागि जे गर्दा पनि हुने संस्कार बसाउनु विधिको शासनको उपहास हो । लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्रको अवमूल्यन हो।

धनबहादुर बुढा अब डोल्पाली जनताका नेता रहेनन् । उनलाई सधैँ नै लाग्ने आक्षेप पैसाको बलमा राजनीति ग-यो भन्ने हुन्थ्यो जुन साबित भयो । पद, प्रतिष्ठा र पावरका लागि डोल्पाली जनताको अमूल्य भोटमाथि खेलबाड गर्ने काम भयो। क्षमताले जनताको मन मुटु जितेर डोल्पालीको प्रतिनिधित्व गरेका नेता हुन्थे भने आज सौदाको साबिती हुनुपर्ने थिएन।  
पाँच वर्षसम्म आफ्नो क्षेत्रका लागि केही गरेर देखाऊ भनेर जनताले जिताएका हुन् न कि कुनै गुरुका लागि दक्षिणा दिन । वामदेव आएपछि आफूले भन्दा धेरै विकास गराउँछन् भनेर जनताको आँखामा छारो हाल्ने काम जो भइरहेको छ, त्यो भ्रम हो । हाम्रा लागि अरु कसैले केही गरिदेला भन्ने आसैआसमा आज डोल्पाको यो हालत भयो । भयो, अब आशीर्वादको राजनीति धेरै टिक्दैन । वामदेवबाट विकास हुने सुनिश्चिता के अधारमा गरिँदै छ ? विगतको योगदानलाई नियाल्ने हो भने पनि बर्दिया र गृह जिल्ला प्युठानको विकास हेर्र्दा पनि प्रस्टिन्छ । तैपनि आशा र भरोसाकै कुरा गर्ने हो भने र उहाँ सच्चा निःस्वार्थी देशप्रेमी नेता हो भने अहिलेको अवस्थाबाट आफ्नो विकासको जादु दूरदराज डोल्पाका लागि प्रयोग गरिदिँदा के बिग्रिन्छ ? नेपाली जनताको नेता हो भन्नुहुन्छ भने के तपाईं डोल्पालीलाई स्वाभिमानी ठान्नुहुन्न?  
देशको अर्थतन्त्रमा सुधार देख्नुहुन्छ भने डोल्पाको उपयोग देख्नुहोस् तर सत्तालिप्साका लागि दुरुपयोग नगरिदिनुस् । अमूल्य प्राकृतिक र सांस्कृतिक सम्पदा जोगाइराख्ने, भूमिको सीमा रक्षामा पहरेदारी गरिरहेका उँचो मन भएका डोल्पालीको स्वाभिमानमा ठेस दिने काम नगरिदिनुस्।

राज्यमन्त्रीज्यू, डोल्पालीले तपाईंलाई धेरै राम्रो भनेर साथ दिएका होइनन् । विकल्पविहीन अवस्थामा राजनीतिक प्रक्रिया पूरा गर्ने सिलसिलामा तपाईं पर्नुभएको हो । चलनचल्तीअनुसार नै तपाईंले वाचा गरेका काम छन्, ती पूरा गर्नुपर्छ भनेर समय दिएका हुन् । तपाईंले जे जसरी जित्नुभयो, जित्नुभयो । सबैभन्दा बढी मत प्रतिशत ल्याएर जित्नुभयो । यसको मतलब जनता सधैँ तपाईंले भनेको मान्छन्, भन्नेछैन । तपार्इंले गुरुका लागि त्याग गर्नुभयो तर गुरुजीलाई नै डोल्पालीले त्याग गरिदिए भने?

प्रकाशित: १७ भाद्र २०७५ ०४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App