२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कृषि कर्मबाटै दसौं लाख आम्दानी

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका किसानका साथ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालसहित मन्त्रालयका अधिकारी । तस्बिर : नागरिक

काठमाडौं - केही हजार आम्दानीका लागि झन्डै १५ सय नेपाली युवाले दिनहुँ देश छाडिरहेका छन् । तर, त्यस्तै युवाले यहीं कृषि कर्म गरेर महिनामै लाखौं आम्दानी गरिरहेका छन्।

पालुङटार नगरपालिका–७ गोरखाका राजेन्द्ररजा पन्त, भरतपुर महानगरपालिका–२३ चितवनका योगेन्द्रबहादुर खड्का, खजुरा गाउँपालिका २ बाँकेका लालबहादुर सुनार, ननुपट्टी गाउँपालिका–५ धनुषाका बौएलाल मुखिया र टीकापुर नगरपालिका १ कैलालीका रामबहादुर कुँवरले मुलुककै उत्कृष्ट किसानको पहिचान बनाएका छन् । उनीहरुलाई सरकारले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित गरेको छ । उत्कृष्ट किसानलाई बुधबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले सम्मान गरे । पन्तलाई दुई लाख रुपैयाँ र अन्य चारजनालाई जनही एक लाख रुपैयाँले पुरस्कृत गरिएको हो।

वैदेशिक रोजगारीमा जाने अधिकांश युवाले कृषिका काम गर्न लाज मान्नेमात्र होइन, केही आम्दानी हुँदैन भन्ने धारणा बनाइरहेका बेला मुलुकभित्रै कृषि कर्मबाटै मासिक दुई लाख रुपैयाँसम्म मुनाफा गर्न सकिन्छ भन्ने यी उत्कृष्ट किसानले प्रमाणित गरेका छन् । हेला गरिने कृषि पेसा पछिल्लो सयम मनग्य आम्दानी हुने सम्मानित पेसाको रुपमा रुपान्तरित हुँदैछ ।

बाख्रापालन गर्दै आएका भरतपुर महानगरपाकिला–२३ का खड्का राष्ट्रपति पुरस्कार पाउँदा दंग थिए । ‘राम्रो काम गरेको भन्दै सरकारले सम्मान गरेकोमा गर्व लागेको छ,’ उनले भने, ‘कृषि पेसा पनि सम्मानित भएछ ।’ वैदेशिक रोजगारीमा जाने कि नजाने भन्ने अन्योलका बीच बाख्रापालन सुरु गरेका खड्काले गर्वका साथ भने, ‘घरमै बसेर मासिक दुई लाख कमाइ गर्छु।’

जगतपुर एग्रो प्राइभेट लिमिटेड दर्ता गरी बाख्रापालन गर्दै आएका खड्काका तीन सय बाख्रा छन् । भारतबाट खसी र बोकाको मासु आयात प्रतिस्थापन गर्ने उद्देश्यले स्थापना भएको फर्मले यो वर्षमात्र करिब दुई करोड रुपैयाँको कारोबार गरेको छ । ‘राज्यलाई करिब तीन लाख कर पनि तिरेका छौं,’ खड्काले भने, ‘आफ्नै मेहनतले यो अवस्थामा आएका हौं ।’ खड्काले बाख्रापालनमा तीन करोड रुपैयाँ लगानी गरेका छन् । ‘फर्ममा नौजनालाई रोजगारी मिलेको छ,’ उनले भने, ‘आधुनिक रुपमा बाख्रापालन गरेका छौं ।’

पालुङटार नगरपालिका–७ गोरखाका पन्त अर्का उत्कृष्ट किसान हुन् । उनले गाईपालनबाटै वार्षिक एक करोड आम्दानी गर्छन् । उनले पाँच करोडको लगानीमा कामधेनु गाईपालन केन्द्र सञ्चालन ल्याएका हुन् । तीन सय गाई पालेका पन्त पनि राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भए ।

पन्तले ३५ जनलाई रोजगारी पनि दिएका छन् । तीन सय ५७ रोपनी जग्गामा घाँस खेती र १७ रोपनीमा गाई फर्म सञ्चालन गरेका पन्तले दैनिक १४ सय लिटर दूध उत्पादन गर्ने गरेको बताए । पन्तले नमुना फर्मको रुपमा गाई गोठ, प्रशिक्षण केन्द्र, दाना उत्पादन घर, चिलिङ भ्याट, पराल राख्ने घर, च्याफ कटर बनाएका छन् । पन्तले पशुपालनलाई आधुनिकीकरण गर्न मिल्किङ मेसिन र घाँस काट्ने मेसिन प्रयोग गर्छन् । ‘स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिन्छ,’ पन्तले भने, ‘मासिक दुई लाख रुपैयाँ खुद नाफा कमाउँछु।’

वैदेशिक रोजगारीमा जाने अधिकांश युवाले कृषिबाट केही आम्दानी हुँदैन भन्ने धारणा बनाइरहेका बेला मुलुकभित्रै कृषि कर्मबाटै मासिक दुई लाखभन्दा बढी मुनाफा गर्न सकिन्छ भन्ने उत्कृष्ट किसानले प्रमाणित गरेका छन् ।

माछापालन गर्दै आएका ननुपट्टी–५ धनुषाका किसान मुखियाले वािर्षक ८० लाख रुपैयाँ आम्दानी गर्छन् । १४ बिघा क्षेत्रफलमा फैलिएका ४३ पोखरीमा माछापालन गर्दै आएका मुखियाले सिल्भर कार्प, नैनी, रोहु, बिग हेड, भ्याकसर, रुपसदा जातका माछा पालेका छन् । उनले वािर्षक दुई करोड ५० लाख गोटा माछा उत्पादन गर्छन् । मुखियाले मत्स्य प्रजनन केन्द्रमा १५ जनालाई रोजगारी दिएका छन् ।

पशुपालनमात्र नभएर च्याउ खेतीबाट पनि किसानले राम्रो आम्दानी गर्न सफल भएका छन् । खजुरा–२ का उत्कृष्ट किसान सुनारले च्याउखेतीबाट लाखौं आम्दानी गरेका छन् । एक करोड रुपैयाँ लगानीमा एक बिघा जग्गामा च्याउ खेती गर्दै आएका सुनारले १६ जनालाई रोजगारी पनि दिएका छन् ।एक करोड २५ लाख रुपैयाँको लगानीमा केरा खेती गरिरहेका टिकापुर–१ कैलालीका किसान कुँवर पनि अर्का सफल किसान हुन् । ३५ बिघा जग्गा भाडामा लिएर केरा खेती गरेका कुँवरले ३५ जनालाई रोजगारी दिएका छन् ।

किसानलाई प्रोत्साहित गर्न सरकारले पनि विभिन्न अनुदान दिँदै आएको छ । कृषि तथा पशुजन्य वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा स्वदेशमै उत्पादन गर्दा बजारको समस्या नभएकाले पनि किसानको आकर्षण बढ्दै गएको छ ।कृषि पेसा सम्मानित व्यवसायको रुपमा स्थापित हुँदै गएको मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले बताए । ‘स्वदेशमै कृषि कर्मबाट लाखौं आम्दानी गर्न सकिन्छ भन्ने किसानले प्रमाणित गरेका छन्,’ उनले भने, ‘कृषि उद्यम गर्ने किसानलाई सरकारले पनि सघाउँछ ।’


 

प्रकाशित: २१ असार २०७५ ००:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App