२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

हङकङमा जित्नैपर्ने बाध्यता

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले सोमबार आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत असोज २७ र २९ गते हुने हङकङविरुद्धको खेल खेलाडीको करियरसँग जोडिएकाले राम्रो क्रिकेट खेल्नुको विकल्प नभएको बताएका छन् ।
‘हङकङविरुद्धको खेलका लागि तयार छौं । हामीलाई दबाब छँदै छैन । उनीहरूको घरेलु मैदानमा खेल्ने भएकाले फरक कन्डिसनमा खेल्ने चुनौती छ,’ सोमबार क्रिकेट टोलीको बिदाइ कार्यक्रमपछि मुख्य प्रशिक्षक टमाटाले भने, ‘सबै खेलाडीलाई आफ्नो जिम्मेवारी थाहा छ । यी खेल खेलाडीको करियरसँग जोडिएका छन् । त्यसैले जिउज्यान लगाएर खेल्ने हो । राम्रो क्रिकेट खेलेर बोर्डमा राम्रो भन्दा राम्रो रन जोड्ने हो ।’
तुलनात्मक रुपमा हङकङको मैदान सानो छ । नेपाली टोलीका कप्तान पारस खड्काले हङकङको वातारवण फरक भए पनि राम्रो नतिजा आउने विश्वास व्यक्त गरे । ‘बाउन्ड्री सानो छ । त्यो दुवै टोलीका लागि हो । हामीले पछिल्लो पटक २००५ मा त्यहाँ खेलेका थियौं । त्यति बेला शरद र म थियौं । यसबीचमा सन्दीपलले त्यहाँ ट्वान्टी–२० खेलेका छन्,’ कप्तान खड्काले थपे, ‘विगतलाई हेर्ने हो भने घरेलु मैदानमा उनीहरूको नतिजा राम्रो छैन । तर त्यो भन्दैमा नतिजा हाम्रो पक्षमा आउँछ भन्ने छैन । तर, खेलाडीहरू टचमा छन् र टिमभित्र जुन वातावरण छ, त्यसले हामी उत्साहित छौं ।’
प्रतियोगिताको शीर्ष चारमा रहेर विश्वकप २०१८ को छनोट प्रतियोगिता खेल्न जित्नै पर्ने दबाबमा रहेको नेपाल मंगलबार हङकङ प्रस्थान गर्दै छ । प्रतियोगिताको १० खेल खेलेको नेपाल ८ अंकका साथ छैटौं स्थानमा छ । समान खेलबाट ११ अंक जोडेको हङकङ नेपालभन्दा एक स्थान माथि छ । समान १२ खेल खेलेका नेदरल्यान्ड(१८), पपुवा न्युगिनी (पिएनजी) (१६), स्कटल्यान्ड (१५), केन्या (१२) क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।
आइतबार केन्याले शीर्ष टोली नेदरल्यान्ड्सलाई २ विकेटले हराइदिएपछि नेपालको सम्भावना थप कठिन बनेको छ । नेपालले अब हङकङ र युनाइटेड अरब इमिरेट्स (युएई)सँग खेल्न बाँकी छ । दुवै खेल नेपाललाई जित्नै पर्छ । नेपाललाई त्यतिले मात्र पुग्दैन । हकङकङ र केन्याको नतिजामा नेपालको सम्भावना निर्भर रहन्छ । हङकङले नेपालबाहेक अब दोस्रो स्थानको पिएनजीसँग खेल्न बाँकी छ भने केन्याले तेस्रो स्थानको स्कटल्यान्डसँग खेल्न बाँकी छ ।
‘दबाब प्रतियोगिताका सबै टोलीलाई उत्तिकै छ । नेदरल्यान्ड र केन्याबीचको नतिजाले अंकतालिकामा सबैको सम्भावना खुला राखेको छ । हाम्रो जति सम्भावना छ, हङकङको पनि उत्तिकै छ । यद्यपि सहज भने छैन,’ नेपालका कप्तान पारस खड्काले भने, ‘तर, हाम्रो तयारी राम्रो भएको छ । त्यसैले मिहिनेतअनुसार नतिजा पनि राम्रो आउने आशा गरेका छौं ।’
हङकङविरुद्धको खेलका लागि नेपालले झन्डै दुई महिनादेखि तयारी थालेको थियो । यसबीचमा नेपालले भारतको चेन्नईमा स्थानीय टोलीविरुद्ध चार अभ्यास खेल खेल्यो । जसमध्ये नेपालले तीनम जित र एक खेलमा हारेको थियो । अभ्यास खेलमा ब्याट्सम्यान विनोद भण्डारीले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । तर, प्रशिक्षक टमाटाले उनले खेलमा राम्रो गर्ने विश्वास लिएका छन् । उनले थपे, ‘हामीले विगत लामो समयदेखि उनीमाथि जोखिल मोलेका छौं र उनले राम्रो गर्दै आएका पनि छन् । उनीमाथि कप्तानलाई विश्वास छ, प्रशिक्षकलाई विश्वास छ । त्यसले उनले ठाउँमा राम्रो गर्नेमा हामी विश्वस्त छौं ।’
यसअघि पाँचौं चरणको खेलमा नेपाले केन्यासँग मिश्रित नतिजा निकालेको थियो । पहिलो खेल डर्कवर्थ लुइसका आधारमा ५ विकेटले गुमाएको नेपालले दोस्रो खेल ७ विकेटले जितेको थियो । केन्याविरुद्धको खेलमा भएका मेहबुब आलम, सुनील धमला र शक्ति गौचन टोलीमा छैनन् । सुशील कँडेल र ललितसिंह भण्डारी टोलीमा नयाँ अनुहार हुन् ।
‘दुर्भाग्य स्वास्थ्यका कारण शक्ति (गौचन) दाइ टोलीमा हुनुहुन्न । तर, टोलीमा केही नयाँ अनुहार आएका छन् । ३, ४ जनाबाहेक सबै युवा खेलाडी छन् । प्राय सबै खेलाडी लामो समयदेखि सँगै खेलिरहेका छौं । त्यसैले हामी राम्रो नतिजा ल्याउनेमा विश्वस्त छौं,’ नेपालका कप्तान पारसले भने ।

प्रकाशित: २४ आश्विन २०७४ ०४:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App