२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

विद्युत् प्रणाली सुधार्न एआइआइबीको ११ करोड अनुदान

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)ले नेपालको विद्युत् प्रणाली सुधारका लागि १० लाख डलर (११ करोड रुपैयाँ) बराबरको प्राविधिक सहायता उपलब्ध गराउने भएको छ ।

बैंकले मध्य र पश्चिम नेपालको विद्युत् वितरण प्रणाली सुधार गर्ने उद्देश्यले आयोजना प्रस्ताव तयार गर्ने प्रयोजनका लागि उक्त अनुदान सहयोग उपलब्ध गराउने भएको हो ।भारतको मुम्बईमा सोमबार र मंगलबार सम्पन्न बैंकको तेस्रो वार्षिक बैठकका क्रममा सो सहयोगसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । सम्झौतामा अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल र बैंकका उपाध्यक्ष जोएचिम भोन एम्सबर्गले हस्ताक्षर गरेका छन्।

त्यस्तै, नेपालले तामाकोसी पाँचौंसहित अन्य पूर्वाधार निर्माणमा समेत लगानी गर्न बैंकसँग प्रस्ताव गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बैंकका अध्यक्ष जिन लिकनसँगको द्विपक्षीय भेटका क्रममा एक सय एक मेगावाटको तामाकोसी पाँचौंमा करिब १५ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने भएकोले यसमा सघाउन अनुरोध गरेका थिए । जवाफमा बैंकका अध्यक्ष लिकनले आयोजनामा लगानी गर्ने विषयमा अध्ययन गर्ने र सम्भाव्य भए तुरुन्तै लगानी गर्ने आश्वासन दिए ।

उनले प्रधानमन्त्री केपी ओली चीन भ्रमणको अवसरमा अघिल्लो हप्ता बेइजिङमा पनि पूर्वाधारका क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको बताए ।छलफलमा अर्थमन्त्री खतिवडाले नेपालमा स्थिर सरकार रहेको र जनताको पूर्वाधार विकासको आकांक्षालाई समेट्ने गरी आगामी १० वर्षमा १० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य रहेको जानकारी गराएका थिए । उनले रेलवे, द्रुतमार्ग, पर्यटकीय पूर्वाधार, जलविद्युत् जस्ता ठूला आयोजनामा लगानी गर्न बैंकसँग अनुरोध गरे । अर्थमन्त्री खतिवडाले यससम्बन्धी प्रस्ताव छिट्टै बैंकमा पेस गर्ने जानकारी दिएका थिए ।

सोही अवसरमा अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले बैंकका उपाध्यक्ष डिजे पाण्डियनसँग भेट गरेका थिए । सचिव ढुंगानाले नेपालको सडक, एयरपोर्ट, जलविद्युत् लगायत पूर्वाधार क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए । नेपालको पूर्वाधार क्षेत्रमा ठूलो लगानी आवश्यक रहेको जानकारी दिँदै उनले बैंकको थप सहयोगको अपेक्षा रहेको बताए । बैंकका उपाध्यक्ष पाण्डियनले तामाकोसी पाँचौंसहित अन्य पूर्वाधार क्षेत्रमा लगानी गर्न सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए।

जुन २५ र २६ मा मुम्बइमा सम्पन्न बैठकमा बैंकका ८६ सदस्य राष्ट्रबाट सम्बन्धित देशका बैंकका गभर्नर, अर्थमन्त्री एवं सचिवहरुको सहभागिता थियो । बैठकमा सहभागीहरुले एसियाको द्रूत आर्थिक विकासका लागि पूर्वाधारमा गर्नुपर्ने ठूलो लगानी जुटाउन सजिलो नभएको र यसका लागि सरकारी, निजी क्षेत्रको लगानीका साथै एसियाली पूर्वाधार विकास लगानी बैंकजस्ता बहुपक्षीय लगानी बैंकहरुको पनि उत्तिकै साथ रहनुपर्नेमा जोड दिएका थिए । बैठकमा बोल्ने विज्ञहरुले सरकारी र निजी क्षेत्रले लगानी गरेर मात्रै नहुने बताउँदै सिर्जनात्मक तरिकाले लगानी गर्नुपर्ने धारणा राखेका थिए ।

अर्थमन्त्री खतिवडाले सहरीकरणलाई पाँच किसिमको दृष्टिकोणबाट हेर्नुपर्ने बताएका थिए । ‘सहरको विकास एक प्रक्रिया हो । यसलाई व्यवस्थित गरिनुपर्छ,’ उनले भने, ‘सहर र गाउँमा हुने असमान अवसरका कारणले बसाइँसराइ भइरहन्छ ।’ पूर्वाधार विकासका अतिरिक्त जमिन प्रयोगको नीति, स्याटलाइट सिटीको व्यवस्थापन, जनसंख्याको एकीकरण, साँस्कृतिक, पुराताŒिवक लगायत विषयको सम्बोधन, आर्थिक विकास आदिले सहरीकरण कस्तो हुने भन्ने निर्धारण गर्ने खतिवडाले बताए ।

प्रकाशित: १४ असार २०७५ ०२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App