२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

विश्व च्याम्पियनसिपमा ननितालाई रजत

काठमाडौं- ननिता महर्जनले दोस्रो सफलता हासिल गर्ने क्रममा नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा रजत पदक जितेकी छिन् । गत वर्ष थाइल्यान्डमा भएको प्रतियोगिताको आठौं संस्करणमा ननिताले कांस्य जितेर फर्किएकी थिइन् । ननिताले जितेको कांस्य नेपाली शारीरिक सुगठन इतिहासमा महिला खेलाडीले जितेको पहिलो पदक थियो । आठौं विश्व शारीरिक सुगठन प्रतियोगिताबाटै ननिताले अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी थिइन् ।
आइतबार मंगोलियाको उलन्बटारमा भइरहेको नवौं विश्व शारीरिक सुगठनमा ननिताले महिला १६० सेन्टिमिटर उचाइमा रजत जितेकी हुन् ।
उक्त इभेन्टमा ननितासहित मंगोलिया, इटाली र भियतनामका गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मंगोलियाकी खेलाडीले स्वर्ण पदक, इटालीकी खेलाडीले कांस्य जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव राजन श्रेष्ठले बताए । जारी प्रतियोगितामा शनिबार रुजेश शाहीले ६० केजी तौलसमूहमा कांस्य पदक जितेका थिए । ननिताले रजत जितेपछि नेपाल विश्व च्याम्पियनसिपमा दुई पदक जितेर फर्कंदै छ । ननिता छोटो अवधिमा शारीरिक सुगठनको अन्तराष्ट्रिय प्रतिस्पर्धामा सफलता हासिल गर्न सफल खेलाडी हुन् । उनले २०७३ सालमा काठमाडौंमा प्रथम मिस्टर काठमाडौं तथा महिला फिट्नेस प्रतियोगिताबाट शारीरिक सुगठनमा प्रवेश गरेकी थिइन् । पहिलो सहभागितामै ननिताले स्वर्ण पदक जितेकी थिइन् ।
मंगोलियामा भैरहेको प्रतियोगितामा नेपालका तीन खेलाडी ननिता, रुजेश र कमल भण्डारीले प्रतिस्पर्धा गरेका थिए ।
५५ किलो तौलसमूहमा प्रतिस्पर्धा गरेका कमल प्रि जजिङ राउन्डबाटै बाहिरिएका थिए ।
नेपालका लागि नवौं विश्व शारीरिक सुगठन ऐतिहासिक भएको महासचिव राजन श्रेष्ठले बताएका छन् । उनले भने, ‘नवौं विश्व शारीरिक सुगठन नेपालका लागि ऐतिहासिक क्षण हो । यस पटक हाम्रा खेलाडीले महŒवपूर्ण उपलब्धि हासिल गरेर नेपाली र शारीरिक सुगठन प्रेमीलाई खुसी बनाएका छन् ।’
प्रतियोगिता खेल्न गएको नेपाली टोली सोमबार स्वदेश फर्कन लागेको श्रेष्ठले बताए ।

प्रकाशित: २३ आश्विन २०७४ ०४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App