२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

डिपिएललाई रुस्लानको साथ

काठमाडौं- नेपालमा पहिलो पटक राष्ट्रिय रूपमा बोल बढाबढ (अक्सन) बाट खेलाडी लिएर गरिएको धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करण माघ ५ गतेबाट हुने भएको छ ।
धनगढीस्थित अञ्चल प्रहरी मैदानमा ट्वान्टी–२० स्वरूपमा हुने प्रतियोगितालाई यस पटक विजय डिस्टिलरीको रुस्लान क्रिकेटले मुख्य प्रायोजन गर्ने भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा आयोजकको तर्फबाट धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र विजय डिस्टिलरीको रुस्लान क्रिकेटका तर्फबाट जावलाखेल ग्रुप अफ इन्ड्रस्ट्रिजका निर्देशक श्रीहरशमशेर राणाले ३५ लाख रुपैयाँ नगद र अन्य गरी ७० लाख रुपैयाँबराबरको सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । १ वर्षका लागि गरिएको उक्त सम्झौतापछि डिपिएलको दोस्रो संस्करण रुस्लान धनगढी प्रिमियर लिगका नाममा सञ्चालन हुने भएको छ ।
‘गत वर्ष पनि हामी सह–प्रयोजकका रूपमा यस प्रतियोगितामा जोडिएका थियौं । आयोजकहरूले क्रिकेट विकासका लागि गरेको योगदान देखेर हामीले यो वर्ष मुख्य प्रायोजक बन्ने निर्णय गरेका हौं,’ विजय डिस्टिलरीका ब्रान्ड प्रमुख सुशील श्रेष्ठले भने, ‘हामीले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्वका हिसाबले यस प्रतियोगितालाई प्रायोजन गरेका छौं । क्रिकेट विकासमा सहयोग पुगोस् भनेर हामीले प्रयितोगितामा अरू पनि थुप्रै सहकार्य गरेका छौं ।’
प्रतियोगिताका निर्देशक सौरभ ओझाले यस संस्करणको पुरस्कार रकममा वृद्धि गरिएको बताए । ओझाका अनुसार रुस्लान डिपिएलको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । तेस्रो हुनेले ३ लाख र चौथोले २ लाख नगद पुरस्कार जित्नेछन् । गत वर्ष विजेताले १५ तथा उपविजेताले ७ लाख रुपैयाँ पुरस्कार पाएका थिए । प्रत्येक खेलका म्यान अफ दी म्याचले १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीले टिभिएस अपाचे १८० सिसीको मोटरसाइकल पुरस्कार जित्नेछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी एक पूर्वखेलाडीलाई धनगढी क्रिकेट सम्मानबाट र नेपाली क्रिकेटमा महŒवपूर्ण योगदान पु¥याउने एकलाई अर्जुन खड्का स्मृति सम्मानबाट १ लाख रुपैयाँ नगदसहित सम्मानित गरिनेछ । प्रतियोगिताका निर्देशक ओझाले गत वर्षको ६ टोलीलाई प्राथमिकतामा राखेर बढीमा थप दुई टिम थप्न सकिने बताए ।
नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेपालमै सबैभन्दा ठूलो प्रतियोगिताको दोस्रो संस्करण हुन लागेकोमा खुसी व्यक्त गरे । उनले थपे, ‘देशमा क्रिकेट संघ नभएको अवस्थामा पनि निजी क्षेत्रबाट यति ठूलो स्तरमा प्रतियोगिता हुनु खुसीको कुरा हो । पहिले पनि खेलाडी धेरै उत्साहित थिए र दोस्रो संस्करणका लागि पनि उनीहरू उत्साहित छन् । यस्ता प्रतियोगिताको निरन्तरताले क्रिकेट विकासमा सहयोग पुग्नेछ ।’
प्रतियोगिताको लिग चरणमा प्रत्येक टोलीले एकअर्कासँग १÷१ खेल खेल्नेछन् । शीर्ष दुई टोलीबीच हुने पहिलो क्वालिफाइङ खेलको विजेता सीधै फाइनल पुग्नेछ । पराजित टोलीले तेस्रो र चौथो टोलीबीचको विजेतासँग दोस्रो क्वालिफाइङ खेल्ने मौका पाउनेछ । दोस्रो क्वालिफाइङ खेलको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले सानो स्तरबाट प्रतियोगिता सुरु गरे पनि सामूहिक मिहिनेतका कारण प्रतियोगतालाई यहाँसम्म ल्याउन सफल भएको बताए । ‘यसले राम्रो कामको नतिजा राम्रै आउँछ भन्ने देखाएको छ,’ अध्यक्ष शाहीले भने, ‘यस प्रतियोगितालाई आगामी दिनमा हामी होम एन्ड अवे खेल गराई अझ बृहत् बनाउने सोचमा छौं ।’

प्रकाशित: २३ आश्विन २०७४ ०४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App