उहिले लेक, अहिले नमुना गाउँ

मङ्गलबार, ०१ जेठ २०७५, १७ : ०५ किसान संगीत नेपाली

२०५४ सालमा उत्तरकन्या गाउँ विकास समितिको अध्यक्ष बनेपछि घलेगाउँका अगुवा प्रेमबहादुर घलेलाई गाउँको विकास कसरी गर्ने भन्ने चिन्ताले सतायो । गाउँसम्म पुग्नलाई सडक थिएन, कम्मर कसेर ५/६ घन्टा हिँड्नुपर्ने। बिजुलीबत्तीको सुविधा पनि थिएन, टुकीको भर। खानेपानी भर्न गाउँपछाडिको सातकन्या कुवामा बिहान झिसमिसेदेखि नै पालो कुर्नुपर्ने।

समुद्री सतहदेखि २१ सय मिटर उचाइको ओसिलो बस्ती । सधैं चिसो धेरैजसो तुसारो र जाडोयाममा त हिउँ नै झर्ने। खेतीबाली पनि उति राम्रो नफल्ने । समग्रमा भन्दा गाउँको अवस्था देख्दा चित्त बुझाउने ठाउँ नै थिएन । त्यही अवस्थालाई देखेर होला गाउँलेहरू बिस्तारै बेंसीसहर, पोखरा, काठमाडौंजस्ता ठाउँतिर झर्न थाले । गाउँबाट बाहिरिएका वा बाहिरबाट त्यहाँ पुग्ने पनि गाउँलाई हेलाको भावले भन्थे, ‘लेकाली साग मात्रै फल्ने ठाम ।’ यस वाक्यले तत्कालीन गाविस अध्यक्ष घलेको मनमा काँडा रोपेजस्तै भयो । चित्त साह्रै कुँडियो । र, पनि उनले जवाफ फर्काएनन्, बरु अठोट लिए कि ‘लेकाली साग फल्ने ठाम’को मुहार फेरेरै देखाउँछु । अरूले जहाँसम्म देखे, त्यहीँसम्म सोचे तर घलेले अरूले सोचेको ठाउँबाटै गाउँको मुहार फेर्ने सपना देखे । हो, त्यही सपनाले लिएको आकार हो, अहिलेको रोज्जा ग्रामीण पर्यटकीय होमस्टेगाउँ– घलेगाउँ अर्थात् सार्क राष्ट्रकै नमुना गाउँ ।

आजको घलेगाउँ 

सदरमुकाम बेंसीसहरदेखि उत्तरतिर २२ किलोमिटर दूरीमा रहेको घलेगाउँका ३५ घरमा होमस्टे सञ्चालन गरिएको छ। दुई दशक अघिसम्म धर्तीको एउटा उच्च पहाडी भूगोलमा गुमनाम अवस्थाको घलेगाउँ यो दुई दशक अवधिमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै आफ्नो गजब पहिचान बनाउन सफल भएको छ । आज स्वदेशका सबैजसो जिल्लाका आन्तरिक पर्यटक र सयौं देशका बाह्य पर्यटकले घलेगाउँको माटो टेकिसकेका छन् । पाहुनालाई गाउँमै फलाइएको भटमास, विभिन्न थरीका सागपात, च्याउ, आलुलगायत विभिन्न प्रकारका तरकारी, ढिँडो, भात, सिस्नुको खोले, गुन्द्रुक, गोलभेंडाको अचार, लोकल कुखुरा र खसीबोकाको मासुबाट स्थानीय परिकार तयार गरी पाहुनालाई खुवाइन्छ । चिसो ठाउँमा पुगेपछि स्वदेशी वा विदेशी पाहुना पनि कोदोबाट बनेको घरेलु मदिराको आशा गर्छन् । पाहुनाको आसय बुझेरै होला उनीहरू इच्छुक पाहुनालाई बेलुकी अड्कलेर एक–दुई गिलास कोदोको रक्सीले सत्कार गर्छन् । जनजातिअन्तर्गत गुरुङ र घले जातिको बसोबास रहेको सो गाउँमा पुगेपछि उनीहरूको रहनसहन, भेषभूषा, भाषा, धर्म, कला, संस्कृति, रीतिरिवाज देख्न पाइन्छ । पर्यटकलाई जातीय संस्कृतिअनुरूप घाटु, सोरठी, चुट्का, सेर्का, घ्याब्रे, कृष्णचरित्रजस्ता परम्परागत नृत्य देखाइन्छ । पाहुनालाई रमाइलो गराउन कहिलेकाहीँ झ्याउरे र दोहोरी गीतमा पनि मज्जाले नाच्छन् अनि नचाउँछन् ।

अहिले त गाउँनजिकै चिया रोपेर बगान नै बनाएका छन् । २१ सय मिटर उचाइको चिसो बिहानीमा गाउँमै उत्पादित र प्रशोधित ‘अर्गानिक ग्रिन टी’ पिउनुको मज्जै बेग्लै । ‘ग्रिन टी’को चुस्की लिएर पूरै ‘फ्रेस’ भएपछि सुरु हुन्छ प्रभातकालीन दृश्यावलोकन । गाउँमाथिको डाँडो प्राकृतिक रूपले नै ‘भ्यु प्वाइन्ट’ र त्यसमा पनि लाखौं रुपैयाँ खर्चेर ‘भ्युटावर’ पनि बनाइएको छ । बादल नलागेको बिहान भेट्नु–नभेट्नु भाग्यको कुरो । छ्यांग खुलेको समयमा सूर्योदय हुँदै गर्दा अन्नपूर्ण हिमशृंखलामा देखिने लालीमा त आम्मै... ! सँगसँगै सूर्योदयको मनोरम दृश्यले पर्यटकलाई एकपटक त आपूmले स्वर्ग देखेको आभास गराउँछ । त्यहाँबाट चिटिक्क मिलेको घलेगाउँ, विभिन्न लेक, हिमाली खर्क, घनपोखरा, भुजुङ, खुदी, भुलभुले, बाग्लुङपानी, सिम्पानीका विभिन्न भूभागको मनमोहक दृश्यावलोकन पनि गर्न सकिन्छ । प्रदेशकै नमुना चियाबारी, उत्तरकन्या देवी मन्दिर, गुम्बा, उत्तरबाहिनी सातकन्या कुवा, जातीय संग्रहालयमा पौराणिक महत्वका हस्तकलाका सामग्री, परम्परागत भेडीगोठजस्ता विभिन्न स्थानको पनि अवलोकन गर्न पाइन्छ। समयानुसार उनीहरूको जातीय चाडपर्व र रीतिरिवाज पनि हेर्न पाइन्छ । घले र गुरुङ बस्ती नजिकै दलित समुदायको बस्ती पनि छ । देशमै उदाहरण प्रस्तुत गर्दै दलित समुदायमा पनि होमस्टे सञ्चालन गरिएको छ। दलित समुदायका बारेमा जान्न र बुझ्न चाहनेलाई त्यो राम्रो गन्तव्य बन्न सक्छ । पछिल्लो समयमा देशविदेशबाट पर्यटकको चाप बढेसँगै होमस्टेका अलावा सुविधासम्पन्न रिसोर्ट पनि सञ्चालन गरिएको छ । होटलमा बस्न चाहने पर्यटकलाई त्यहाँ बस्ने सुविधा पनि उनीहरूले दिएका छन् । सामान्यतः एक घरमा चारजना पाहुना पाल्ने भए पनि पाहुनाको चापका कारण उनीले त्यसभन्दा धेरै पनि राख्न सक्ने पूर्वाधार र संरचना बनाएका छन् ।

पर्यटन व्यवस्थापन समितिका व्यस्थापक दीर्घ घलेका अनुसार वार्षिक ३० हजार पर्यटक घलेगाउँ पुग्छन् । औसतमा घलेगाउँवासीले दैनिक सयजना पाहुना पाल्छन् । होमस्टे सञ्चालन गरेका घरले पाहुना पालेर आम्दानी गर्छन्। अरूले भने खाद्यान्न, सागपात, आलु, भटमास, च्याउको सुकुटी, कुखुरा, भेडा, खसी, बोका, अन्डा, लोकल रक्सीलगायतका वस्तु बिक्री गरेरै पनि राम्रो आम्दानी गर्दै आएका छन् । विगतको ‘लेकाली साग मात्रै फल्ने ठाम’ र आजको घलेगाउँ अर्थात् सार्क राष्ट्रको नमुना गाउँको बीच धेरै भिन्नता छ । समयको वहावसँगै घलेगाउँमा आएको परिवर्तनका साथसाथै त्यहाँको आर्थिक, भौतिक, शैक्षिक र चेनतास्तरमा पनि ठूलै परिवर्तन आएको छ ।

घलेगाउँ बनाउने यात्रा

गाउँ बनाउने भूत चढेका घलेले ०५६ सालतिर स्याङ्जाको सिरुबारी गाउँमा होमस्टे सुरु गरी पर्यटक भिœयाएर राम्रो आम्दानी गर्न थालेको कुरा सुनें । उनले सोचे, ‘गाउँमा पर्यटक ल्याउन सके त गाउँघरको खाना, दाल, तरकारी, साग, सिस्नु, कुखुरा, खसी, बोकाबाटै राम्रो आम्दानी गर्न सकिने । प्राकृतिक रूपमा पनि सुन्दर रहेकाले पर्यटकलाई गाउँको सुन्दरता पनि बेच्न सकिने, गाउँबाट १ सय ८० डिग्रीमा देखिने अन्नपूर्ण हिमशृंखलाका विभिन्न चुचुरा, त्यसभन्दा तलका हिमाली तथा मध्यपहाडी जंगल र त्योभन्दा तलका तरेली परेका पहाडी टारी, अझै तलपट्टिका फराकिला फाँट, खुदी र मस्र्याङ्दीको मनोरम सुन्दरता देखाएर पनि पैसो आम्दानी गर्न सकिने ।’

उनले सोचेनन् मात्रै । सोचलाई यथार्थमा बदल्ने यात्राको थालनी गरिहाले । वर्षौंदेखि जस्ताको तस्तै देखिने त्यो गाउँ बदल्न सकिन्छ भन्नेमा गाउँलेहरू उति विश्वस्त थिएनन् । गाउँका अगुवा हर्कबहादुर, मुक्तसिंह, पूर्णबहादुर, खिमकुमारी, शान्ता, गमबहादुर, आशवीर, गुमानसिंह गुरुङ, लीलबहादुर, गंगा, मोतीप्रसाद घलेलगायतलाई साथमा लिएर सुरु गरे होमस्टे अभियान । ०५६ सालमा आशवीर गुरुङको अध्यक्षतामा घलेगाउँ पर्यटन व्यवस्थापन तथा होमस्टे सञ्चालन समिति गठन गरियो । समिति गठनसँगै गाउँलेहरूबीच होमस्टेको चर्चा चुलिँदै गयो । गाउँका अगुवा महिला पुरुष मिलेर गए स्याङ्जाको होमस्टे गाउँ सिरुबारीमा अध्ययन अवलोकन भ्रमण गर्न । सिरुबारीका रत्नमान गुरुङ लगायतसँग होमस्टेका विषयमा अन्तक्रिया भयो । सिरुबारी हेरेपछि भने गाउँलेहरूमा केही गर्न सकिन्छ कि भन्ने आशा पलायो । उताबाट फर्किएपछि एकमनाका साथ लागे गाउँलेहरू घलेगाउँ बनाउने अभियानमा ।

२०५७ साल चैत २७ र २८ गते पहिलो घलेगाउँ महोत्सव आयोजना गरेर सुरुवात गरे गाउँ बनाउने अभियान । होमस्टे गाउँ बनाउन कस्सिएका घलेगाउँवासीलाई ‘पहिलो गाँसमै ढुंगा’ लागेझैं बनायो तत्कालीन माओेवादी द्वन्द्वले । द्वन्द्वले केही असर त गर्यो नै र पनि उनीहरूले हिम्मत हारेनन्, पछि हटेनन् । ‘पाहुना बोलाई रहे, स्वागत र सत्कार गरिरहे, न्यानो आतित्थ्यता दिइरहे र बनाए आजको घलेगाउँ ।’ झन्डै ७ सय वर्ष पुरानो बस्ती घलेगाउँ प्राकृतिक सुन्दरताले मात्र नभई गुरुङ समुदायको मौलिककला र संस्कृतिले पनि निकै अगाडि रहेको छ ।

कसरी पुग्ने घलेगाउँ

सदरमुकाम बेंसीसहरबाट साढे दुई घण्टाको सवारी यात्रा र पाँच घण्टाको पैदलयात्रापछि घलेगाउँ पुग्न सकिन्छ । बेंसीसहर, बाग्लुङपानी, कपुरगाउँ हुँदै घलेगाउँ पुग्ने पैदलमार्ग बढी चल्तीमा छ । ३२ किमि दूरीको बेंसीसहर–भुजुङ सडक कच्ची अवस्थाको भएकाले आवत–जावतमा केही असहज छ । यस आर्थिक वर्षमा सो सडकको चार किमि खण्डमा कालोपत्रे गर्ने काम भइरहेको छ ।








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad