२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

‘सहरमा थकान मार्ने ठाउँ छैनन्’

महिमा शिलवाल, अभिनेत्री

तपाईँको विचारमा सहर के हो ?
सहर सुविधायुक्त ठाउँ हो, जहाँ मानिसको दैनिकी सहजै परिपूर्ति गर्न सकिने सेवा–सुविधा हुन्छन् । सफा, सुन्दर र व्यवस्थित हुनु सहरको विषेशता हो।

घुमेकामध्ये मनपर्ने सहर कुन हो ?
मलाई आफू जन्मेको ठाउँ नारायणघाट हो । यो ठाउँसँग मेरो बाल्यकालदेखिको सामीप्यता गाँसिएको छ । अन्यत्रका सहरभन्दा नारायणघाट अलि खुकुलो छ। 

काठमाडौं कस्तो लाग्छ ?
काठमाडौं मेरो कर्मथलो हो । यो ठाउँसँग मेरो बाल्यकालसँगै कर्म जोडिएको छ । तर, पछिल्लो समय काठमाडौं निकै भरिभराउ भएको छ । गाउँका मानिसहरू यहीँ आउनेक्रम बढेको छ। 

नेपाल बाहिर कुन–कुन देश पुग्नुभएको छ ?
दुबई, कतार, बेल्जियम, थाइल्यान्ड, पोर्चुगललगायत देश घुमेकी छु।

कस्तो लाग्यो ?
यहाँ घुम्दा हाम्रो देशमा त सहर नै होइनन् जस्तो लाग्यो । किनभने हाम्रो देशका सहरमा जनताले निकै सास्ती खेप्नुपरेको छ । सहरका हरेक चोकहरू अस्तव्यस्त छन् । सहरका गल्ली मोटरसाइकल पनि छिर्न नसक्ने खालका छन्  । यहाँ विपद्को बेला उत्तिकै जोखिम छ।

कसरी विकसित भएका रहेछन् त्यहाँका सहर ? 
विदेशका सहरको बनावट शैली हाम्रोभन्दा भिन्न छ । उनीहरूले एकै किसिमको घर बनाएका छन् । मौलिकता जोगाएका छन् । सहर आधुनिक र स्मार्ट सिटीको अवधारणाअनुरूप विकास गरिएका छन् । त्यहाँ पनि असन र बानेश्वरजस्तै बाटो क्रस गर्ने मानिसको भीड हुन्छ । तर, त्यहाँका सडकमा ट्राफिक लाइट राखिएको छ । धुवाँधुलो कतै देखिन्न।

उपत्यका बाहिर राम्रो लाग्ने सहर ?
सबैजसो सहर सुन्दर लाग्छ । तीमध्ये पोखरा, लुम्बिनी निकै सुन्दर छन्। 

हाम्रा सहर किन अव्यवस्थित भएका होलान् ? 
सिधा भन्नुपर्दा हाम्रा नेताहरूले काम गरेनन् । नेता र सरकारी निकायका उच्च कर्मचारीले आफूलाई फाइदा हुने खालका काममा मात्रै हात हाले । विकासका काममा आपसी समन्वय भएन। 

काठमाडौंको पछिल्लो समस्या के देख्नुभएको छ ?
हिलो, घुलो र सडक विस्तारले काठमाडौं एकदमै प्रदूषित छ । जताततै खाल्डाखुल्डी मात्र छन् । मानिसको भीडभाड पनि उत्तिकै बढेको छ।

काठमाडौंको राम्रो लाग्ने पक्ष ?
यहाँको मौसम सदावहार छ । यहाँ स्वतन्त्र भएर बाँच्न सकिन्छ । काठमाडौंको पुराना मठमन्दिर, धार्मिक क्षेत्रहरू पनि राम्रो लाग्छ।

सहरवासीको बानी कस्तो लाग्छ ? 
सहरवासीकोे आँचरण ठिक लाग्दैन । सहरवासीमा विकासका काम गरेर फड्को मार्नुपर्छ भन्ने सोच छैन। 

तपार्इं कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
म सुन्दर र प्राकृतिक सहरको परिकल्पना गर्छु । मेरो विचारमा सहर भन्नेबित्तिकै सुविधासम्पन्न हुनुपर्छ। 

नेपालका सहर अरु देशकाजस्तै किन बन्न सकेनन् ?
नीति नियम पालना भएन । विकासका कामलाई चुस्तता दिने शक्ति भएन । राज्यले यहाँका अवसर र सम्भावनालाई बुझ्न सकेन। 

विदेशका सहरको मौलिक र ऐतिहासिक पक्ष कस्तो लाग्यो ?
मौलिकता र इतिहासमा हामीभन्दा अघि अरु मुलुकका सहर छैनन। 

सरकारले कसरी काम गर्दा विदेशसँग हाम्रा सहर तुलना गर्न योग्य होलान् ?
त्यसरी तुलना गर्न मिल्दैन । किनभने हरेक देशका सहरका आ–आफ्नै किसिमका मौलिकता र रहनसहन छ । सहरको इतिहास, चाडपर्व, मौलिकताको हिसाबले नेपालका सहर धेरै अगाडि नै पर्छन् । आधुनिकता र विकासको हिसाबले अन्य देशका सहर धेरै माथि छन् । सहरको विकासको निम्ति सबै सरकारी निकायहरूबीच उचित समन्वय हुनुपर्छ । हाम्रा सहरका नबन्नुको मुख्य कारण पनि समन्वय अभावले हो । एक पक्षले बनाउने, अर्कोले भत्काउने प्रवृत्तिले सहर बिग्रिएको हो । यस्ता प्रवृत्ति हटाइनुपर्छ।

उपत्यकाभित्र कतै घुम्न निस्कनुपर्याे भने कुन ठाउँ रोज्नु हुन्छ ?
त्यति हिँड्ने र डुल्ने बानी छैन । कहिलेकसो उपत्यका बाहिरका सहर जान्छु । पोखरा र नारायणघाट घुम्न मनपर्छ।

उपत्यकामा घुम्ने ठाउँको अभाव भएको हो ?
उपत्यकामा घुम्ने ठाउँहरू छैनन् । भएका ठाउँमा पनि मानिसको भिडभाड मात्रै देखिन्छ।

सहरको मनपर्ने खानेकुरा ?
दाल, भात र तरकारी नै मनपर्छ।

मन भएर पनि पुग्न नपाएको सहर ?
मलाई स्वीजरल्याण्ड घुम्न मन छ।

सहरमा किनमेल गर्न कता जानुहुन्छ ?
म प्रायः भाटभटेनीतिरै जान्छु।
                                                        प्रस्तुति : शिवहरि घिमिरे 

प्रकाशित: १ भाद्र २०७५ ०५:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App