२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

एउटी बहिनीको श्रद्धाञ्जली

मोना सिम्पसन

म परिवारको एक्ली छोरी। मलाई एक्ली आमाले हुर्काउनुभयो। मेरा बुवा सिरियाबाट अमेरिका बसाइ सरेको र उहाँ धनी हुनुहुन्छ भन्ने सुनेकी थिएँ। आमा र म ज्यादै गरिबीमा जीवन गुजारिरहेका थियौँ। बुवा सिरियालीभन्दा मलाई सिरियाका पूर्व राष्ट्रपति ओमर सरिफको याद आउँथ्यो। बुवा धनी र कमलो हृदयको हुनुहोस्, हाम्रो जीवनमा उहाँको पुनः प्रवेश होस् र राम्रोसँग नबनेको घर पूरा गर्न सघाउनुहोस्, हाम्रो गरिबीको अन्त्य गर्न सघाउनु होस् भन्ने मेरो इच्छा थियो। पछि जब मैले मेरो बुवालाई भेटेँ, उहाँ सिरियाली आदर्शवादी विद्रोहीजस्तो लाग्यो, जसले नयाँ अरबका लागि षड्यन्त्र बुनिरहनुभएको छ।

भलै म महिलावादी थिएँ, तर म जीवनमा सधैँ पुरुषप्रेमका लागि प्रतीक्षारत् रहेँ। सायद यस्तो प्रेम म बुवाका तर्फबाट अपेक्षा गरिरहेकी थिएँ र यो क्रम दशकौँसम्म रहिरह्यो। म जसै २५ वर्षकी लागेँ, मैले त्यस्तो प्रेमिल व्यक्ति भेटेँ, ऊ मेरो दाजु थियो।

त्यो बेला म न्युयोर्कमा बस्थेँ र आफूलाई एउटा उपन्यासकारका रूपमा स्थापित गराउने प्रयास गरिरहेकी थिएँ। एउटा सानोतिनो म्यागेजिनमा काम गर्थें। हामी त्यहाँ भर्खरका तीन जना लेखक भेला भएका थियौँ। एकदिन भेलाकै बेला मलाई फोन आयो, एकजना वकिलको फोन थियो। फोन गर्ने युवतीले भनिरहेकी थिई, उसको हाकिमले मेरा लागि स्वास्थ्य बीमा किनिदिएको छ रे! ती युवतीले यतिमात्र जानकारी दिइन्, स्वास्थ्य बीमा किनिदिने व्यक्ति धनी र प्रख्यात छ र ऊ धेरैअघि बिछोडिएको मेरो दाइ हो। हाम्रो पत्रिकाको युवा सम्पादक झन्नै बौलायो। यो सन् १९८५ को कुरा थियो र त्योबेला म एउटा साहित्य म्यागेजिनमा काम गर्थें। मलाई यस्तो लाग्यो, मानौँ मलाई कुनै जालमा फँसाइदैछ! चार्ल्स डिकेन्सका उपन्यासहरूको चाल कतै यहाँ चालिएका त होइनन्? तर, मलाई आश्चर्यको कुरा लाग्यो र मेरो दाइको नाउँ सोधेँ। ती महिलाले नाम बताउन अस्वीकार गरिन्। यस्तो अवस्थामा मेरा साथीहरूले चाहिँ मेरो सानैमा हराएको करोडपति दाजु को होला त भन्दै बाजी ठोक्न थाले। उनीहरूले कैयौँ नाम सोचे र सम्भवतः जोन ट्राभोल्टा नै दाजु हुनुपर्छ भन्ने निष्कर्षमा पुगे। मैले गोप्यरूपमा मेरो दाइ साहित्यकार हेनरी जेम्स भइदिए हुन्थ्यो भन्ने कामना गरेँ। मेरो दाजु मभन्दा निकै तीक्ष्ण र प्रतिभाशाली भइदियोस् भन्ने चाहन्थेँ।

एकदिन मैले स्टिभलाई भेटेँ। मेरै उमेरको दाइ, अरब–यहुदी अनुहारको दाइ ओमर सरिफभन्दा निकै सुन्दर थियो। उसलाई हिँड्दै गफ गर्न मन लाग्थ्यो, भेटेको दिन हामीले लामो पैदल यात्रा गर्‍यौँ गफ गर्दै। पहिलो दिन हामीले के कुराको छलफल गर्‍यौँ भन्ने कुरा उति याद आएन, मलाई त मैले एउटा गतिलो साथी फेला पारेँ भन्ने कुरामात्र याद आइरह्यो। उसले मलाई कम्प्युटरमा काम गर्छु भनेर बताएको थियो।

मलाई कम्प्युटरबारे उत्ति थाहा थिएन, किनभने त्यतिञ्जेलसम्म मैले एउटा ओलिभेट्टी टाइपराइटरमै काम चलाइरहेको थिएँ। मैले स्टिभलाई भनेँ, 'म पहिलोपटक नयाँ कम्प्युटर किन्नेबारे सोचिरहेको छु र त्यसको नाउँ हो, क्रोमको।' स्टिभले मलाई कम्प्युटर किन्नु राम्रो कुरा भएको बताउँदै अझै केही समय पर्खिन आग्रह गर्‍यो। उसले भन्यो, 'म अहिले यस्तो चिज बनाउन लागिपरिरहेको छु, जुन हेर्दैमा ज्यादै सुन्दर हुनेछ।'

तीन भिन्दाभिन्दै समयमा मैले स्टिभबाट केही कुरा सिक्ने मौका पाएँ, जुन तपाईंहरूलाई बाँड्न चाहन्छु। मैले स्टिभलाई २७ वर्षदेखि चिनिरहेकी छु। यी वर्षहरूले शिक्षा दिएका होइनन्, बरु उसको जीवनको अवस्थाले शिक्षा दिएको हो मलाई। उसको पूर्णजीवन, उसको बिरामी र उसको मृत्यु।

स्टिभले जीवनभर त्यही काम गर्‍यो, जसलाई ऊ असाध्यै प्रेम गर्थ्यो। सधैँ काम गर्‍यो, ज्यादै कठिन परिश्रम गर्‍यो र हरेक दिन गर्‍यो। यो जसरी ज्यादै उम्दा तरिकाले सरल छ, उसरी नै सत्य पनि। ऊ शून्यसोचको ठीक विपरीत भएको व्यक्ति थियो।

भलै काम गर्दा उसले असफलता हात पारोस्, कठिन परिश्रम गर्नबाट कहिल्यै पनि दिक्क मानेन। स्टिभजत्तिको स्मार्ट मानिसले आफ्नो सोचप्रतिको प्रयासलाई जारी राख्न उति धेरै आवश्यक पर्थ्योजस्तो मलाई लाग्दैन, तर ऊ कहिल्यै पनि परिश्रमबाट विमुख भएन।

ऊ जब आफैले स्थापना गरेको कम्पनीबाट लात हानेर निकालियो, अवस्था ज्यादै पीडादायी थियो। त्योबेला ५ सय जना उत्कृष्ट व्यवसायीको भेलामा स्टिभलाई निम्तो पनि गरिएन। यस्तो देख्दा मलाई त पीडा भयो भने उसलाई कस्तो महसुस भयो होला! यस्तो पीडाका बेला पनि ऊ नेक्स्ट कम्पनीमा हरेक दिन काम गर्न जान्थ्यो। नवीनता स्टिभको उच्च मूल्य कहिल्यै थिएन, बरु सुन्दरताचाहिँ थियो।

एउटा सर्जक वा आविष्कारकका रूपमा स्टिभ साँच्चिकै उदार थियो। उसलाई कुनै सर्ट मन पर्‍यो भने एकैपटक सयवटा अर्डर गर्थ्यो। उसले कहिल्यै पनि ट्रेन्ड वा हावा चलेको कुरालाई महत्व दिएन। जहिले पनि आफ्नो उमेरसमूहका मानिस मन पराउँथ्यो। सुन्दरताबारे उसको जुन दर्शन थियो, त्यसलाई लेख्ने हो भने यस्तो बन्ला– 'फेसन अहिले हेर्दामा सुन्दर देखिन्छ तर पछि कुरूप। अनि कला सुरुमा कुरूप देखिए पनि पछि त्यो निकै सुन्दर चिजमा परिणत हुन्छ।'

स्टिभले सधैँ पछि सुन्दर बन्ने चिज निर्माण गर्न आफ्नो समय खर्चियो। ऊ आफूलाई सुरुमा गलत बुझिए पनि बुझियोस् भन्ने सोच राख्थ्यो। स्टिभले उही कालो रङको कार चढ्यो, भलै तीन–चार वटा फेर्‍यो। प्रेमको सन्दर्भ आउनेबित्तिकै स्टिभ एउटा युवतीजस्तो थियो, जसले घन्टौँ प्रेमका बारेमा गफ गर्न सक्थिन्। प्रेमलाई उसले सधैँ उच्च कोटीको गुण सम्झ्यो, ईश्वरको पनि ईश्वर सम्झ्यो। ऊ कैयौँको प्रेमका बारेमा टिप्पणी गर्थ्यो र प्रेमलाई गलत तरिकाले बुझिएकोमा दुःखी हुन्थ्यो। आफ्नै जीवनमा आएका कैयौँ युवतीलाई पनि सम्झँदै ऊ दुःखी हुन्थ्यो।

कहिलेकाहीँ स्टिभ कतिसम्म हिम्मत जुटाउँथ्यो भने, कुनै राम्रो युवक वा मानिस देख्यो भने बोलाउँथ्यो र भन्थ्यो, 'तिमीले बिहे गरेका छैनौ? उसो भए आज साँझ मेरी बहिनीसँग भोजन गर्न जान्छौ त?' लरेनलाई देखेको दिन स्टिभले मलाई फोन गर्‍यो, 'साह्रै राम्री केटी मैले आज भेटेँ। ऊ साहै्र स्मार्ट छे र उसले कुकुर पाल्दिरैछे, तर म ऊसित जसरी भए पनि बिहे गर्छु।'

रिड जन्मँदा ऊ यस्तरी हाँस्यो कि रोकिने त नामै लिएन। हरेक छोराछोरीका बारेमा उसले चिन्ता लियो। जब ठूली छोरी लिसाको ब्वाइफ्रेन्ड उसले देख्यो, ज्यादै चिन्ता व्यक्त गरेको थियो। छोरी इरिनको यात्रामा होस् या उसले लगाउने स्कर्टको छोटोपन, स्टिभले मज्जाले हप्कायो र इभले सधैँ चढ्ने गरेको घोडाले उसलाई लडाउला कि भन्ने चिन्ताले ग्रस्त भइरह्यो।

रिडले ग्राजुएसन गरेको दिन दिइएको पार्टीमा स्टिभ र रिडले गरेको ‘स्लो डान्सिङ’ हामीमध्ये कमैले भुलेका छौँ। उसले लरेनप्रति अटुटरूपमा गरेको प्रेमले बाँधिरह्यो। ऊ प्रेम जहिले जहाँ जोसँग पनि हुनसक्छ भन्ने विश्वास गर्थ्यो र सधैँ भइरहन्छ भन्ने मत राख्थ्यो। र, महत्वपूर्ण कुरा त ऊ कहिल्यै पनि व्यंग्यात्मक भएन, कहिल्यै निराशावादी भएन, कहिल्यै निकृष्ट कुरामा विश्वास गरेन। मैले ऊबाट त्यही कुरा सिक्ने प्रयास गरेँ।

सानै उमेरमा स्टिभ सफल भयो, सफलताले उसलाई एक्लायो भन्ने ऊ सोच्थ्यो। उसले बनाएका पर्खालहरू भत्काउँदाभत्काउँदै पनि कैयौँ अन्य पर्खाल भत्काउन भने बाँकी नै रह्यो। लस अल्टोसको एउटा मध्यमवर्गीय केटो न्युजर्सीकी मध्यमवर्गीय केटीलाई भेटेर प्रेम गर्‍यो। यी दुवैका लागि लिसा, रिड, इरिन र इभलाई हुर्काउनु निकै महत्वपूर्ण किन पनि छ भने यी सबै एउटा सरल र साधारण बालबालिकाझैँ हुर्किए। उनीहरूको घरमा कुनै चित्रकला झुण्डिएको थिएन, भित्तोमा कुनै पालिस गरिएको थिएन। उनीहरू भुइँमा बसेर खान्थे र कहिलेकाहीँ खानामा एउटा तरकारीमात्र हुन्थ्यो, ब्रोकाउलीको तरकारी।

सानै उमेरमा अरबपति भएको त्यो ठिटो मलाई ल्याउन र पुर्‍याउन एयरपोर्टसम्म पुग्थ्यो। जसै परिवारका सदस्यहरूले कामका बीच नै स्टिभलाई फोन गर्थे, उनकी सहायिकाले सोध्थिन्, 'तिम्रो बुवा बैठकमा हुनुहुन्छ, के तिमी साँच्चिकै उनलाई व्यवधान होस् भन्ने चाहन्छौ?' एकपटक उनीहरूलाई आफ्नो भान्सा कोठालाई परिवर्तन गर्न मन लाग्यो। भनेजस्तो गरी बनाउन वर्षौं लाग्यो र उनीहरू रूचिलाग्दो भान्सा तयार नहुञ्जेल ग्यारेजमा पकाएर खान्थे। उता, घरको बाथरुमलाई पुरानै रूपमा छाडिएको थियो, यी सबैमा निकै फरक थियो र त्यो फरक के थियो भने, स्टिभले यिनमा महान् सिर्जना देख्थ्यो र तिनलाई उम्दा बनाउन अझै केही समय छ, त्यस्तैमा छाडेर हेर भन्थ्यो।

स्टिभले आफ्नो सफलता कहिल्यै मज्जाले मनाउन पाएन भन्न अलि सुहाउँदैन। उसको सपना एउटा गतिलो बाइक किन्ने थियो। हरेक महिना आफूलाई मनपर्ने बाइक किन्नका लागि पालो अल्टोस्थित बाइक प्रदर्शन गर्ने ठाउँ जान्थ्यो, हेर्थ्यो र फर्किन्थ्यो। पछि उसले त्यो बाइक आफ्नो बनाइछाड्यो।

स्टिभ नरम थियो। ऊ सिकिरहन मन पराउँथ्यो। एकताका उसले मलाई भन्थ्यो, यदि ऊ बेग्लै किसिमले हुर्किएको भए म्याथम्याटिसियन हुनेथियो। आफ्नो जीवनको अन्तिम समयमा उसले मार्क रोथ्कोको पेन्टिङसम्बन्धी किताब पढेको थियो। किनकि, एप्पल क्याम्पसमा छिर्नेबित्तिकै विद्यार्थीले देख्ने रङका कारण त्यहाँ उनीहरू छिर्न मरिहत्ते गरुन् भन्ने जान्न ऊ प्रयास गरिरहेको थियो।

स्टिभले अनौठो सोच आविष्कार गरेको थियो। उसमा जिज्ञासा थियो। त्यसैले पनि अरु कम्पनीका मुख्य कार्यकारीहरूलाई थाहा नभएका कुरा उसलाई थाहा हुन्थ्यो, जस्तो कि अंग्रेजी भाषाको इतिहास, चिनियाँ गुलाफको चियाका बारेमा अन्यलाई जानकारी थिएन। तर, उसलाई थाहा थियो। उसका चार सन्तान, श्रीमती, हामी सबैसँग स्टिभले साँच्चिकै एउटा रमाइलो वातावरण सिर्जना गरिदिएको थियो।

ऊ खुसीको मुहान थियो।

त्यसपछि स्टिभ बिरामी पर्‍यो। यस्तो अवस्थामा ऊ साह्रै साँघुरो घेरामा सीमित भयो। ससाना कुरामा उसले सौन्दर्य देख्थ्यो, मन छुन्थ्यो उसको, तर बिरामी परेपछि उसलाई कुनै कुराले छुन छाड्यो। यस्तो अवस्थामा पनि ऊ मलाई छक्क पार्थ्यो, उसको बिरामीले कैयौँ कुरा लगे पनि ऊसित लिनुपर्ने कुरा अझै कत्ति थिए कत्ति!

मलाई सम्झना छ, क्यान्सरले थलिएपछि मेरो दाजु पुनः हिँड्न सिक्दैथियो, ह्विल चियरमा। उसको कलेजो प्रत्यारोपणपछि यति दुब्लाएको थियो कि बाँसजस्तो भएको गोडाले उसलाई थेग्ला भन्ने लाग्दैनथ्यो। कुर्सीमा बसेर कैयौँ प्रयासमा उभिन गरेको संघर्ष, नसकेर थच्च कुर्सीमै बस्नुपर्ने बाध्यता, वरिपरि हेर्नु र पुनः हिँड्ने प्रयास गर्नु उसको नियति बन्यो। ऊ त्योबेला हरेक दिन आफ्नो हरेक पाइला गन्थ्यो। हरेक दिन एक कदम बढी हिँड्न सकूँ भनी प्रयास गर्थ्यो। अनि यस्तो बेलामा लरेनचाहिँ झुकेर स्टिभको आँखामा आँखा मिलाएर हौसाइरहेकी हुन्थिन्, 'तिमी हिँड्न सक्छौ स्टिभ, थोरै भए पनि प्रयास गर।' यस्तो अवस्थामा स्टिभका आँखा खुसीले चौँडा हुन्थे, अथाह प्रेमले भरिएको स्टिभ खुसीले लरेनको ओठ चुम्थ्यो।

स्टिभले सधैँ प्रयास गर्‍यो। प्रयास गर्नबाट कहिल्यै थाकेन। यस्तो अवस्थामा उसलाई तान्ने उसभित्र रहेको प्रेम नै थियो। ऊ साँच्चिकै उम्दा भावुक मानिस थियो। मैले स्टिभलाई तर्साउने अवस्थामा पनि देखेकी छु। उसलाई यस्तो पीडा हुन्थ्यो, सहन नसकेर ऊ चिच्याउँथ्यो। ऊ जसरी भए पनि रिडको हाइस्कुलको ग्रयाजुएसन समारोहमा भाग लिन चाहन्थ्यो। इरिनलाई जापानको क्योटो सहरको भ्रमणमा लैजान चाहन्थ्यो। ऊ एउटा पानीजहाज बनाउन चाहन्थ्यो र त्यसमा चढेर संसारको पानी नियाल्न चाहन्थ्यो। अनि, कतै टापुमा लरेन र आफू अवकाशप्राप्त जीवन बिताउन थालेको कल्पना गर्थ्यो।

बिरामी अवस्थामा पनि उसको स्वाद कहिल्यै परिवर्तन भएन। आफूलाई हेरचाह गर्ने कैयौँ नर्सलाई ऊ यति छनोट गर्थ्यो कि उसले ६७ जना नर्सलाई आफ्नो हेरचाह गर्न नआउनू भनेर बिदा दिएको थियो। उसले तीनजनालाई मात्र विश्वास गर्थ्यो– ट्रेसी, आर्तुरो र इल्हम।

स्टिभको मृत्युलाई हामीले अनपेक्षित भन्न सक्तैनौँ, किनभने लामो समयदेखि ऊ क्यान्सरको बिरामी थियो। तर, मैले भन्नै पर्छ– उसको मृत्यु हामी सबैका लागि अनपेक्षित थियो। मैले मेरो दाजुको मृत्युबाट सिकेँ, चरित्र बहुतै जरुरी रहेछः ऊ जस्तो थियो, उसको मृत्यु पनि त्यस्तै रह्यो। मंगलबार बिहान, उसले मलाई फोन गर्‍यो र चाँडोभन्दा चाँडो पालो अल्टो आऊ भन्यो। उसको स्वरमा आत्मीयता थियो। प्यारो, प्रेमपूर्ण थियो तर उसको बोली यस्तो थियो कि मानौँ कहीँकतै अप्ठेरोमा परेको मानिसको ओढ्नेओछ्याउने कतै अल्झेको छ। सायद ऊ मृत्युको यात्रामा हिँड्ने तयारीमा थियो। सायद त्यसैले ऊ दुःखी थियो, सहीरूपमा दुःखी। हामीलाई छाड्नुपरेकोमा दुःखी थियो ऊ।

उसले मसँग बिदा माग्यो फोनमा। मैले उसलाई रोकेँ र भने, 'पख, म त्यहीँ आउँदैछु। म ट्याक्सीमा छु एयरपोर्टमा। म केही मिनेटमै त्यहीँ हुनेछु।' 'मैले तिमीसित अहिल्यै बिदा किन मागेको भने, सायद तिमी आइनपुग्दै मेरो बिदाइ भइसकेको हुने होला प्रिय!'

जब म स्टिभको घर पुगेँ, ऊ लरेनसँग ठट्टा गरेर हाँस्तै थियो। छेउमा छोराछोरी थिए, एकअर्कामा रिठ्ठो नबिराई हेर्दै थियो, मानौँ ऊ सबैको अनुहार आफ्नो आँखामा कैद गर्न चाहन्छ।

दिउँसो दुई बजे स्टिभलाई लरेनले उठाइन् र एप्पलबाट उनलाई हेर्न आएका साथीभाइसँग कुरा गर्ने हो कि भनी सम्झाइन्। केहीक्षणमै उसको श्वासप्रश्वासमा केही परिवर्तन देखियो। उसको श्वासप्रश्वास तीव्र र उद्देश्यमूलक देखियो। मैले महसुस गरेँ, उसले हरेक पाइला सूक्ष्मरूपमा गनिरहेको छ, एकपछि अर्को। ऊ मृत्युसँग पनि खेल खेलिरहेको छ भन्ने मैले स्पष्टै अनुभूत गरेँ। स्टिभलाई मृत्युले जितेन, स्टिभले मृत्यु आर्जन गर्‍यो।

स्टिभले एक पटक भनेको थियो, 'म ज्यादै दुःखी छु, तिमीसित म बूढो हुन सकिनँ। म सधैँ हामी दुवै बूढाबूढी हुञ्जेल सँगै होऊँ भन्ने चाहन्थ्यौँ, तर अब त्यो पूरा नहोलाजस्तो छ।' त्यही बेला डा. फिसरले त्यो रात कटाउने सम्भावना आधा–आधामात्र भएको जानकारी दिए। तर, स्टिभले रातभर कटाइदिए। उनको ओछ्यानछेउ स्टिभलाई एकटक हेरेरै रात बिताइदिइन् लरेनले। अन्तिम अवस्थामा स्टिभले तीनपटक एउटै कुरा दोहोर्‍यायो। अन्तिम अवस्थामा उसले बहिनी प्याटीलाई हेर्‍यो। त्यसपछि लामो समयसम्म आफ्ना सन्तानलाई घुर्‍यो। अनि जीवनसंगीनी लरेनलाई।

स्टिभले अन्तिममा निकालेको शब्द थियो, 'ओह् वाउ, ओह् वाउ, ओह् वाउ!'

मोना सिम्पसन उपन्यासकार हुन्। उनी क्यालिफोर्निया विश्वविद्यालय लस एञ्जल्समा अंग्रेजी विषय पढाउँछिन्। आफ्ना दाजुको मृत्युशोकमा यो भाषण सन् २०११ को अक्टोबर १६ मा स्टानफोर्ड विश्वविद्यालयको मेमोरियल चर्चमा दिएकी थिइन्।

'स्टिभ जब्स' पुस्तकबाट अच्युत कोइरालाद्वारा अनुदित

प्रकाशित: १५ श्रावण २०७३ ०५:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App