२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनआरएनको आठौं विश्व सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलन शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । सम्मेलनमा ७० देशबाट दुई हजारभन्दा बढी गैरआवासीय नेपाली सहभागी छन् ।
विश्व सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको समृद्धिले सबै गैरआवासीय नेपालीको शीर उँचो हुने बताइन् । उनले नेपालको संविधानले नै गैरआवासीय नेपालीलाई विशेष महŒव दिएर विशेष व्यवस्था गरी अझ नजिक बनाएको बताइन् । ‘नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सांस्कृतिक, सामाजिक अधिकार सहित दोहोरो नागरिकता दिने भनिसकेको छ,’ राष्ट्रपति भण्डारीले सम्बोधन गर्दै भनिन्, ‘यसले गैरआवासीय नेपालीलाई अझ नजिक ल्याउन सहयोग गरेको छ ।’
गैरआवासीय नेपालीले नेपालमा आफैंले लगानी गरेर र विदेशी लगानीलाई सहजीकरण गरेर समृद्धिमा सहयोग गर्न सक्ने राष्ट्रपति भण्डारीको भनाइ छ । उनले भूकम्पपछिको पुनर्निर्माणमा गैरआवासीय नेपालीले गरेको उल्लेख्य सहयोग प्रशंसनीय भएको भन्दै धन्यवाद दिइन् ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले गैर आवासीय नेपालीलाई मुलुकको निजी क्षेत्रसँग मिलेर संयुक्त लगानी गरी अघि बढ्न आह्वान गरिन् । मुलुक विकेन्द्रीकरणमा गएको, स्थानीय चुनाव सम्पन्न भएको, विभिन्न ऐन, नियम बनेको र बन्ने क्रममा रहेको भन्दै लगानी अनुकूल वातावरण बन्दै गएको बताइन् । ‘मुलुकको आर्थिक समृद्धिप्रति ‘सबै राजनीतिक दलको प्रतिबद्धता आइसकेको छ,’ राणाले भनिन्, ‘आउनुस् लगानी गरौं, अनुकूल वातावरण बनेको छ ।’ उनले नेपाल दक्षिण एसियामा ‘डुइङ बिजनेस’मा अग्रस्थानमा रहेको र उदीयमान अर्थतन्त्र भएको मुलुक भएकाले पनि प्रतिफल आउन सक्ने वातावरण बनेको बताइन् ।
परराष्ट्र मन्त्री कृष्णबहादुर महराले मुलुकमा पर्यटन, कृषि, सेवा लगायत क्षेत्रमा लगानी गर्न सकिने प्रचूर सम्भावना रहेको औंल्याए । मुलुकको आर्थिक विकास गर्न गैरआवासीय नेपालीहरूको महŒवपूर्ण भूमिका रहेको भन्दै सदैव सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । ‘बजार खोज्न, पर्यटन विकास गर्न र लगानी भिœयाउन तपाईंहरूको विशेष भूमिका रहन्छ,’ मन्त्री महराले भने ।
एनआरएनएका पूर्वअध्यक्ष उपेन्द्र महतोले आफ्नो देश सधैंभरि गरिब मुलुक भनेर चिनिँदा पीडा महसुस हुने बताए । ‘नेपाललाई सधैं अविकसित र गरिबीग्रस्त मुलुक भनेर चिनाउँदा पीडा हुन्छ,’ महतोले सम्मेलनलाई सम्बोधन गर्दै भने ।
संघका अध्यक्ष शेष घलेले पुनर्निर्माण, बाढी पहिरो पीडितलाई सहयोग, महिला सशक्तीकरण लगायत धेरै प्रोजेक्टमा साझेदारी गरेर काम गरिरहेको जानकारी गराए । उनले अहिले मुलुकका नौ जिल्लामा झन्डै ३० अर्ब रुपैयाँ लगानी रहेको बताउँदै ७५ जिल्लामै लगानी पु¥याउने योजना रहेको जानकारी गराए । घलेले गैरआवासीय नेपालीका दोस्रो, तेस्रो पुस्ता आफैं नेपालसँग आवद्ध हुन नसक्ने चिन्ता व्यक्त गर्दै उनीहरूको मुलुकप्रतिको आबद्धता कसरी कायम गर्ने भनेर काम गर्नुपर्ने बताए ।
योजना आयोगका पूर्वउपाध्यक्ष तथा पूर्वगभर्नर युवराज खतिवडाले १० वर्षको अवधिमा गैरआवासीय नेपाली संघ धेरै ठूलो भएको र यसले व्यापकता पाएको बताए । ‘एनआरएन एक्ट बनाउँदा म पनि सहभागी भएको थिएँ,’ उनले संघको सुरुवाती दिन सम्झँदै भने, ‘मैले त्यो बेला यति ठूलो होला भनेर सोचेको थिइन ।’
शनिबार सम्मेलन उद्घाटनपछिको ‘नेपाल भिजन २०३० र एनआरएनएको भूमिका’ विषयक विशेष सत्रमा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले नेपालको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा योजनाबद्ध खाता प्रस्तुत गरेका थिए ।
अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले स्वदेशी लगानीकर्ता नै आश्वस्त हुन नसकेको अवस्थामा विदेशी लगानी आएन भन्नु पनि हँुदैन भन्दै पहिला स्वदेशी लगानीलाई उत्साहित गरेर ‘डायस्पोरा पुँजी’लाई उत्साहित गर्नुपर्ने बताए ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका कन्ट्री डाइरेक्टर रेनाउड मेयरले गैरआवासीय नेपाली संघ अझ प्रभावकारी रुपमा आउनुपर्ने बताए ।
यस सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । दुई वर्ष कार्यकाल हुने नयाँ नेतृत्वका लागि भवन भट्ट, जमुना घले र टिबी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । सम्मेलन मंगलबारसम्म चल्नेछ ।

प्रकाशित: २९ आश्विन २०७४ ०४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App