२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एघार उद्योगको पानीमा कोलिफर्म, बन्द गर्न मन्त्रालयको निर्देशन

विराटनगर– विराटनगरमा सञ्चालित ११ वटा प्रशोधित पानी उत्पादन गर्ने उद्योगको पानीमा दिसाको जीवाणु ‘कोलिफर्म’ भेटिएको छ। सामाजिक विकास मन्त्रालयले साउन ४ गतेदेखि गरेको अनुगमनका क्रममा संकलन गरिएको २० कम्पनीको पानीको नमुना मध्ये ११ वटा कम्पनीको पानीमा कोलिफर्म भेटिएको हो। 

प्रशोधित पानीमा कोलिफर्म भेटिएपछि उपभोक्ताले सचेतना अपनाउनु पर्ने देखिएको छ। प्रशोधित पानीसमेत नउमाली पीउन नहुने देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। विराटनगरका २० वटा उद्योगमा गरेको अनुगमनका क्रममा ११ वटा उद्योगको पानीमा कोलिफर्म देखिएपछि मन्त्रालयले ती उद्योगहरू बन्द गर्न निर्देशन दिएको छ। मन्त्रालयले कोलिफर्म भेटिएका उद्योगलाई  प्रशोधित पानीको उत्पादन, विक्री, वितरणमा समेत रोक लगाएको छ। अनुगमनका क्रममा विराटनरका अधिकांश उद्योगहरूले मापदण्ड विपरित प्रशोधित पानी उत्पादन गरेको पाइएको थियो। मन्त्रालयका उपसचिव गोपी घिमिरेका अनुसार कोलिफर्म भएको पानीले झाडा, वान्ता, आउ जण्डिसलगायतका रोगहरू लाग्न सक्ने बताए।  ‘अनुगमनका क्रममा संकलित पानीको ल्याव परीक्षण गर्दा मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक दिसामा पाइने ‘कोलिफर्म’ नामक जीवाणु भेटिएपछि त्यस्ता उद्योगलाई प्रशोधित पानी उत्पादन, बिक्री र वितरणमा रोक लगाइएको छ’, घिमिरेले भने । 

मन्त्रालयले शुक्रबार प्रतिवेदन सार्वजनिक गर्दै ल्याव परीक्षणका लागि नमुना संकलन गरिएका २० वटा पानी उद्योगमध्ये ११ वटा उद्योगबाट उत्पादित पानीमा ‘कोलिफर्म’ फेला परेको जानकारी दिएको हो। यस्तै तीन वटा उद्योगले उत्पादन गरेका पानी पिउन अयोग्य रहेको पाइएको छ। ६ वटाले उत्पादन गरेको पानी पिउन योग्य भए पनि ती उद्योगले समेत कतिपय मापदण्ड पूरा नगरेको पाइएपछि तत्काल सचेत गराएर मापदण्ड पूरा गर्न निर्देशन दिइएको उपसचिव  घिमिरेले बताए। अनुगमनका क्रममा पानी उत्पादन गर्ने उद्योगले सरसफाईमा ध्यान नदिने गरेको, लापरवाही तरिकाबाट पानी उत्पादन गर्ने गरेको, सोडा तथा पोटाशको मात्रा नमिलाउने गरेको, अनुमति तथा नविकरण विना नै उद्योग संचालन गर्ने गरेको पाइएको थियो। यस्तै, कतिपय पानी उद्योग गाई गोठबाटै संचालित रहेको, बोरिङ र शौचालय संगसंगै रहेको भेटिएको थियो। केही वर्ष पहिले विराटनगरमा जण्डिसको प्रकोप फैलिएपछि स्थानीयले सुरक्षित ठानेर कल धाराको पानीको ठाउँमा प्रशोधित पानी पिउन थालेका थिए। तर, प्रशोधित पानीमा नै कोलिफर्म भेटिएकाले जार र बोतलमा भरेको पानीसमेत ढुक्कले पिउनसक्ने अवस्था नदेखिएको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले विराटनगरस्थित गंगा जल उद्योग, गोमा रानी जल उद्योग, पूजा फूड एन्ड वेभरेज प्रालि, तिरुपति जल उद्योग,  हाईमल वाटर इन्टष्ट्रिज, माउण्टेन वाटर,  श्रीजल उद्योग, शीतल जल उद्योग, जोनसन जल उद्योग, दिब्य श्री जल उद्योग र बुढीगंगा गाउँपालिका १ को शुभ जल उद्योगबाट उत्पादित पानीमा ‘कोलिफर्म’ फेला परेको प्रतिवेदन सार्वजनिक गरेको हो। विराटनगर ७ को एसएसएस जल उद्योग, विराटनगर ५ को गुडलक, विराटनगर ८ को हाम्रो प्रयास जल उद्योग, विराटनगर ११ को पूर्वाञ्चल निर्मल जल उद्योग, विराटनगर ९ को मंगल वेभरेज, विराटनगर १० को प्रजापति जल उद्योग, विराटनगर १५ को हुलास प्युरिफाईड, विराटनगर १२ को भूमि जल उद्योग समेतबाट उत्पादित पानीमा पनि कैफियत भेटिएको थियो।

पानी उत्पादनमा गम्भीर लापरवाही गरेका र प्रशोधित पानीमा ‘कोलीफर्म’ समेत भेटिएका उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा खाद्य ऐन अनुसार मुद्धा दायर गरिने खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले बताए। सामाजिक विकास मन्त्रालयको नेतृत्वमा साउन ४ गतेदेखि प्रशोधित पानीको अनुगमन थालिएको थियो। अनुगमनका  क्रममा पाँचवटा पानी उद्योगमा शीलबन्दी गरिएको थियो। 

प्रकाशित: १९ श्रावण २०७५ १५:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App