२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

दैनिक तीन सय मालवाहक गाडी

वीरगन्जस्थित अलौं सिर्सियामा बनेको आइसिपी भएर मालवाहक गाडी भित्रिँदै । तस्बिर : रितेश / नागरिक

वीरगन्ज - वीरगन्जस्थित ‘इन्टरग्रटेड चेक पोस्ट’ (आइसिपी) अर्थात एकीकृत जाँच चौकी भएर आयात हुने व्यापारले बिस्तारै गति लिँदैछ । विभिन्न समस्या र अप्ठ्याराबीच पनि आइसिपी भएर पहिलो सय दिन अर्थात असार मसान्तभित्र दैनिक करिब तीन सय मालवाहक गाडी भित्रिएका छन्।

गत चैत २४ मा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेको डेढ महिनासम्म ‘आइसिपी’ भएर बरौनीबाट आउने इन्धन र फाट्टफुट्ट अरु सामान भित्रिन पाउदा १० प्रतिशत कारोबार मात्र त्यहाँबाट हुन पाएको थियो । ब्यस्त नाकाका रुपमा रहेको वीरगन्जस्थित आइसिपी सीमापारी रक्सोलका स्थानीयले १० दिनसम्म आन्दोल चर्काएपछि साबिकको भन्सारको कारोबार अन्यत्र सरेको थियो।

आइसिपी सुरु भएयताको ९९ दिनमा २९ हजार ६ सय ३६ मालवाहक गाडी यहाँ भएर भित्रिएका छन् । आइसिपी सञ्चालन गर्ने सरकारी संस्था इन्टरमोडेल यातायात विकास समितिको तथ्यांकले यस्तो देखाएको छ । समितिले आइसिपी सञ्चालनबाट यो छोटो अवधिमा दुई करोड ३० लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ । आइसिपी सञ्चालनपछिको आम्दानीबाट समितिले सरकारलाई ३० लाख रुपैयाँ राजस्व समेत बुझाएको जनाएको छ । त्यहाँस्थित भन्सारको आम्दानी बाहेक समितिको आम्दानी र सञ्चालनबाट सरकारलाई दुई करोड ६० लाख ८० हजार रुपैयाँ फाइदा भएको छ।

नेपालको भारतसँगको व्यापार र भारत भएर हुने तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र सहज हुने भन्दै ‘आइसिपी’ देशकै लागि महत्वपूर्ण मानिएको छ । ‘आइसिपी’को रुपमा भन्सार र व्यापारमा सहजीकरण गर्ने निकायहरु नेपाल र भारतको सीमामा दुवैतर्फ एकसाथ स्थापना भएका छन् ।

आइसिपीभित्र भन्सार, बैंक, खाद्य क्वारेन्टाइन, वनस्पति क्वारेन्टाइन, पशु क्वारेन्टाइन, सशस्त्र सुरक्षा बलको एकाइ स्थापना भइसकेका छन् । योजनाअनुसार यहाँ अध्यागमन कार्यालय स्थापना हुन नसकेर यहाँबाट यात्रु आवागमन सुरु हुन सकेको छैन ।आइसिपीस्थित वीरगन्ज भन्सार कार्यालयका प्रवक्ता सन्तोष यादवका अनुसार त्यहाँ भएर विभिन्न सामान बोकेका मालवाहक ट्रक, साना सवारी बोक्ने कार्गो, तेस्रो मुलुकको सामान लिएर आएका कन्टेनर, एलपी ग्यास, अरु पेट्रोलियम पदार्थ बोकेका ट्यांकरलगायत भित्रिएका छन् ।  

अपुग संरचना
व्यापारका लागि चाहिने पूर्वाधारको आँकलन गर्दै करिब आठ वर्षअघि तयार पारिएको आइसिपीको संरचना प्रयोगमा आएपछि विभिन्न संरचना थप्ने आवश्यकता सरोकारवालाले महसुस गरेका छन् । इन्टरमोडेल यातायात विकास समितिको त्यहाँस्थित कार्यालयका प्रमुख रहेका हेमेन्द्र मोहन शाहीले यहाँ बढाउनु पर्ने संरचनामध्ये केहीका निर्माणका लागि प्रक्रियाहरु बढाइसकिएको बताए।

आइसिपीमा ठूलो ट्रकमा करिब ३० ट्रक माल सामान अट्ने गोदाम मात्र छ अहिले । त्यहाँ करिब साढे पाँच करोड लागतमा दुई हजार टन मालसामान अट्ने थप गोदाम बनाउन टेन्डर गरी सकिएको शाहीले बताए । मालवाहक सवारी लिएर आउने चालकका लागि खाना पकाउने सेड त्यहाँ निर्माण गर्न बाँकी छ । क्वारेन्टाइनका लागि अहिले दिइएको ठाउँ अपर्याप्त भएको समितिको भनाइ छ । खानेपानीका लागि हातेधारा लगाउने काम पनि गर्नुपर्ने देखिएको शाहीले बताए।

त्यस्तै आइसिपीबाट निकास हुने सडकको हुलाकी राजमार्गभित्र पर्ने ६ सय १० मिटर सडकखण्ड साँघुरो भएकाले अहिले आइसिपीबाट निकास हुने गाडीको आवागमनमा समस्या भइरहेको छ । त्यसको ठेकापट्टा भएर निर्माण कार्य सुरु भए पनि मुआब्जा वितरणको जिम्मा पाएको जिल्ला प्रशासन कार्यालय र जग्गाधनीबीच पछिल्लो समय चलेको विवादले उक्त सडक निर्माण पछाडि धकेलिएको छ ।

व्यापारमा असहजता
आइसिपीबाट व्यापार सुस्त र महंगो हुन गएको आयातकर्ताले बताएका छन् । व्यापार आधुनिकीकरणको अपेक्षा गरिए पनि आइसिपी सञ्चालनमा आएपछि आयातकर्ताको अनुभव भने फरक रहेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माको भनाइ छ ।

भारतीय भन्सार, भारतीय शसस्त्र सुरक्षा बल र बिहार पुलिसले व्यापारमा अघोषित नियन्त्रण गरिरहेको व्यापारीको भनाइ छ ।साबिक भन्सार भएर कारोबार गर्दा नलाग्ने शुल्कहरु यहाँ दुवैतिर लाग्ने गरेको व्यापारी बताउँछन् । यसमध्ये कतिपय जायज छन् भने कतिपय अव्यवहारिक शुल्कहरु रहेको व्यापारीको भनाइ छ।

संख्यामा भित्रिने वस्तुलाई पनि तौलेर लैजानु पर्ने बाध्यता सिर्जना गरिएको भन्सार एजेन्टले बताए । भारतीय भन्सारबाट निर्यातको प्रमाणपत्र लिएर आयात गर्ने व्यवस्था गरिएकोले त्यसमा पाँचदेखि ६ दिनसम्म अतिरिक्त समय खेर जाने गरेको आयातकर्ता धु्रुव साहले बताए । भारतीय भन्सारले त्यहाँ पर्याप्त संख्यामा कर्मचारी नपठाउँदा र कागजी प्रक्रिया गर्ने कम्प्युटर प्रिन्टर लगायत चाहिने जति सञ्चालन नगरेकाले समस्या भइरहेको आयातकर्ता बताउँछन्।


 

प्रकाशित: ८ श्रावण २०७५ ०१:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App