२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बाघ मर्नुका कारण अनुसन्धान गर्न माग

विश्व बाघ दिवसका अवसरमा आइतबार फेस पेन्टिङसहित सचेतना कार्यक्रमका सहभागी। तस्बिरः सविता/नागरिक

चितवन - अन्तराष्ट्रिय बाघ दिवसका अवसरमा चितवनका संरक्षणकर्मीले बाघ मर्नुका कारणहरू पत्ता लगाउन माग गरेका छन्। संरक्षणकर्मीले बाघ मर्ने प्राकृतिक कारण भित्रका कारक तत्वहरू पत्ता लगाउन माग गरेका हुन्।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगाना प्राकृतिक कारणले बाघ मर्नुका कारणबारे विस्तृत अध्ययन गरिनुपर्ने बताउँछन्। बाघका लागि वातावरण असुरक्षित बनेको हो वा वातावरणमा जथाभावी ल्यान्डफिल साइट बनाएर फोहोर फाल्ने गरिएका कारण बाघ मर्ने गरेका हुन्, त्यसको खोजी गर्नुपर्ने उनको माग छ।

बाघ र गैंडाकै कारण पर्यटकहरू सौराहा घुम्न आउने भएकाले वन्यजन्तु संरक्षण गर्नुपर्ने माग गरिएको छ।

‘प्राकृतिक कारणले म-यो भनिन्छ,’ उनले भने, ‘त्यस भित्रका कारणहरू विस्तृतमा अध्ययन गरिनुपर्ने विषय बनेको छ।’ गएको आर्थिक वर्षमा चितवनमा ६ वटा बाघ मरेका छन्। भदौमा एक, चैतमा एक र वैशाखमा चारवटा बाघ मरेका हुन्। चारवटा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा र दुईवटा राष्ट्रिय वन क्षेत्रमा मरेका हुन्।

राष्ट्रिय वन क्षेत्रमा मरेका बाघ पञ्चकन्या सामुदायिक वन क्षेत्रमा बनाइएको ल्यान्डफिल साइटनजिक भेटिएका थिए। चितवन राष्ट्रिय निकुञ्जभित्र मृत भेटिएका चार बाघमध्ये तीनवटा अर्को बाघसँग जुधेर मरेको पाइएको निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए । एक बाघ मर्नुको कारण पत्ता नलागेको उनले बताए।

राष्ट्रिय वन क्षेत्रमा मरेका दुई बाघमध्ये चैतमा मृत भेटिएको एउटा बाघ मान्छेले मारेको उनी बताउँछन्। बाघले मान्छे मारेपछि त्यसको प्रतिशोधमा बाघलाई विष दिएर मारिएको पाइएको उनको भनाइ छ। आर्थिक वर्ष ०७३/०७४ मा चारवटा र ०७२/०७३ मा एउटा बाघ मरेको सूचना अधिकारी अर्यालले जानकारी दिए।

क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरे बाघ र गैंडाकै कारण पर्यटकहरू सौराहा घुम्न आउने गरेको बताउँछन्। यसैकारण वन्यजन्तु संरक्षण गरे मात्र पर्यटन फस्टाउन सक्ने उनको भनाइ छ। वन्यजन्तुको अस्वाभाविक मृत्युको कारण खोजी गरेर समाधान खोज्नुपर्ने अध्यक्ष घिमिरेको माग छ। वन्यजन्तु संरक्षण गर्नुपर्ने दायित्व सबैको भएको रत्ननगर नगरपालिकाका मेयर नारायण वन बताउँछन्। घाइते हुने वन्यजन्तुको उपचार र बास स्थान व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ। ‘वन्यजन्तु जोगाउनु हाम्रो पनि दायित्व हो,’ उनी भन्छन्, ‘सबैजना लाग्नुपर्छ।’ सवारीसाधन आवतजावत हुँदा ठोक्किएर वन्यजन्तु मर्ने र घाइते हुने पूर्व–पश्चिम राजमार्गको टिकौली जंगलमा वन्यजन्तु वारपार गर्ने व्यवस्था मिलाउनुपर्ने मेयर वनको माग छ। जैविक मार्गका रूपमा रहेको त्यस ठाउँमा ओभरहेड ब्रिज बनाएर या वन्यजन्तु आवतजावत गर्न पुल बनाएर संरक्षण गर्न सकिने उनको भनाइ छ।

वरण्डाभार बास स्थान, पानीको स्रोत र घाँसे मैदान व्यवस्थापन नहुँदा बाघ संरक्षणमा चुनौती हुने निकुञ्जका सूचना अधिकारी अर्यालले बताए। निकुञ्जभित्र बाघको आहारा प्रजाति बढाउन घाँसे मैदान व्यवस्थापनका साथै सचेतना कार्यक्रम सञ्चालन गरिएको उनी बताउँछन्। विश्व बाघ दिवस २०१८ का अवसरमा आइतबार सवारीसाधनका चालकलाई ब्रोसर वितरण, सवारीसाधनमा स्टिकर टाँस गर्नुका साथै जैविक मार्ग सरसफाइ गरिएको छ। बाघ संरक्षण उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा बाघको आकृति झल्काउने फेस पेन्टिङ पनि गरिएको थियो।

विश्वमा नेपालसहित भारत, बंगलादेश, भियतनाम, इन्डोनेसिया, लावस, मलेसिया, चीन, रसिया, भुटान, कम्बोडिया, थाइल्यान्ड र म्यानमारमा बाघ पाइन्छन्। विश्वमा करिब ३ हजार ५ सयको संख्यामा बाघ रहेको अनुमान रहेको चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहाका प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए। नौ प्रजातिका बाघ पाइनेमा तीन प्रजातिका बाघ लोप भइसकेको बताइन्छ । नेपालमा पाइने बाघ रोय बंगला प्रजातिको हो।

प्रकाशित: १४ श्रावण २०७५ ०४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App