२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

गायिका राधालाई टेम्के तुवाचुङ गायन पुरस्कार

गायिका राधा राई।

खोटाङ – टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङले गायिका राधा राईलाई टेम्के तुवाचुङ गायन पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। जिल्लाको भाषा, कला, साहित्य, गीतसंगीत, खेलकुद लगायतका क्षेत्रमा विशेष योगदान पुर्याउने उत्कृष्ट प्रतिभालाई प्रदान गरिने पुरस्कार यस वर्ष गायनतर्फ गायिका राईलाई प्रदान गर्न लागिएको हो। टेम्के तुवाचुङ प्रतिष्ठानले बुधबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर आगामी वैसाख ८ गते हलेसीमा हुने तेश्रो वार्षिकोत्सवको अवशर पारेर ११ हजार १११ रुपैयाँ राशिको प्रतिभा पुरस्कार प्रदान गर्ने जानकारी दिएको छ।

साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी गायीका राईले नेपाली सांगीतिक क्षेत्रको वृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्याएकाले टेम्के तुवाचुङ प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानकी सह–सचिव सबिता भुजेलले बताइन्। हङकङमा बसोबास गरिरहेका नेपाली साहित्यकारको पहलमा २०७० सालमा स्थापना गरिएको २ लाखको अक्षय कोषबाट प्रतिष्ठानले बिभिन्न विधाका प्रतिभालाई वार्षिकरुपमा पुरस्कृत गर्दै आएको जनाएको छ।

यसअघि २०७२ सालमा कबि चन्द्र रानोहँछा र २०७३ सालमा सितोरियो करातेका खेलाडी सञ्जयकुमार राईले टेम्के तुवाचुङ प्रतिभा पुरस्कार पाइसकेका छन्।

यसअघि सम्म सदरमुकाम केन्द्रित कार्यक्रम गर्दै आएको प्रतिष्ठानले यसपल्ट बाहिर वार्षिकोत्सव गर्न लागेको हो। कार्यक्रममा अलग अभियान, साईनो कला केन्द्र, पूर्वेली सरगम संगीत विद्यालय, बासुरी बाधक नगेन्द्र राई, रोल्पाली कबि बिकास रोक्का मगरको प्रस्तुती रहने सहसचिव भुजेलले जानकारी दिइन्।

प्रकाशित: २२ चैत्र २०७४ १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App