हामी पदेन बहादुर

शुक्रबार, १४ बैशाख २०७५, ११ : ५२ युवराज गौतम

हाम्रा पुर्खा वीर थिए। साहसी, स्वाभिमानी, बहादुर, इमानदार अनि कर्तव्यनिष्ठ थिए। धर्मनिष्ठ, कर्मनिष्ठ र ज्ञाननिष्ठ थिए। वीर, साँच्चैका वीर पनि छन् आज थोरै नेपाली। बाँकी सबै पदेन बहादुर हौँ हामी। राष्ट्र बचाउन सकेनौँ भने केही वर्षपछि इतिहासमा लेखिनेछ, “नेपाल पूर्व बहादुरहरूको राष्ट्र थियो।” त्यो बेला पनि हामी फोसिल भइसकेको साहसका कथा सुनाइरहेका हुनेछौँ। आजकै जस्तो ‘अवस्था’ रहिरह्यो भने हामी स्वाधीन रहने स्थिति हुँदैन।

त्यसो त ‘बहादुर’ भनेकै पाहुना (आगन्तुक) शब्द हो। टर्कीमा वीरलाई बातुर भन्छन्, बगातुर भन्छन्। रसियामा बोगात्यर भन्छन्। चंगेज खाँलाई ‘यसुगेइ बघातुर’ भनेका छन् मंगोलियाका इतिहासकारले। नवौँ शताब्दीका प्रथम बुल्गेरियाली सम्राट्लाई बगातुर बगैना सेभार भनिएको छ। मंगोलियामा बहादुरलाई ‘बातार’ भनिन्छ। त्यसैबाट भयो, राजधानीको नाम उलान–बातार।

उज्बेक भाषाको बत्यार, पोल्यान्डको बोगातेर, हंगेरीको बातोर, पर्सियाको बहादोर सबै मंगोलियन शब्द ‘बघातुर’बाट फैलियो, अपभ्रंश हुँदै। टर्की पुग्दा त्यो शब्द बहादिर भयो। प्रसिद्ध फुटबलर खोगुजा बहादिर र तुर्गे बहादिर, प्रसिद्ध पुरातत्वविद् अलकिम (बहादिर), कूटनीतिज्ञ बहादिर अल्किम देमिर, अर्बपति अमिर बहादिर लगायत धेरै ‘बहादिर’ छन् त्यहाँ। वीर, साहसी, सुरो भन्ने अर्थमै लिइन्छ बहादिर शब्दलाई।

प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र त पराधीन माटोमा पनि फस्टाउँछ, सिक्किममा जस्तै।

भारतमा मुगलहरूले हमला गरेपछि मुसलमान र शिख समुदायमा ‘बहादुर’ लेख्ने चलन सुरु भयो। अरूले पनि लेख्न थाले। मुगल शासक बहादुर शाह (प्रथम) र बहादुर शाह जाफर (द्वितीय) तथा शिख धर्मगुरु तेगबहादुर लगायत कैँयन्को नामबाट यो कुरा पुष्टि हुन्छ। फिल्ड मार्सल मानेकशाले पनि आफूलाई सामबहादुर भनेका छन्। तर अर्थ एउटै हो, वीर। अंग्रेजीमा हिरो, वारिअर (योद्धा) र भेलिअन्ट्को अर्थमा प्रयोग भयो।

इसाको तेह्रौँ शताब्दीमा चंगेज खाँको साम्राज्य विस्तीर्ण हुँदै गएपछि ‘बहादुर’ शब्द एसियामा फैलिएको पाइन्छ। त्यो बेला मंगोलियाका जर्नेल सुवेदीले रसियाका किभ भोल्गाका मैदान लगायतका क्षेत्र जितेको प्रसंग इतिहासमा आउँछ। (तर नेपालका सुवेदी ब्राह्मण, क्षत्रीसँग उनको साइनो छैन।)

सुवेदी जर्नेलबेगर चंगेज खाँ सफल हुने थिएनन् भन्ने केही इतिहासकारहरूको मत पाइन्छ। लडाइँ जित्न तालिम, हतियार, अन्न, पैसा, विवेक र साहसी फौज मात्र पर्याप्त हुँदैन, योग्य सल्लाहकारहरू पनि चाहिन्छ। त्यस्ता सल्लाहकार कोही बर्दी लगाएका हुन्छन् त कोही साधारण पोसाकमा। साइरस द ग्रेट, चंगेज खाँ, बिस्मार्कलगायत धेरैले योग्य सल्लाहकारकै कारण आफ्नो व्यक्तित्व उठाए। यस्तै “उच्च मनोबलभन्दा ठूलो साथी कोही हुँदैन” भन्ने चंगेज खाँको वचन मननयोग्य छ। ‘वीर भोग्या वसुन्धरा’ (वीरले पृथ्वीको भोग चलन गर्छ भनेको त्यही हो।)

“पुर्खाले घ्यू खाएका थिए, मेरो हात सुँघ त” भनेझैँ हाम्रा हजारौँ पुर्खाको गाथा गाएर मात्र सफल हुन सक्ने अवस्था छैन। आफ्नो जग्गा बाँझै राखेर अर्काको देश हराभरा बनाउन पठाउने र ठूल्ठूला भाषण मात्र गरेर जनतालाई अल्मल्याउने अधिकांश नेताले २०४७ सालको सूर्योदयदेखि लगातार हामीलाई ढाँटिरहे। बहुदलीय व्यवस्था पुनस्र्थापना हुँदा जनताको जित भयो भन्दै गीत गाउने उनै हुन्। २०५८ सालसम्म झन्डै दशपल्ट सरकार मात्र फेरियो। धेरै दरिद्र नेता करोडपति भए। जनताको अवस्था झन् दयनीय बन्दै गयो। २०६२/०६३ सालमा २०४७ सालको ‘महान् उपलब्धि’ खरानी भयो। उनै नेताले पुनः सिन्दुरजात्रा गरे। प्रजातन्त्र गयो, लोकतन्त्र–गणतन्त्र आयो भनियो। प्रजातन्त्रको संविधान मर्दा पनि भोज खाए। गणतन्त्र जन्मिँदा पनि उनैले भोज खाए। एउटा संविधान बनाउन करोडौँ डलर सहायता बाहिरबाटै आयो। दश वर्ष लामो कालखण्ड घातप्रतिघातमै खेर गयो। तर पनि कसैले क्षमायाचना गरेनन्। उल्टो उनैले उपदेश दिए– अब चैं पक्का देश बन्छ।

राष्ट्रवादीहरू ‘प्रतिगामी’ हुन् भनिएको छ। राष्ट्रघात गरिरहेका पदेन बहादुरहरू सही छन् कि हरेक दिन विदेशी हस्तक्षेप निम्त्याउने कुकर्म नगरौँ भन्ने राष्ट्रवादीहरू? नयाँ पुस्ताले अब विचार गर्नैपर्छ।

धेरै नेपालीहरू यो कलाविहीन नाटक हेरेर दिक्क भएका छन्। नेपालमा कहिलेदेखि राजनीतिक स्थिरता होला? अन्तर्राष्ट्रिय समुदायबाट नेपालले पूर्ण विश्वास पाउने युग कहिले सुरु होला? पचासौँ लाख भाइबहिनी र छोराछोरीहरूले रगत र आँसुसँग साटेको पैसाले कहिलेसम्म नेपालको अर्थतन्त्र पुष्पित–पल्लवित भइरहला? सुँक्कसुँक्क रुँदै आमाबाबु र ससाना छोराछोरीले आफन्तलाई परदेश पठाउनुपर्ने बाध्यता कहिले रोकिएला? नेपालीहरू आफ्नो परिवारमा सँगै बस्न पाउने दिन कहिले आउला? भ्रष्ट, नालायक र कुकर्मीहरूलाई महल, गाडी र लाखौँ रुपियाँ उपलब्ध गराउन गरिबका छोराछोरीले तर्तरी पसिना काढ्नुपर्ने किन? गणतन्त्र आएपछि पनि दश बाह्र वर्षयता हजारौँ रोग थपिएका छन्। यसको उपचार गर्छ कसले? कसले फैलाइरहेको छ यो रोग ? प्रश्नहरू बेवारिस छन्।

२०४६ सालपछि कांग्रेस, कम्युनिस्ट, पूर्वपञ्च र तराईका कतिपय दलले राज गरे। जनताले बिस्तारै दलहरूलाई नै घृणा गर्ने अवस्था आयो। ‘माघ १९ गते’ उनीहरूलाई पुनः संगठित हुने मौका साबित भयो। तर सात दलको आन्दोलनले गति लिन सकेन। दिल्लीका शासकहरूले बोलाएर ‘बाह्रबुँदे’ मोहनीमन्त्र सुनाएपछि नेपाली कांग्रेसले पनि माओवादीलाई भोलिपल्टदेखि ‘महान् लोकतन्त्रवादी शक्ति’ मान्न थाल्यो। विदेशीले लेखेको ‘प्रेस्क्रिप्सन’ अनुसार संविधान त बनाइयो तर ओखतीको अनुपात मिलेन। फलस्वरूप, नवजात संविधान किन आफ्नो अनुहारसँग मिलेन भन्दै दाताहरू अझै पनि निहुँ खोजिरहेका छन्। उनीहरूको अन्नपानी खाने कतिपय व्यक्ति आआफ्ना जातिका ठेकेदार बनेर सडकमा उग्र नारा लगाउन थालेका छन्। देश नरहे के हुन्छ, मधेस त रहन्छ नि भन्छन् कोही। कोही भन्छन्, ‘हामी अल्छी, रोगी, पछौटे, जँडाहा, निरक्षर छौँ तर दोष हाम्रो होइन, फलानो जातले हामीलाई पछौटे बनायो। उनीहरूको टाउको गिँडेपछि हामी शिक्षित, सभ्य र धनी भइहाल्छौँ ।’ यदि त्यसो हुँदो त आपसमा मारामार गर्ने क्याथोलिक र प्रोटेस्टेन्टहरू, हिन्दु र मुसलमानहरू, तुत्सी र हुतुहरू सबै समृद्ध, सुखी र खुसी किन भएनन्? तसर्थ, छिमेकी मार्दा आफू खुसी, सुखी र समुन्नत भइन्छ भनेर हामीलाई उत्तेजनाको पाठ पढाउनेहरूलाई हामी प्रश्न गरौँ, “अर्को जातलाई सिध्याएर कतिवटा जाति समृद्ध भएका छन्?”

भारतीय सर्वोच्च अदालतका पूर्व न्यायाधीश मार्कण्डेय कटजुले जात, धर्म, सम्प्रदाय आदिका आधारमा राष्ट्रलाई कमजोर पार्ने नेताहरू गुण्डा हुन् भन्दै उनीहरूलाई गोली हान्नुपर्ने र झुन्ड्याउनुपर्ने बताएका छन्। जुनसुकै दलका होऊन्, सत्तामुखी मात्र भएका कारण भारतमा नयाँ खालको क्रान्ति आवश्यक छ भन्ने उनको तर्क छ। उनले राष्ट्र बचाउन आमूल परिवर्तन चाहिन्छ भन्दै जनताको स्तरोन्नति गर्न नसक्ने तर विकासका गफ मात्र हाँक्ने फटाहा नेताहरूले जातीय विद्वेष, भ्रष्टाचार, साम्प्रदायिक दुर्भावना फैलाइरहेको र उनीहरू राष्ट्रद्रोही नै हुन् भनेका छन्। उनको कथन नेपालको सन्दर्भमा समेत मिल्दोजुल्दो छ।

भारतले नेपालका कोशी, गण्डकी, कर्णाली र महाकालीजस्ता ठूला नदीको पानीबाट खानेपानी र सिँचाइलगायतको ठूलो आवश्यकता परिपूर्ति गर्ने इच्छा गरेको देखिन्छ। त्यहाँको जलस्रोत मन्त्रालय अन्तर्गतको राष्ट्रिय जलविकास एजेन्सीले ती सबै योजना अघि बढाएको कुरा सञ्चारमाध्यममा आइरहेका छन्। त्यसलाई सहज बनाउन नेपालको सीमान्त क्षेत्रमा पानी जहाजसमेत चल्न सक्ने विशाल परियोजना ल्याइनेछ भनेर नेपाललाई मक्ख पारियो। महाकाली सन्धि गर्दा नेपाललाई खर्बाैं रुपियाँ फाइदा हुन्छ भन्ने कुप्रचार गरिएझैँ पर्याप्त गृहकार्य, तयारी वा योजनाबेगर सुन्दर सपनाको व्यापार गर्नेहरूले राष्ट्रको सुदूर भविष्य हेर्न सकेनन् भने पनामा नहर वा स्वेज नहरको विवादझैँ नेपालको जलमार्गी सपनाले सयौँ वर्षसम्म नेपाल ठगिने खतरा छँदै छ।

हिन्दुस्तान टाइम्स (मार्च २२, २०१८) मा भारतको ‘जलस्वार्थ’ झल्किने समाचारले झस्काउँछ। महाकाली (शारदा) नदीबाट दिल्लीसम्म पानी पु-याउने भारतको तयारीबारे समाचारमा धेरै कुरा स्पष्ट गरिएको छ। महाकाली बेचेर नेपाललाई ‘झिलिमिली’ पार्छु भन्नेहरूकै सेरोफेरोमा नेपाली राजनीति आज पनि घुमिरहेको छ। तसर्थ, आफूलाई दिल्लीको ‘बहादुर’ प्रमाणित गर्न पदेन बहादुरहरूले कुन बेला के उपद्रो गर्ने हुन् भन्ने हेक्का नराख्ने हो भने राष्ट्र पुनः लुटिने सम्भावना देखिन्छ।

भारतका सबै स्वार्थ र ३१ वटा ठूला नदी मिसाएर जताततै पानी पु-याउने बृहत् योजनामा बाधा नपुगोस् भनेर नेपालका हरेक दलभित्र भारतले चल्ला कोरल्दै आएको छ। एमाले, कांग्रेस, माओवादी, राप्रपा वा राजावादी आदि हरेक तह र तप्कामा विदेशीका चल्ला कोरलिन्छन्। भाले हुने छाँट देखायो भने उसलाई विशेष ‘डाइट’ (आहारा) खुवाइन्छ। चुनाव जिताइन्छ र राष्ट्रवादीहरूको तेजोवध गरिन्छ । कसैलाई ‘सुरुङ युद्ध गर्छौँ’ भन्न सिकाइन्छ र दिल्लीका महँगा होटलमा घरज्वाइँ सरह पालनपोषण गरिन्छ। कसैलाई उग्र भारत विरोधी भएको नाटक गराइन्छ र सुटुक्क काम फत्ते गरेर दूधमा मरेको माखोझैँ फ्ँयाकिन्छ। कसैलाई ‘चीनका आदमी’ भन्ने टाँचा लगाएर काँचा बेलौती टोक्न लगाइन्छ, दाँत फुकालिन्छ। भालु, सर्प र बाँदर नचाउनेहरूको देशले सिंहदरबारका हरेक नायकलाई नचाउँदै आएको छ। टंकप्रसाद आचार्य र मरीचमानसिंह श्रेष्ठ जस्ता केही अपवादबाहेक नेपालका धेरै नेता दिल्लीका दास ठहरिएका छन्। आफूलाई पदेन ‘नेपाली बहादुर’ ठान्ने तर प्रधानमन्त्री भएपछि दिल्लीमै पुगेर पदको अनुमोदन गराउने रोगले २०४७ सालपछि प्रायः सबै थला परे। यो रोग यथावत छ।

महाभारत युद्धमा भीष्मलाई प्रधानसेनापति बनाइयो कौरव पक्षबाट। मद्रराज शल्य जस्ता अतिरथी थिए। कृतवर्मा अर्का अतिरथी थिए। सिन्धुराज जयद्रव्य, भूरिश्रवा, कम्बोज (हाल कम्बोडिया) का राजा सुदक्षिण, माहिष्मतीपुरीका राजा नील, अवन्तिनरेश विन्द, कृपाचार्य, शकुनी, मधुवंशी राजा जलसन्ध, राक्षसका राजा अलम्बुस, युद्धनिपुण कर्ण, गुरु द्रोणाचार्य (सैनिक शिक्षाका महारथी) सबै थिए पाण्डवहरूका विरुद्ध। प्रश्न उठ्छ– सम्पूर्ण साधनस्रोत, शक्ति, क्षमता र आत्मबल भए पनि किन हारे कौरव पक्ष? उत्तर आउँछ– त्यहाँ सत्य थिएन। उनीहरू सत्य र असत्यको युद्धमा असत्यतिर खडा भएका थिए।

नेपालमा ल्याइएको ल्याइते गणतन्त्रका पक्षमा अमेरिका, भारत र युरोपियन युनियन सबै ‘महारथी’ छन्। सिक्किमलाई भारतमा विलय गराउँदा सन्तानब्बे प्रतिशत जनतालाई राष्ट्रविरुद्ध लामवद्ध गराइएझैँ गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका पक्षमा नेपाली जनतालाई उभ्याइएको छ। नेपाल स्वाधीन रहनुपर्छ भन्ने राजालाई ‘अपराधी’ ठह-याउन खोजिएको छ। राष्ट्रवादीहरू ‘प्रतिगामी’ हुन् भनिएको छ। राष्ट्रघात गरिरहेका पदेन बहादुरहरू सही छन् कि हरेक दिन विदेशी हस्तक्षेप निम्त्याउने कुकर्म नगरौँ भन्ने राष्ट्रवादीहरू? नयाँ पुस्ताले अब विचार गर्नैपर्छ।

शुक्रनीतिमा भनिएको छ, “उद्योगेनैव सिध्यन्ति कार्याणि न मनोरथैः। न हि सुप्त मृगेन्द्रस्य निपतन्ति गजा मुखे। (श्लोक २९३) अर्थात्, रहरले मात्र होइन, प्रयासले नै कार्यसिद्धि हुन्छ। हुन पनि हो, सुतेको सिंहको मुखमा आफैँ आएर हात्ती पस्दैन। ऋग्वेदमा वर्णित ‘राजधर्म’ भन्छ, “राष्ट्रभन्दा ठूलो केही हुँदैन। त्यसैले राष्ट्रको रक्षा सर्वोपरि धर्म हो।” यी वाणी नपढेपछि राष्ट्रलाई धर्मनिरपेक्ष भन्नेहरूलाई लाज हुने कुरै भएन । धर्म भनेकै कर्तव्य हो र राष्ट्र कर्तव्यनिरपेक्ष हुनै सक्दैन।

शास्त्रले भनेको छ, “प्रलोभनमा परेर सेना पनि भाँडिन सक्छ। तसर्थ राजकाज चलाउनेहरू यसमा होसियार हुनैपर्छ।” तर राजकाज चलाउनेहरू नै विदेशीका पदचिन्ह पछ्याउँदै हिँडिरहँदा सेनाले राष्ट्रघातीकै समर्थन गरेर सलाम ठोकिरहेमा उसको भविष्य उज्यालो हुँदैन।

हाम्रा ऋषिमुनि, धर्मका ज्ञाता र शास्त्रज्ञले के गलत र के सही भन्ने कुरा छर्लङ्ग पारिदिएका छन्। कर्तव्यच्युत, दुव्र्यसनी, कायर, पराधीन, लोभी, रक्स्याहा, घमण्डी, क्रोधी आदि दुर्गुण भएका व्यक्ति असल शासक बन्न सक्दैनन् भन्ने शास्त्रमा लेखिएको छ। यदुकुल, पाण्डु, नलराजा आदिको पतन त्यस्तै कारणले भएको थियो। धर्म मान्दिनँ भन्ने सनातनी राजा बेनलाई समेत राजसभाले नै वध गर्ने निर्णय गरेको थियो। तसर्थ, नेपाल जस्तो देवभूमिमा धर्म र ईश्वरको अनादर गर्नेहरूले चुनाव त जित्लान् तर राष्ट्रधर्म र राजधर्म पालन गर्न सक्दैनन्। यो राष्ट्रकै दुर्भाग्य हो।

सन् १२५८ मा ध्वस्त भएको बगदाद सहर पुनर्निर्माण गरेर त्यहाँका राजा–प्रजाले प्राचीन सभ्यता बचाएको कुरा जवाहरलाल नेहरुले ग्लिम्पसेज अफ वल्र्ड हिस्ट्री ग्रन्थमा उल्लेख गरेका छन्। बगदाद मात्र होइन, संसारका धेरै देशमा सभ्यता बचाउन त्यहाँका जनताले अहर्निश प्रयत्न गरेका उदाहरण छन्। उत्थान–पतन इतिहासको विभिन्न कालखण्डको श्वासप्रश्वास जस्तै हो तर जब राष्ट्रिय एकता, स्वतन्त्रता, सार्वभौमसत्ता, धर्म–संस्कृति, परम्परा सबै निर्मूल हुँदै जान्छ, तब राष्ट्र निर्जीव बन्छ। प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र त पराधीन माटोमा पनि फस्टाउँछ, सिक्किममा जस्तै। तर त्यहाँ जनताको शिर झुकिरहन्छ। जनता दास भइरहन्छन्। के हामीले खोजेको त्यस्तै गणतन्त्र हो?







यसमा तपाईको मत


अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करणको अपडेट पाउने  स्मार्टफोनहरू

एन्ड्रोइडको नयाँ संस्करणको अपडेट पाउने स्मार्टफोनहरू

यहाँ विभिन्न स्मार्टफोन निर्माताहरूको कुन कुन मोडलले एन्ड्रोइडको नयाँ संस्करणको अपडेट पाउने निश्चित भएको छ भन्ने कुराको जानकारी दिईएको छ

मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीहरुलाई आकर्षक अफर

मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीहरुलाई आकर्षक अफर

मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लागी आकर्षक अफर ल्याएको छ । ...

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...