२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पीडित नै जुटे एकीकृत बस्ती निर्माणमा

चौतारा साँगाचोकगढी नगरपालिका–१३, ठूलोसिरुवारीस्थित बोजिनी एकीकृत बस्तीमा निर्माणाधीन घर। तस्बिर : ध्रुव/नागरिक

ठूलोसिरुवारी (सिन्धुपाल्चोक) – भूकम्पले खण्डहर बनाएको चौतारा साँगाचोकगढी नगरपालिका– ठूलोसिरुबारी बोजिनीका पीडित स्थानीय स्तरबाट एकीकृत बस्ती निर्माणमा जुटेका छन्। पुनर्निर्माणका लागि सरकारले दिने अनुदानलाई एकीकृत रुपमा परिचालन गर्दै उनीहरु ४७ घरधुरीको नमूना बस्ती निर्माणमा लागेका हुन्। ५० हजार रुपैयाँ दरले निकासा भएको अनुदानको पहिलो किस्ता एउटै कोषमा जम्मा गरेर गाउँलेले असोजदेखि बोजिनी एकीकृत नमूना बस्ती निर्माण थालेका हुन्।

पीडित सम्मिलित सामुदायिक पुनर्निर्माण समिति गठन गरेर एकीकृत बस्ती निर्माणमा जुटेका गाउँलेले अहिले कामलाई तीव्र बनाइरहेका छन्। ‘असारभित्रै एकीकृत बस्तीले अन्तिम रुप पाउँदै छ,’ पुनर्निर्माण समितिका उपाध्यक्ष तोकबहादुर श्रेष्ठले भने। उनका अनुसार निर्माण अन्तिम चरणमा पुगेका २८ घरको छाना छाइसकिएको छ भने १९ घरको भुइँ तह संरचना (डिपिसी) तयार भइसकेको छ।

‘लोडबियरिङ’ संरचनाका एकै डिजाइनका घर, निलो जस्तापाता र एउटै रङरोगनसहितको साजसज्जा बस्तीको प्रमुख विशेषता रहने उपाध्यक्ष तोकबहादुर बताउँछन्। ‘परिवार सदस्यको आधारमा घरका आकार भने केही साना–ठूला छन्,’ बस्ती पुनर्निर्माणको रेखदेख गरिरहेका श्रेष्ठले भने।

समितिका अनुसार गाउँमा अनुदान पाउने लाभग्राही परिवारको संख्या भने ३६ मात्र छ । ११ परिवारले लाभग्राहीमा समेटिन गुनासो फारम भरेका छन्। गुनासो सम्बोधन नहुँदा उनीहरु अझै अनुदानबाट वञ्चित छन्। तर लाभग्राहीमा नसमेटिए पनि उनीहरुको समेत घर पुनर्निर्माण भइरहेको छ। ५० हजार रुपैयाँका दरले प्राप्त पहिलो किस्ताको १८ लाख रुपैयाँ एउटै कोषमा जम्मा भएपछि गाउँले बस्ती निर्माणमा जुटेका हुन्।

दोस्रो किस्ताको समेत एउटै कोषबाट बस्ती निर्माणमा ७२ लाख रुपैयाँ परिचालन भइसकेको समितिले जनाएको छ।

‘हालसम्म डेढ करोड रुपैयाँ लगानी भइसकेको छ,’ उपाध्यक्ष श्रेष्ठ४४ब्ल्म्एभ्च्भन्छन्, ‘अनुदानबाहेकको लागत परिवार–परिवारबाट जुटाएका हौं।’ बस्ती विकासपछि घरका आकार अनुसार भएको लगानी सम्बन्धित पीडितले बेहोर्ने उनले जानकारी दिए।

बस्तीमा नेवार समुदायको मात्र बसोबास छ। पीडितका घर भने आ–आफ्नै जग्गामा बनिरहेका छन् । ‘एकै ठाउँमा झुम्म गाउँ रहेकाले खानेपानी, शौचालय, बिजुली, सडकलगायत न्यूनतम पूर्वाधार विकासमा पहुँच स्थापित गर्न गाउँ सल्लाहमै एकीकृत बस्ती बसाल्ने निर्णयमा पुगेका हौं’, निर्माण अभियन्ता धनबहादुर श्रेष्ठले भने । आलोपालोमा कामदार परिचालन, निर्माण सामग्री ढुवानी समितिले एकद्वार नीतिअनुरुप गरिरहेको छ। यसो गर्दा ढुवानी र निर्माण सामग्री नै सस्तो पर्न गएको उनले बताए।

पानी समस्याले पुनर्निर्माणमा ढिलाइ भइरहेको स्थानीयको गुनासो। समितिले पानी समस्याकै कारण दैनिक २८ को संख्यामा परिचालन हुने कामदार १० मा झारेको छ। दुई समूहमा विभाजन गरेर उनीहरुलाई पुनर्निर्माणमा खटाइएको छ। ११ परिवारले घरमा तला थपेका छन्। अधिकांश भुइँतले छन्।

गाउँलेको एकीकृत बस्ती सपनामा वडा कार्यालयले पनि हौसला थपिरहेको छ। बस्ती बनिरहेको चौतारा–साँगाचोकगढी नगरपालिका–१३ नम्बर वडाको आग्रहमा जाइकाले प्राविधिक सहयोग गरिरहेको छ। वडा कार्यालयले नै संरचनामा एकरुपता ल्याउन घरका डिजाइन बनाएको थियो। ‘बस्तीमा सडक, खानेपानी, सामुदायिक भवन, खेल मैदानलगायत पूर्वाधार विकास गुरुयोजना वडा कार्यालयकै अगुवाइमा बनेको छ,’ वडाध्यक्ष रामप्रसाद गौतमले भने। उनका अनुसार नगरपालिकाले बस्तीमा खानेपानी व्यवस्थापनका लागि ३ लाख र रङरोगनका लागि २ लाख रुपैयाँ अनुदान विनियोजन गरेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एकीकृत बस्तीमा आकर्षण बढाउन पूर्वाधार विकासमा सघाउने नीति लिएको जानकारी गराउँदै उनले भने, ‘यो बस्तीको पूर्वाधारमा सघाउन प्राधिकरणसँग पहल थालिसकेका छौं।’

प्रकाशित: ३० वैशाख २०७५ ०२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App