२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बेनीमा ९ दिनदेखि खानेपानीको अभाव

म्याग्दी– सदरमुकाम बेनीमा नौ दिनदेखि खानेपानीको हाहाकार भएको छ। बेनीमा खानेपानी वितरण हुँदै आएको आयोजनाको पाइप लाइनका ठाउँ-ठाउँमा पहिराले पाइप फुटाएपछि खानेपानी आपूर्ति बन्द भएको हो।

बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले राम्चे गाविसस्थित पुम्दीखोला र भकिम्ली गाविसको दूधेखोलाबाट पानी ल्याएर सदरमुकाम बेनीसहित बगरफाँट र मङ्गलाघाट क्षेत्रका ९५० घरमा खानेपानी आपूर्ति गर्दै आएको छ।

वर्षाका कारण झरेको पहिराले विभिन्न स्थानमा पाइप फुटेपछि सो क्षेत्रमा खानेपानी वितरण ठप्प बनेपछि उपभोक्ता समस्यामा परेका छन्। खानेपानी आपूर्ति बन्द भएपछि सदरमुकामवासीको दैनिकी नै कष्टकर बनेको छ। पुम्दीखोलाको मुहानदेखि केही तल चार ठाउँमा पाइप भाँचिएको तथा चमेरे र राहुपारेमा पाइप बगाइदिएको छ।

बेनीदेखि गलेश्वरका बीचमा दुई स्थानमा पाइप फुटेको छ। दूधेखोलामा भकिम्ली–९ तोराखेतबाट झरेको पहिराले पाइपमा क्षति पुर्याएको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले बताए।

उनले पहिराले दर्जन बढी स्थानमा पाइपमा क्षति पुर्याएपछि समितिले मर्मतको काम गरिरहे पनि पहिराेका कारण मर्मतसम्भारमा कठिनाइ भएको बताए। दुवै मुहानबाट ल्याइएको पानी बेनीबजारभन्दा माथि बराहपाखो सामुदायिक वनमा निर्माण गरिएको ट्यांकीमा जम्मा गरी वितरण हुँदै आएको थियो।

उपभोक्ता समितिका प्रबन्धक चन्द्रबहादुर थापाले पहिराले पाइप लाइन बिगारेका ठाउँमा पोलिथिन पाइप जडान गरेर भए पनि खानेपानी आपूर्ति सहज गराउन लागिएको जानकारी दिए।

यसैबीच खानेपानी आपूर्ति बन्द भएर सर्वसाधारण समस्यामा परेपछि केही निजी मुहानबाट खानेपानी जडान गरेका स्थानीयवासीले सर्वसाधारणलाई निःशुल्क पानी उपलब्ध गराएका छन्।

गणेशटोलमा रहेको होटल शिखर, शान्तिटोलमा मिलन श्रेष्ठलगायतले व्यक्तिगत रुपमा घरमा जडान गरेको खानेपानी २४सै घन्टा सर्वसाधारणका लागि खुला गरी वितरण गर्न थालेपछि सर्वसाधारणले केही राहतको महसुस गरेका छन्। रासस

 

प्रकाशित: १८ श्रावण २०७३ ०८:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App