२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भत्किए दलका पूराना ‘गढ’

लहान – ०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिरहा जिल्लामा  सहज रुपमा विजय हासिल गरेको नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा ‘स्वीकार्न असहज हुने’ नतिजा आउला भन्ने सायदै सोचेको थियो । तर, ‘औरही’ गाउँपालिकामा कांग्रेसको परम्परागत राजनीतिक ‘गढ’ तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणामले भत्काइदिएको छ ।

तेस्रो चरणको स्थानीय निर्वाचनमा कांग्रेसले औरही किल्लामात्र गुमाएन, अन्य थुप्रै ठाउँमा यस्तै नियति भोग्यो ।  त्यसो त प्रदेश नम्बर २ मा एमाले र मधेसकेन्द्रित दलले पनि आ–आफ्ना परम्परागत किल्ला जोगाउन सकेनन्।

औरहीपछि कांग्रेसले लगातार एकपछि अर्को धक्का महसुस ग¥यो । २०६४ सालको संविधानसभा निर्वाचनबाहेक हरेक निर्वाचनमा करिब ‘एकछत्र राज’ रहेको लहान नगरपालिका पनि गुमायो । मधेस आन्दोलनको उद्गमस्थल लहानमा नेकपा एमालेबाट मेयर उम्मेदवार एवं लहान नगरका पूर्व मेयर मुनी साहले विजय प्राप्त गरे।

धनगडी र सुखिपुर नगरपालिका रहेको सिरहा क्षेत्र नम्बर ४ नेपाली कांग्रेसको गढ थियो । यो गढ पनि एमाले र माओवादीले भत्काइदियो । धनगडीमाई नगरपालिकामा माओवादीले पहिलो पटक जित हासिल गरेको हो । ‘०६४ सालको निर्वाचनमा अर्नामा र औरही गाउँ क्रमशः६ र ३ थियो । यी क्षेत्रमा ०६४ को संविधानसभा निर्वाचन बाहेकको चुनावमा नेपाली कांग्रेस जित्दै गएको थियो। 

पछिल्ला दुईवटा निर्वाचनमा यी क्षेत्रमा व्यहोरेको लगातारको हारले हामी सचेत थियौं, पार्टीलाई कसरी माथि उठाउने भन्ने चिन्ता थियो,’ माओवादी केन्द्रका सचिवालय सदस्य जगत यादवले भने, ‘यो स्थानीय निर्वाचनमार्पmत हाम्रो लामो समयदेखिको सपना पूरा भएको छ।’

१७ स्थानीय तहमध्ये छ तहमा माओवादी केन्द्रले जितेको छ । कांग्रेस दुइटामा सीमित छ । पाँच तह संघीय समाजवादी फोरमले लिएको छ । चार तह नेकपा एमाले जितेको छ। 

दोस्रो संविधानसभा निर्वाचनमा छ क्षेत्रमध्ये चार क्षेत्रमा कब्जा जमाएको कांग्रेसले स्थानीय तह निर्वाचनमा आफ्नो वर्चस्व जोगाउन सकेन । कांग्रेस गढ भनेर चिनिएका वरियारपट्टी गाउँपालिका र लक्ष्मीपुरपतारी गाउँपालिकामा कांग्रेसको किल्ला भत्काउँदै फोरमले झन्डा फहरायो । अर्को कांग्रेसको गढ मानिएको सखुवानन्कारकट्टी गाउँपालिकामा एमालेले ‘लालझन्डा’ फहरायो । मधेस आन्दोलनको उद्गमस्थल लहान जो कांगे्रसको किल्ला थियो यहाँ पनि एमालेले ‘लालझन्डा’ फहरायो । यो स्थानीय तह समाहित निर्वाचन क्षेत्रमा कांग्रेस नेता पद्मनारायण चौधरी दोस्रो संविधनसभाको चुनाव र दुईवटा संसदीय चुनाव जितेका छन्।

कांग्रेसमात्र होइन, एमालेले पनि आफ्ना परम्परागत गढ रक्षा गर्न सकेन । पछिल्लो संविधानसभा निर्वाचनमा जितेको क्षेत्र नम्बर १ रहेको भगवानपुर गाउँपालिका सांसद रामचन्द्र यादवको गाउँपालिकामा एमाले दोस्रो स्थानमा झ¥यो । यहाँ फोरमले झन्डा फहरायो। 

मधेसको नाममा आन्दोलनको राजनीति गर्ने कतिपय मधेसकेन्द्रित नेताकै क्षेत्रमा एमाले र माओवादीले झन्डा फहराएको छ । राष्ट्रिय जनता पार्टी(राजपा) अध्यक्षमण्डलका अध्यक्ष राजकिशोर यादवको क्षेत्र नरहा गाउँपालिकामा नेकपा एमालेले ‘लालझन्डा’ फहरायो । फोरम केन्द्रीय कोषाध्यक्ष विजय यादवको क्षेत्र औरही गाउँपालिकामा माओवादी केन्द्रले झन्डा फहराएकोे छ।

आन्तरिक कलह कारक       

लामो समयदेखि विशेष गढ ठानिएका क्षेत्रमा अर्को दलले कब्जा जमाउनुमा आन्तरिक कलह प्रमुख कारक हो । उम्मेदवार छनोट क्रममा उत्पन्न असन्तुष्टि र पार्टीभित्र स्थापित गुटगत राजनीतिले यसमा मलजल गरेको चुनावमा संलग्न बताउँछन् ।

सिरहा जिल्लामा जनमत भएका क्याडरलाई ‘बेवास्ता’ गर्दै स्थानीय तहको टिकट वितरण गरिएपछि जिल्लामा उत्पन्न विवाद समाधान गर्न केन्द्रीय कार्यालयलाई हप्तौ माथापीचि भयो । तैपनि असन्तुष्टि ज्यूँकात्यूँ रहिरह्यो । यहाँसम्मकी मनोनयन दाखिलाको दिन दरुण दलका सिरहा अध्यक्ष सिद्धार्थ यादव कांग्रेस छोडेर माओवदी केन्द्रमा प्रवेश गरे । उनले औरही नगरपालिका अध्यक्षमा माओवादीबाट उम्मेदवार भए । र, मतणना परिणाम अनुसार उनले कांग्रेसको गढमा माओवादीको झन्डा फहराए । कांगे्रसका उम्मेदवार सुभाष दाश तेस्रो नम्बरमा सीमित भए । यहाँ फोरम दोस्रो भयो ।

धनगडीमाई नगरपालिकामा उपमेयरका लागि केन्द्रबाट चयन भएको उम्मेदवारपनि जिल्लामा परिवर्तण भयो । वडाहरुमा पनि उही बेहाल । जिल्ला सभापतीले टिकट वितरणमा अनियमितता गरेको आरोप पार्टीकै कार्यकर्ताहरूले लगाए । एक कांग्रेस नेताले भने, ‘टिकटवितरणमा भएको मनोमानीले श्रृजित असन्तुष्टिको परिणाम पार्टीले हार भोग्नु परेको छ । ‘सांगठनिक रुपमा जित्ने पक्का ठानिएका स्थानीय तहमै यस्तो अवस्था आउनुमा जिल्ला नेतृत्वको दोष बढी छ,’ एक कांग्रेस कार्यकर्ता भन्छन्, ‘टिकट दिँदा मतदाताको भावनालाई पनि विचार गर्नुपथ्र्यो ।’

टिकट नपाउँदाको ‘इगो’

कतिपय ठाउँमा टिकट नपाउँदाको ‘इगो’ आफ्नै पार्टीका उम्मेदवारविरुद्ध प्रयोग भयो । अकांक्षीमध्ये बलिया उम्मेदवार र सांगठनिक रुपमा समेत मजबुत अवस्था हुँदाहुँदै सिरहामा कांग्रेसले पराजय भोग्यो । कांग्रेसले नगरको २४ मध्ये ९ वडा जित्दा मेयर उम्मेदवार अचमित चौधरी भने फराकिलो मतान्तरले पराजित भए । त्यतीकै वडा जितेको एमालेका मुनी साह मेयरमा विजयी भए । 

लहान १९ नम्बर वडामा पुराना क्याडर सत्रूधन मण्डललाई पन्छाएर नयाँ कार्यकर्ता कमरुदिन राईनलाई टिकट दिंदा मण्डलले पार्टी नै छोडे । उनले राजपाबाट वडाअध्यक्षमा उम्मेदवार बने । यो वडामा एमालेले चुनाव जित्यो । दोस्रोमा राजपाका मण्डल भए । कांग्रेसका कमरुदिन तेस्रो नम्बरमा सीमित हुन पुगे ।

लहान १० नम्बरमा कांग्रेसले नवप्रवेशी विनोद विसुन्केलाई वडा अध्यक्ष उम्मेदवार बनायो । पुराना क्याडर डिल्ले मिझार स्वतन्त्र उम्मेदवार बने । यो वडामा एमालेले चुनाव जित्यो ।

सिरहा नगरपालिकाको मेयरमा पूर्व उपमेयर उपेन्द्र यादवलाई पन्छाएर सुभाषचन्द्र यादवलाई उम्मेदवार बनाइयो । उनी कांग्रेस कोषाध्यक्ष सितादेवी यादवकी पूत्र हुन । उपेन्द्र चुप बसिदिए । परिणाम कांग्रेस जारी मत गणनाको परिणाम अनुसार तेस्रो नम्बरमा छ । यहाँ फोरम र एमालेबीचमा कडा टक्कर चल्दै छ ।

जनताको असन्तुष्टि

मतदाताले आफ्नो ठाउँमा लामो समय ‘शासन’ चलाएका दलप्रतिको असन्तुष्टि पनि यसपटकको चुनावमा पोखे, जसको कारण दलका परम्परागत गढ भत्किए । यहाँ दशकौदेखि जित्दै आएका दलहरूले पनि केही गर्न नसकेको असन्तोष मत मार्फत जनताले पाखेका छन् ।

लहानका बुद्धिजिवि सुनिलकुमार साहले जनताको अपेक्षा पूरा गर्न नसक्दा दलहरूले स्थानीय चुनावमा नमिठो परिणाम भोगेका छन् । ‘सिरहामा कांग्रेसको यस्तो हबिगत हुनुमा आन्तरिक कहल प्रमुख कारण हो,’ लहानका प्राध्यापक चक्रपाणी दहालले भने, ‘यो परिणामले जनता सधैं कसैको अन्धसमर्थक हुँदैनन् भन्ने सन्देश दिएको छ ।’

सबैभन्दा चकित त लहानका जनताको मतले बनाएको छ । ‘यसको आन्तरिक राजनीतिक पाटो धेरै हुन सक्छ तर, यो मतको सोझो अर्थ यहाँका जनता शान्ति र सम्वृद्धि चाहेका हुन’ दहालले भने,‘कलह, वैमनश्यता होइन सद्भाव र सम्वृद्धि चाहेका छन जनता ।’

प्रकाशित: ८ आश्विन २०७४ ०६:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App