२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दार्चुलामा विपदको त्रास

दार्चुला–वर्षेनी बाढी र पहिरोबाट ठूलो धनजनको क्षति व्यहोर्दै आएको दार्चुला यो वर्ष पनि विपदको त्रासमा छ। जिल्लाको अधिकाश भूभाग बाढी, पहिरो, चट्याङजस्ता प्रकृतिक प्रकोपको उच्च जोखिममा छ।

पछिल्लो समय दैनिक विपदका घटना बढ्दै गएका छन्। जिल्लाको नौगाड गाउँपालिका–१ इएरकोट साङपाङमा भदौ १देखि लगातार तीन दिनसम्म आएको पहिरोले स्थानीय त्रसित छन्। पहिरोका कारण स्थानीय ४ परिवारको घर बगाउनुका साथै ३ दर्जन घर पहिरोको उच्च जोखीममा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

 नौगाड गाउँपालिका १ बस्ने विक्रमसिँह ओईरे, जगतसिँह महता, ललितसिँह बडाल र विरेन्द्रसिँह महताको घर तथा घर भित्र रहेका अन्नपात लत्ता कपडा भाडा नस्ट भए। उनीहरुका चौपायासमेत मरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक हिक्मत बोहराले बताएका छन्।

साङपाङस्थित भवानी आधारभूत विद्यालय साङपाङको ५ कोठे जस्ता पाताले छाएको शौचालय र खेल मैदान पूर्णरुपले क्षति भएको छ भने स्कुल भवन जोखिममा रहेको  प्रहरीले जनाएको छ। 
जिल्लाको बिकट क्षेत्र इयरकोटमा १ गतेदेखि नै पहिरो खस्न सुरु भएपनि जनप्रतिनिधिलगायत कुनै सरोकारवाला त्यहाँ नपुगेको पहिरोपीडितको गुनासो छ।

यसैबीच दुहु गाउँपालिका वडा नम्बर ३ तिमुरपाटामा स्थानीय सुनादेबी बमको घर भत्किएर भौतिकक्षति भएको छ। क्षतिको विवरण बुझ्न प्रहरी चौकी ब्रह्मदेबबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

दुहु क्षेत्रमा पर्ने नेपाल भारत सिमा नाका तिग्रममा रहेको महाकाली नदीमाथिको झोलुंगे पुलमा आवत जावत बन्द गरिएको छ। वर्षाका कारण शनिबार राती खसेको पहिरोको कारण पुल जोखिममा परेपछि आवतजावत बन्द गरीएको प्रहरीले जनाएको छ । यसले दुहु र ब्यास गाउँपालिकाका सयौ स्थानीय उर्लदो महाकालीमाथि जोखिमपूर्ण तुइनको यात्रा गर्न वाध्य भएका छन्।

 पानी पर्नासाथ खोला बढेर महाकाली राजमार्गको काकडा खोला बेला बेलामा अवरुद्ध भइरहन्छ। तेर्छालेकमा पहिरो जाने गरेको समस्या छ। जिल्ला भरमा यसै वर्षायाममा एक दर्जन घरहरु क्षति भइसकेका छन भने दुई दर्जन विस्थापित भएका छन् । दर्जनौ बाटोघाटो अवरुद्ध भएका छन भने आधा दर्जन  पुलपुलेसा बगेका छन्। 

 

प्रकाशित: ४ भाद्र २०७५ १२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App