२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अभिभावक नभएका बालबालिकालाई नगरपालिकाको भत्ता

सुर्खेत- गुर्भाकोट नगरपालिकाले अभिभावकको संरक्षकत्वबाट बञ्चित बालबालिकाका लागि भत्ता दिने निर्णय गरेको छ। असहाय, अनाथ र जोखिममा रहेका बालबालिकाका लागि सामाजिक सुरक्षावापत मासिक पाँच सय रुपियाँ भत्ताको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको छनौट तथा सहयोग मापदण्ड बनाएर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गर्न लागिएको मेयर हस्त पुनले जानकारी दिए । ‘जोखिममा परेका, विशेष संरक्षणको आवश्यकता भएका, बेवारिसे अवस्थामा रहेका बालबालिकाको उद्दार गरेर परिवारमा पुनर्मिलन गर्नुका साथै आफ्ना सन्तानको उचित हेरचाह, पालनपोषण, शिक्षादीक्षा तथा संरक्षण गर्न बुवा–आमा वा संरक्षकलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरेका हौं’ मेयर पुनले भने, ‘सामाजिक सुरक्षावापतको पाउने भत्ता स्थानीय सहकारीमा खाता खोलेर वडा कार्यालयमातर्फत उपलब्ध गराउँछौं।’

जोखिममा परेका बालबालिकाहरुको पहिचानका लागि वडा अध्यक्षको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरिएको छ। समितिले गरेको सिफारिसका आधारमा नगरपालिकाले रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

मेयर पुनका अनुसार बुवा–आमाको मृत्यु भई अनाथ भएका, अलपत्र वा बेवारिसे अवस्थामा फेला परेका, बुवाको पहिचान नखुलेका, आमाको मृत्यु भएका, आमा–बुवा दुबै गम्भीर शारिरिक वा मानसिक स्वास्थ्य समस्या भएका, बुवा–आमा दुबै अपाङ्गताको वर्गिकरणमा परेका, आमा–बुवा दुई जिवितै रहेपनि आफ्ना सन्तानको हेरचाह नगरी अलपत्र पारेका वा सन्तान छोडेर अर्को विवाह गरेका, नातेदार वा अन्य कसैको संरक्षणमा रहेका, बुवा–आमा वा संरक्षकबाट हिंसामा परेकालगायतका मापदण्डका आधारमा सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको छ ।

‘वडा अध्यक्षको संयोजकत्वमा गठित समितिले माथिका मापदण्डहरु पूरा भएका बालबालिकाको तथ्याङ्क संकलन गरेर त्यसको विवरण नगरपालिका कार्यालयमा उपलब्ध गराएका आधारमा स्थानीय स्तरमा महिलाद्धारा प्रवद्र्धित सहकारीमा निःशुल्क खाता खोलेर मासिक पाँच सयका दरले भत्ता उपलब्ध गराउने छौं’ उनले भने, ‘संकलित रकम विद्यालयको सिफारिसमा बालबालिकाको संरक्षकले भुक्तानी लिने व्यवस्था गरिएको छ।’

एक सय ४८ बालबालिका जोखिममा

नगरपालिकाले महिला तथा बालबालिका कार्यालय सुर्खेतसँगको सहकार्यमा आफ्नो क्षेत्रभित्र जोखिममा रहेका बालिकाको तथ्याङ्क संकलन सम्पन्न गरेको छ । नगरपालिकाभित्र ७६ पुरुष र ७२ महिला गरेर एक सय ४८ बालबालिका जोखिमा रहेको सो तथ्याङ्कमा उल्लेख छ । ति मध्ये ७८ दलित, २७ जनजाति र ४३ अन्य छन् । महिला तथा बालबालिका कार्यालयका बाल अधिकार अधिकृत प्रेमप्रसाद आचार्यका अनुसार ५३ बालबालिका आमा र बुवा दुबै छैनन् । ७५ बालबालिकाका बुवा छैनन् भने १९ बालबालिकाका आमा छैनन् ।

मेयर पुनले संकलित तथ्याङ्कका आधारमा माघदेखि अभिभावकको संरक्षकत्वबाट बञ्चित बालबालिकाका लागि सामाजिक सुरक्षा भत्ता दिइने बताए । ‘महिला तथा बालबालिका कार्यालयसँगको सहकार्यमा हामीले नगरपालिकाभित्र रहेका अभिभावकको संरक्षकत्वबाट बञ्चित बालबालिकाको तथ्याङ्क निकालेका छौं’ उनले भने, ‘ति बालबालिकालाई माघदेखि भत्ता वितरण सुरु गछौं।’

प्रकाशित: १६ पुस २०७४ ०९:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App