२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बार्सिलोना र चेल्सी अन्तिम १६ मा

पेरिस- बार्सिलोना र चेल्सीले बुधबार च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको दिन बासेलसँग स्तब्ध भएपछि म्यानचेस्टर युनाइटेडले अघिल्लो चरण प्रवेशका लागि अन्तिम खेलसम्म कुर्नुपर्ने भएको छ ।
बार्सिलोनाले युभेन्ट्सको घरेलु मैदानमा सम्पन्न खेलमा गोलरहित बराबरी खेले तापनि समूह ‘डी’ को विजेताका रूपमा अन्तिम १६ को टिकट काटेको हो ।
यस नतिजापछि ५ खेलको समाप्तिमा ११ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ र समान खेलमा ८ अंक जोडेको युभेन्ट्स दोस्रो, ७ अंक जोडेको स्पोर्टिङ सिपी तेस्रो र १ अंक जोडेको ओलम्पियाकोस अन्तिम स्थानमा छन् ।
त्यस्तै चेल्सीले क्वाराबाजलाई ४–० ले पराजित गर्दै समूह ‘सी’ को विजेताका रूपमा अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।
२१औं मिनेटमा इडेन हाजार्डले गरेको पेनाल्टी गोलमा चेल्सीले अग्रता लिएको थियो । ३६औं मिनेटमा विलियानले गोल गर्देै चेल्सीको अग्रता दोब्बर पारेका थिए । ७३औं मिनेटमा सेस फ्राब्रिगासले गोल गर्दै टोलीको अग्रता बढाएका थिए । खेल सकिन ७ मिनेट बाँकी हँुदा विलियानले व्यक्तिगत दोस्रो गोल पूरा गर्दै चेल्सीको सहज जित पक्का गरेका थिए ।
यस जितपछि ५ खेलको समाप्तिमा १० अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ । समान खेलमा ८ अंक जोडेको रोमा दोस्रो र ६ अंक जोडेको एट्लेटिको मड्रिड तेस्रो स्थानमा छन् । २ अंक जोडेको क्वाराबाज चौथो स्थानमा छ ।
समूहको अर्कोे खेलमा एट्लेटिकोले रोमालाई २–० ले पराजित गरेको छ । एट्लेटिकोको जितमा एन्टोनी ग्रिजम्यान र केभिन गामेरियोले समान १÷१ गोल गरेका थिए ।
यता बासेललाई १–० को नतिजा सुम्पिएको युनाइटेडले अन्तिम १६ मा स्थान सुरक्षित गर्न अन्तिम खेलसम्म कुर्नुपर्ने भएको छ ।
८९औं मिनेटमा मिचेल लाङले गरेको गोल नै बासेलको जितका लागि पर्याप्त भयो ।
यस नतिजापछि ५ खेलको समाप्तिमा १२ अंक जोडेको युनाइटेड समूह ‘ए’ को शीर्ष स्थानमा छ । समान खेलमा समान ९÷९ अंक जोडेका बासेल र सिएसकेए मस्को क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अंकविहीन बेनफिका अन्तिम स्थानमा छ ।
त्यस्तै समूह ‘बी’ को खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी)ले सेल्टिकमाथि ७–१ को सानदार जित हात पार्दा बायर्न म्युनिखले एन्डरलेकलाई २–१ ले पराजित गरेको छ ।
यस जितपछि ५ खेलसम्म शतप्रतिशत नतिजालाई निरन्तरता दिएको पिएसजी १५ अंकका साथ शीर्ष स्थानमा छ । समान खेलमा १२ अंक जोडेको बायर्न दोस्रो, ३ अंक जोडेको सेल्टिक तेस्रो र अंकविहीन एन्डरलेक चौथो स्थानमा छन् ।

प्रकाशित: ८ मंसिर २०७४ ०४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App