२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सहिद परिवार भन्छन् : बलिदानीको राजनीति धेरै भयो

मलेठ(सप्तरी)- गत्त फागुन २३ गत्ते पाँच जनाको ज्यान जानेगरी भएको सप्तरीको मलेठ घटनाका सहिद सञ्जन मेहता परिवारका लागि मनकारीबाट प्राप्त आर्थिक सहयोग नागरिकन्यूजमार्फत सोमबार हस्तान्तरण गरिएको छ । बेलायतको प्रेस्टनमा कार्यरत चिकित्सक डा. सन्दिप ढुंगानाले नागरिकन्यूजमा मेहता परिवारको बेहाल कथा पढेर २८ हजार रुपैयाँ नगद सहयोग गरेका हुन् ।

बलिदानी दिनेको परिवारलाई राजनीतिक स्थान दिनेभन्दा लाभ दिनेलाई स्थान दिने प्रवृती बढ्दै गएको सहिद परिवारको गुनासो छ ।

    सोमबार मलेठस्थित निवासमा सहयोग रकम ग्रहण गर्दै मेहता भावुक बने । आँखा रसाउँदै उनले भने, ‘कमाउने हात(छोरा सञ्जन) गुमाएदेखि परिवार सम्हाल्नै मुस्किल छ ।’ गाउँमै चलाउँदै आएको किराना र पान पसलमा अडिएको छ मेहता परिवारको जिन्दगी । सम्पत्तीको नाममा गाउँमा जस्तापाताले छाएको घर मात्र छ । तीन छोरामध्ये जेठो रञ्जन किराना पसल चलाउँछन् । लक्ष्मण आफैँ पान पसल चलाउँछन् । कान्छो कलेज पढ्दै छन् ।
मधेस अधिकार आन्दोलनमा सहिद भनेर सीमित पारिएकोमा अन्य सहिद परिवारजस्तै सञ्जनको परिवारमा पनि  असन्तुष्टि देखिन्छ । ‘छोरा मारिएपछि तत्कालिन मधेसी मोर्चाका नेताहरू झण्डा ओडाएर मोर्चाको कार्यकर्ताको नाम दिए लक्ष्मण भन्छन्, ‘त्यसपछि फर्केर हेर्न आएनन् ।’    
मधेस अधिकारका नाममा भिडन्त गराएर छोरा ‘खोसे’ पनि राजनीतिक लाभको बखत मधेस केन्द्रित दलका नेताहरू सहिद परिवारलाई पन्छाएर अघि बढेको उनको गुनासो छ । ‘मधेस अधिकारको नाममा भिडन्त गराएर मधेसी नेताले हाम्रो परिवारको सहारा छोरा खोसे,’ सोमबार भक्कानिँदै उनले भने, ‘मधेस आन्दोलनले मेरो परिवार बर्बाद बनाइदियो ।’
    बलिदानी दिनेको परिवारलाई राजनीतिक स्थान दिनेभन्दा लाभ दिनेलाई स्थान दिने प्रवृती बढ्दै गएको सहिद परिवारको गुनासो छ । तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राजविराज नगरपालिका–९ मलेठमा राजपाबाट सहिद सञ्जन मेहताका दाइ रञ्जनले वडाअध्यक्षको टिकट माग गरे । रञ्जन टिकटका लागि काठमाडौं पुगेर राजपाका केन्द्रीय नेता गुहारे । लक्ष्मण भन्छन्, ‘केन्द्रीय नेताहरू टिकट पाउने आश्वासन दिएर पठाए तर, टिकट पाउनेबेला अर्कैले पाए ।’
यो वडामा राजपाबाट शम्भु यादव(लाली)ले टिकट पाए । र, उनी उडाअध्यक्षमा चुनाव जितेका छन् ।
    मधेस केन्द्रित दलका नेताप्रति अक्रोश मिश्रित असन्तुष्टि पोखे पनि आश अझै जीवित राखेका छन् सहिद परिवार । लक्ष्मण भन्छन्, ‘प्रदेश र प्रतीनिधि सभामध्ये कुनै एकमा हामी सहिद परिवारलाई मनोनित गरिदिए राहत हुन्थ्यो ।’
 

मेहता परिवारको विजोग
छोरा सञ्जन मारिएसँगै नवविहिता बुहारी घर छोडेर माइततिर लागिन् । छोरालाई सरकारले सहीद घोषणा गरेर दिएको दस लाख क्षतिपूर्तिको निर्णय ग¥यो । तर, सहिद सञ्जन मेहता परिवारको त्यो चेक आठ महिनासम्म जिल्ला प्रसाशन कार्यालय सप्तरीमै थन्कियो । घर छोडेर गएकी बुहारीले क्षतिपूर्ति रकममा दाबी गरेपछि जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई चेक दिएन । सरकारले दिएको क्षतिपूर्ति रकमले मेहता परिवारमा चिरा पारिदिएको छ । आठ महिनादेखि जिप्रकामा थन्किएको चेकको छिनोफानो तिन दिन अगाडि मात्र भएको छ । क्षतिपूर्ति रकमको दस लाखमध्ये तीनलाख लक्ष्मणलाई र सात लाख उनकी बुहारीलाई दिएर क्षतिपूर्ति रकमको झमेला सल्टेको छ ।  
मधेस आन्दोलन, चुनाव र परिवारको स्थितिबारे सोधीखोजी गर्दा उनी थप भावुक बने । आँखाभरि आँसु पार्दै प्रश्न गरे, ‘निर्दोषको लास भजाएर कहिलेसम्म राजनीतिको दाउ लगाउने ? यती धेरै मधेसी युवाको बलिदानीले मधेसी समाजमा के परिवर्तन ल्यायो ?’ अन्ततः सबै आन्दोलनकारी दल शान्तिपूर्ण रुपमा चुनावी प्रक्रियामै आएका छन् । जुन संविधानको विरोध गरेर यती धेरै मधेसी युवाको बलिदानी चढाए त्यहीँ संविधानअन्तर्गत चुनाव लडे÷लड्दैछन् ।’
‘मेरो छोराको राजनीतिसँग कुनै साइनो थिएन । मधेस अधिकारको नाममा भएका दशकलामो आन्दोलनमा मारिएका धेरै युवाको राजनीतिसँग साइनो थिएन । मधेसी नेताहरूले गरेको आन्दोलनले निम्त्याएको भिडन्तले मैले सक्षम छोरा गुमाउन पुगेँ । यो अवधीमा मजस्ता करिब डेढसय पिताले छोरा गुमाएका छन् । जे माग राखेर आन्दोलन गरिएको थियो त्यो पुरा त भएन’, उनी भन्छन् । कहिलेसम्म निर्दोषको बलि चढाएर राजनीतिक दाउ साधिरह्ने ? उनले आँशुको भारी थप्पक बिसाउँदै भने, ‘बलिदानीको राजनीति धेरै भयो ।’

प्रकाशित: ७ कार्तिक २०७४ ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App