२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसको महिला संघमा नेतृत्व टक्कर, को को छन् आकांक्षी ?

काठमाडौं–नेपाली कांग्रेस सम्बद्ध संगठन नेपाल महिला संघको नयाँ नेतृत्वका लागि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच टक्कर हुने भएको छ । पार्टी १३औं महाधिवेशनपछि तेस्रो धारका रूपमा उदाएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष सभापति देउवा पक्षसँग सहकार्यको सम्भावना नभए नेतृत्वका लागि छुट्टै उम्मेदवार खडा गर्ने रणनीतिमा जुटेको छ।

भदौ २९ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटिमण्डमा चौथो महाधिवेशन गर्ने तयारीमा रहेको महिला संघको नुवाकोट र रुपन्देही बाहेक सबै जिल्ला अधिवेशन सम्पन्न भइसकेका छन् । संघको केन्द्रीय समिति र पार्टी निर्देशक समितिले २६ गतेसम्म अधिवेशन सम्पन्न नगरे बाँकी दुई जिल्लालाई महाधिवेशन सहभागि नगराउने निर्णय गरेको छ ।

संघकी प्रचार समिति संयोजक निर्मला क्षत्रीले ७३ जिल्लाको अधिवेशन सकिएको जनाउँदै बाँकी दुई जिल्लाको अधिवेशन २६ गतेभित्र सम्पन्न गर्न अन्तिम समय दिएको बताइन् । प्रत्यक्ष निर्वाचन क्षेत्रबाट ९ जनासहित २ हजार २सय ४४ प्रतिनिधि महाधिवेशनमा सहभागि हुने जानकारी दिंदै उनले तयारी अन्तिम चरणमा पुगेको बताइन् ।

तीन दिनसम्म चल्ले महाधिवेशनमा एक करोड चालिस लाख खर्च अनुमान गरेको महिला संघले महाधिवेशन प्रतिनिधिलाई भदौ २८ देखि ३१ गतेसम्म सुन्धारा र ठमेलमा बस्ने व्यवस्था मिलाएको छ ।

सभापति देउवाले उद्घाटन गर्ने महाधिवेशनको बन्दसत्र पनि भृकुटीमण्डपमा हुने भएपनि नयाँ नेतृत्वका लागि निर्वाचन भदौ ३१ गते राष्ट्रिय सभागृहमा हुने क्षत्रीले जानकारी दिइन् । विद्युतीय भोटिङमार्फत नेतृत्व चयन गर्ने संघले तयारी गरेको छ । महिला संघमा पनि नेपाल विद्यार्थी संघमा जस्तै वर्तमान समितिमा रहेका कुनैपनि व्यक्ति उम्मेदवार बन्न नपाउने भएका छन् ।

संघको बिहीबार बसेको केन्द्रीय समिति बैठकले उम्मेदवार हुन लगाइएको प्रतिबन्ध हटाइदिन पार्टी नेतृत्वलाई आग्रह गर्ने निर्णय गरेपनि निर्देशक समितिले निर्णय परिर्वतन नहुने जानकारी गराएका छन् । तर, संघको बैठकले निर्णय परिर्वतनको माग दोहो¥याउनुको साथै विदेशस्थित महिला संघको जनसम्पर्क समितिलाई मान्यता दिन र प्रदेशबाट दुई÷दुई जना निर्वाचित हुने व्यवस्था गरीदिन माउ पार्टीसँग आग्रह गरेको छ ।

संघकी अर्की सदस्य बिजुला बर्माले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताउँदै समयमै महाधिवेशन हुने बताइन् । ‘पार्टीले लगाएको प्रतिबन्ध फुकुवा नगरेपनि हामी महाधिवेशन सम्पन्न गर्न उत्साहका साथ लागेका छौ,’ उनले भनिन्, ‘आफू हुँदा मात्र होइन अरुलाई बनाउँदा पनि नेता बन्न सकिन्छ ।’

आधा दर्जन सक्रिय संघको नेतृत्व लिन पार्टीभित्र विद्यमान गुटका आधारमा आधा दर्जनभन्दा बढी नेत्री सक्रिय छन् । संघको नेतृत्वका लागि सभापति देउवा पक्षबाट धना खतिवडा, रुक्मिणी कोइराला, मीना पाण्डे, मालती सोडारी, मञ्जु खाँण, जानकी सिंहसहितका नेत्री आकांक्षी छन् । खतिवडा, खाँण, सिंह देउवानिकट हुन भने कोइराला, पाण्डे पौडेलसँग र सोडारी सिटौलासँग नजिक मानिन्छन् ।

देउवा पक्षले पार्टी पूर्व कोषाध्यक्ष चित्रलेखा यादवलाई संघको नेतृत्वका लागि आग्रह गरेपनि उनले अस्वीकार गरेको निकट स्रोतले जनाएको छ । त्यस्तै, पौडेल पक्षबाट दुई मध्य एकलाई संघको नेतृत्वमा अघि सार्ने भएको छ ।

बिहीबार ढुंगेधारामा पौडेल निकट नेता तथा महिला नेत्रीहरुको भेला बसेको थियो । भेलामा सहभागि बर्माका अनुसार आफ्नो पक्षको उम्मेदवारलाई विजयी गराउन सबैले आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्ने सहमति भएको छ ।

‘पुरानो संस्थापन पहिला र अहिले पनि कमजोर होइन,’ उनले भनिन्, ‘त्यसको सहज व्यवस्थापन गरेर अघि बढ्छौं ।’ पौडेल पक्षले २७ गते जिल्ला अध्यक्षहरुको भेला राखेको छ । त्यस्तै, सभापति देउवा र नेता सिटौला पक्षले पनि संघको नेतृत्व आफ्नो पक्षमा पार्न निरन्तर भेला र बैठकहरुलाई जारी राखेका छन् ।

 

प्रकाशित: २३ भाद्र २०७३ १३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App